सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू, कुन–कुन च्यानल बन्द भए ?

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मितिबाटै क्लिन फिड लागू भएको हो ।

अब विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) भएका छन् । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानल कात्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्ने व्यवस्था छ ।

भारतीय ब्रोडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरेपनि सरकारले अस्वीकार गरेको थियो । क्लिनफिडसहित च्यानल प्रसारण नभएमा कानून बमोजिम हुने मन्त्रालयले बताएको छ ।

अब विज्ञापन बजाएमा विदेशी च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ । २०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको थियो ।

नेपाल केबल टेलिभिजन महासंघका अनुसार अहिले ३२ वटा मात्रै विदेशी च्यानल प्रशारण हुँदैछन् । प्याकेजमा किनिने र सित्तैमा बजाउन पाइने गरी करिब १८० भन्दा बढी च्यानलको प्रसारण तत्कालका लागि बन्द भएको छ ।

टेलिभिजन प्रसारकले प्याकेजमा किन्ने गरेको ९२ च्यानलमध्ये ६० वटा च्यानलले मात्रै अहिले क्लिन फिड च्यानल दिएका छन् ।

कतिपय च्यानलले तयारी गरेपनि पूरा गर्न सकेका छैनन् । ‘जी’को १२ वटा र सोनीको ८ वटा च्यानल क्लिन फिडसहित प्रसारण हुँदैछन् । तर, कार्टुनका च्यानल, बीबीसी अलजजिरा, स्टार्स र कलर्स प्याकेजका च्यानलहरु तत्कालै नेपालमा प्रसारण नहुने भएका छन् ।

अब फुटबल, क्रिकेटसहित खेलकुदका च्यानलहरु बन्द भएका छन् ।

पैसा तिरेर किनिने प्याकज बाहेकका ‘फ्रि टु एयर’मा सित्तैमा उपलब्ध हुने १२० वटा च्यानल पनि बन्द भएका छन् ।

‘स्टार्स र कलर्सका क्लिन फिड गर्ने बक्स सिंगापुर र दुबईमा आइपुगेर अड्किएको छ । उनीहरुले कहिलेबाट क्लिन फिड प्रविधि जडान सकाउँछन् भन्ने पक्का भएको छैन ।

भारतीय न्युज च्यानलमध्ये अब ‘जी न्युज’ मात्रै बजिरहेको छ । अन्य न्युज च्यानलले नेपालमा क्लिन फिडसहित प्रसारण गर्न चाहेका छैनन् । न्युज च्यानलका स्क्रिनका विभिन्न भागमा विज्ञापनहरू राखिने र विज्ञापन गर्ने समय पनि यकिन नहुने भएकाले न्युज च्यानलमा क्लिन फिड गर्न असहज छ ।

प्रत्यक्ष प्रसारणका बेलामा विज्ञापन हुने समय निश्चित नहुने भएकाले क्लिन फिडले खेलकुद च्यानलहरूको प्रत्यक्ष प्रसारणमा पनि समस्या पर्नसक्ने देखिएको छ । तर, खेलकुद च्यानललाई व्यवस्थापन गर्ने आश्वासन भारतीय प्रसारकहरूले दिएका छन् ।

भारतीय प्रसारकले नेपालमै क्लिन फिड गर्ने भएपछि अब विज्ञापन बज्ने समयमा स्क्रिन खाली देखिनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »