सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वीर अस्पतालका स्वास्थ्यकर्मी एवं कर्मचारी ४२ दिनदेखि आन्दोलित

काठमाडौं । कोरोना महामारीको बेला वीर अस्पतालका स्वास्थ्यकर्मी एवं कर्मचारी ४२ दिनदेखि आन्दोलित छन् । यस विषम परिस्थितिमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुको सट्टा स्वास्थ्यकर्मी एवं कर्मचारीहरु आफ्ना मागको सुनुवाई नभएको भन्दै आन्दोलित भएका हुन् ।

आन्दोलनकै बीचमा न्याम्सका पदाधिकारी लगायत केही कर्मचारीहरु भने होटलमा बसेर आफ्नो काम गरिरहेको पाइएको छ । आन्दोलनकारीहरुले आइतबार आफ्ना माग सम्बोधनका लागि कुनै पहल नगरेको भन्दै न्याम्सका पदाधिकारीको कार्य कक्षमा ताला लगाएका छन् ।

आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले कोरोना महामारीमा काम गरेवापतको जोखिम भत्ता, कोभिड वीमा क्षतिपूर्ति, स्वास्थ्यकर्मी र कर्मचारीको बाँकी भुक्तानी दिनुपर्ने माग गर्दै कात्तिक २ गतेदेखि आन्दोलनमा छन् । आफुहरुका माग पूरा नभएसम्म ताला नखोलिने नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले चेतावनी दिए ।

वीरलाई कोभिड अस्पताल बनाइएपछि तलब तथा जोखिम भत्ता दिन नसक्ने स्थितिमा पुगिएको अस्पतालका निर्देशक डा.केदारप्रसाद सेन्चुरी बताउँछन् । अस्पतालको आन्तरिक स्रोत न्यून भएकोले कर्मचारीलाई जोखिम भत्ता र वर्षको अन्त्यमा कर्मचारीलाई औषधि खरिदको लागि दिँइदै आएको औषधि खरिद खर्च समेत दिन नसकिएको उनको भनाई छ ।

वीरलाई कोभिड अस्पताल घोषणा गरेपछि अन्य रोगका बिरामीेको संख्या कम भएर अस्पतालको आम्दानी गुम्दा समस्या भएको निर्देशक डा.सेन्चुरी बताउँछन् । आन्दोलनकारीहरुले यसअघि मंसिर ४ देखि १२ गतेसम्म न्याम्सका पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका थिए । आफ्ना मागहरुबारे सम्बन्धित निकायले बेवास्ता गर्दा पदाधिकारीको कार्य कक्षमा ताला लगाउन बाध्य हुनुपरेको आन्दोलित स्वास्थ्यकर्मी एवं कर्मचारीहरुको भनाइ छ ।

उनीहरुले कात्तिक २ गतेयता अस्पताल परिसर तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीको कार्यालय अगाडि धर्ना र नारावाजी गर्दै आएका छन् । प्रयाप्त सुरक्षा सामग्री नपाएका कारण स्वास्थ्य उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरि करिब २ सय जना कोरोना संक्रमित भएको आन्दोलिन कर्मचारीको भनाइ छ ।

करारमा कार्यररत कर्मचारीले लामो समयदेखि तलबसमेत नपाएको उनीहरुले बताएका छन् । ज्ञापनपत्र लगायत विभिन्न माध्यामबाट पटकपटक ध्यानाकर्षण गराउँदासमेत सुनुवाई नभएपछि बाध्य भएर तालाबन्दी गनुपरेको नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पताल इकाई अध्यक्ष आचार्य बताउँछन् ।

यसअघि स्वास्थ्यकर्मीले पदाधिकारी कार्य कक्ष बाहिर ताला लगाए पनि प्रशासनले प्रहरीको सहयोगमा ताला खोलेको थियो । महामारीमा खटिएका स्वास्थ्य कर्मचारीलाई जोखिम भत्ता र सुरक्षात्मक सामग्री उपलब्ध गराउन नसक्ने पदाधिकारीहरुले राजीनामा दिनुपर्ने समेत उनीहरुको माग छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कोरोनाभाइरस कोभिड– १९ को उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय गरेको छ । नियमअनुसार संक्रमितको उपचारका लागि फ्रन्टलाइनमा खटिनेहरुले तलबको शतप्रतिशत, दोस्रो लाइनमा खटिनेले ७६ र तेस्रो लाइनमा खटिनेले ५० प्रतिशत भत्ता पाउनुपर्छ । तर, वीर अस्पताललाई कोभिड अस्पताल भनेर घोषणा गरे पनि स्वास्थ्यकर्मी तथा कर्मचारीले जोखिम भत्ता पाउन सकेका छैनन् ।

कर्मचारीका जायज माग भएपनि पूरा गर्न नसकिएकोे वीर अस्पतालका निर्देशक डा. सेञ्चुरीको प्रतिक्रिया छ । दैनिक १२ लाख आम्दानी हुने अस्पतालमा अहिले दुई लाख मात्र आम्दानी हुने भएकाले तलबभत्ता जुटाउन समेत समस्या भएको उनको भनाई छ ।

आन्दोलित कर्मचारीले अस्पतालमा प्रवेश गर्न रोक लगाएका कारण आफुहरुले बाध्य भएर होटलबाट काम गर्नुपरेको निर्देशक डा. सेन्चुरी बताउँछन् । वीरमा प्रवेश रोक लगाएपछि केही समय राष्ट्रिय ट्रमा सेन्टरमा बसेर काम गरे पनि आन्दोलनकारीहरुले त्यहाँ पनि काम गर्न दिएनन् । त्यसपछि बाध्य भएर होटलबाट काम सञ्चालन गरिरहेको उनले बताए । वीर अस्पतालमा हाल १ हजार ५ सय स्वास्थ्यकर्मी कार्यरत छन्, जसमध्ये आधा कर्मचारी न्याम्सबाट खटिएका छन् ।

राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वायत्त अस्पताल भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हस्तक्षेप गर्न नमिल्ने मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले बताए । उनले उक्त समस्या अस्पतालको आन्तरिक समस्या भएको समेत स्पष्ट पारे । तर कोरोना संक्रमतिको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य मन्त्रालयले बजेट पठाएको उनले दाबी गरे ।

अधिकारीले न्याम्सबाट खटाइएका स्वास्थ्यकर्मीको तलब भत्ताको जिम्मेवारी मन्त्रालयले नलिने बताए । आन्दोलित स्वास्थ्यकर्मी एवं कर्मचारीले बिरामीको स्वास्थ्य सेवालाई कुनै असर नपर्ने गरि आन्दोलतका कार्यक्रम भइरहेको बताउँदै आए पनि त्यसले धेरै काम प्रभावित भएको अस्पताल प्रशासनको भनाई छ ।

भर्खरै

सम्बन्धित खबर

Language »