सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्व स्वास्थ्य संगठनलाई दिदैं आएको आर्थिक सहयोग रोक्ने अमेरिकाको निर्णय

काठमाडौं । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले उसलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको हो ।

ट्रम्पले कोरोना महामारी रोकथाम र व्यवस्थापनमा डब्लुएचओ आफ्नो ‘आधारभूत कर्तव्य’ पूरा गर्न चुकेको आरोप लगाएका छन्। उनले यसका लागि डब्लुएचओलाई जवाफदेही बनाउनुपर्ने बताएका छन्।

नियमित प्रेस बिफ्रिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘डब्लुएचओको भूमिकाको समीक्षा गरियो, तर प्रभावकारी काम गर्न असफल रह्यो । त्यसैले मैले मेरो प्रशासनलाई डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको छु ।’

ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको र कोरोना भाइरसबारे गलत सूचना दिएको आरोप लगाए । डब्लुएचओको गल्तीकै कारण विश्वभर कोरोना भाइरसका कारण धेरैले ज्यान गुमाइरहेको ट्रम्पको ठहर छ । उनले यसको जिम्मेवारी डब्लुएचओले लिनुपर्ने बताए ।

डब्लुएचओ संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था हो । अमेरिकाको डब्लुएचओको सबैभन्दा ठूलो आर्थिक दाता हो। गत वर्ष अमेरिकाले डब्लुएचओलाई ४ सय मिलियन डलर उपलब्ध गराएको थियो । यो डब्लुएचओको कूल बजेटको करिब १५ प्रतिशत हो ।

हाल अमेरिका विश्वमा कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित देश हो। त्यहाँ हालसम्म कोरोनाका कारण २५ हजार बढीको मृत्यु भइसकेको छ भने झण्डै ६ लाख जना संक्रमित भइसकेका छन्।

यसअघि पनि अमेरिकाले डब्लुएचओको भूमिका सन्तोषजनक नभएको भनेर आलोचना गरेको थियो । त्यसलगत्तै डब्लुएचओले कोरोना भाइरसको महामारीलाई कसैले पनि राजनीतिकरण गर्न नहुने प्रतिक्रिया दिएको थियो । ट्रम्पले चीनको वुहान शहरबाट कोरोना भाइरसको संक्रमणको सुरुवात हुँदा डब्लुएचओले प्रकोपको पर्याप्त आँकलन गर्न नसकेको आरोप लगाए ।

उनले भने, ‘डब्लुएचओले चिकित्सा विशेषज्ञहरुलाई चीनमा पठाएर धरातलीय यथार्थ मूल्यांकन गरी वास्तविक अवस्था सार्वजनिक गरेको भए धेरै जनाको ज्यान जोगिन सक्थ्यो र आर्थिक क्षतिबाट पनि विश्वलाई जोगाउन सकिन्थ्यो । यसको सट्टा डब्लुएचओले चीन सरकारले गरेको कामको बचाउ गर्यो ।’

यसअघि ट्रम्पले नै कोरोना भाइरस नियन्त्रणका लागि राम्रो काम गरेको भन्दै चीनको प्रशंसा गरेका थिए । उनले राष्ट्रपति सी चिनफिङलाई फोन गरेर धन्यवादसमेत दिएका थिए ।

यो टेलिफोन वार्तालाई धेरैले अमेरिका र चीनबीच सम्बन्ध सुधारको संकेतको रुपमा ब्याख्या गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »