सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विमानस्थलबाट आउने जाने हरेक व्यक्तिको स्वास्थ्य परीक्षण गरिने

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको संक्रमणबाट उच्च जोखिमयुक्त मुलुकको सूचिमा राखेसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले कोरोना सतर्कतासम्बन्धी रणनीति परिमार्जन गरेको छ । अब विमानस्थलबाट आउने मात्र होइन, बाहिर जानेको पनि परीक्षण गरिनेछ ।

यसअघि आगमन कक्षमा थर्मल स्क्यानरबाट क्यान गर्ने र स्क्यान गर्दा १०० डिग्री फरेनाहाइटभन्दा बढी तापक्रम देखिएका यात्रुलाई थप जाँचका लागि अस्पताल लैजाने गरिएको थियो ।

अब भने आगमन र प्रस्थान दुबै कक्षमा यात्रुको चेकजाँच गरिने भएको छ । अब सबै एयरलाइन्सबाट नेपाल भित्रने यात्रुको व्यक्तिगत रुपमा हेल्थडेस्कले जाँच गर्नेछ ।

यसको शुरुवात आइतबारबाटै भएको त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सरोकारवाला मन्त्रालय, विभाग र निकायसँग छलफल गरेका थिए । छलफलअनुसार विमानस्थल भित्रको व्यवस्थापनका लागि विमानस्थलका निर्देशक देवचन्द्र लाल कर्णको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा स्वास्थ्य मन्त्रालय, सुरक्षा निकाय, अध्यागमनलगायत सरोकारवाला निकायको प्रतिनिधित्व रहेको छ ।

हेल्थडेक्सको क्षमता दोब्बर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलको आगमन कक्षमा हेल्थ डेस्क राखेको छ ।

डेस्कमा १२ जना कर्मचारीले तीन सिफ्टमा काम गर्छन् । हरेक सिफ्टमा ४/४ जना कर्मचारी खटिएका हुन्छन् । अब भने स्वास्थ्य मन्त्रालयले हेल्थ डेस्कको क्षमता दोब्बरसम्म बढाउने भएको महाप्रवन्धक केसीले जानकारी दिए ।

अब जुनसुकै वायुसेवाबाट आएको भए पनि प्रत्येक व्यक्तिले हेल्थडेस्कमा व्यक्तिगत रुपमा चिकित्सकसँग चेकजाँच गराउनु पर्नेछ । आगमन र प्रस्थान दुबै कक्षमा सबै यात्रुले निधारमा यन्त्र राखेर ज्वरो जाँच गर्नुपर्ने छ ।

आगमन कक्षमा आजैबाट प्रारम्भ गरिएको र प्रस्थान कक्षमा भने स्वास्थ्य मन्त्रालयले उपकरण उपलब्ध गराएपछि शुरु हुने महाप्रवन्धक केसीले जानकारी दिए । ‘नेपालमा संक्रमित नभेटिएका कारण प्रस्थान कक्षमा चेकजाँच आवश्यक थिएन’, उनले भने, ‘डब्लूएचओले जोखिमयुक्त मुलुकको सूचिमा राखेका कारण नेपालबारे भ्रम सिर्जना नहोस् भनेर प्रस्थान कक्षमा पनि चेकजाँच गर्न लागेका हौं ।’

भर्खरै

सम्बन्धित खबर

Language »