सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शनिबारदेखि काठमाडौंका क्‍वारेन्टाइनको अवलोकन गर्ने

काठाडौं। सरकारले स्थानीय तह तथा अन्य निकायमार्फत व्यवस्थापन गरिएका क्‍वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन र आवश्यक सहजीकरण थाल्ने भएको छ। विदेशबाट आएका तथा शङ्कास्पद अन्य व्यक्तिलाई कोरोनाको संक्रमण हुन नदिन सरकारले बनाएको क्‍वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्यविधिअनुसार मापदण्ड पूरा भएनभएको स्थलगत अनुगमन र आवश्यक सहजीकरण गर्न लागिएको हो।

सोहीअनुरुप शनिबार मध्याह्न स्थानीय पशुपतिनाथ क्षेत्रमा सञ्चालित क्‍वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो। मन्त्रिपरिषद्को यही चैत १६ गतेको बैठकले राज्यमन्त्रीद्वय शहरी विकास रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या नवराज रावतलाई अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको थियो। राज्यमन्त्री मानन्धरले शुक्रबार काठमाडौँ उपत्यकाका १८ वटै नगर प्रमुख, तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका क्‍वारेन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गर्नुयो। छलफलमा राज्यमन्त्री मानन्धरले क्‍वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन मापदण्डबारे जानकारी गराउँदै अब सरकारले शनिबारदेखि अनुगमनलाई तीव्रता दिन लागेको जानकारी दिए।

मुलुक विपद्का घडीमा रहेकाले तत्काल गर्नुपर्ने काममा कसैको मुख ताक्न नहुने बताउँदै राज्यमन्त्री मानन्धरले स्थानीय सरकारले गरिरहेको काम सन्तोषजनक रहेकामा धन्यवादसमेत दिए। स्थानीय सरकारले कोरोना नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासमा साथ दिइरहे पनि कतै अन्योल देखिएकाले जनताको जीवन रक्षाका लागि छिटोछरितो ढङ्गले काम गर्न आग्रह गरे।

क्‍वारेन्टाइन निर्माण र व्यवस्थापन मापदण्डानुसारको काम गर्न समस्या आए आफू सहजीकरणका लागि तयार भएको बताउँदै राज्यमन्त्री मानन्धरले विपद्को सामनाका लागि गम्भीर ढंगले लाग्न सबैलाई आग्रह गरे। राज्यमन्त्री मानन्धरले क्‍वारेन्टाइन व्यवस्थापनको खर्चबारे चिन्ता नलिन काठमाडौँ उपत्यकाका नगर प्रमुखलाई आग्रहसमेत गरे। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गर्न सकिने अवस्थामा रहेका र सम्भावित स्थानको क्‍वारेन्टाइनबारे दुई दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवेदन दिइने छ।

भक्तपुरको कृषि तालिम केन्द्रमा ६०, खरीपाटीमा १७५ तथा खानेपानी तालीम केन्द्रमा ७० शय्याको क्वारेण्टाइन तयारी अवस्थामा छ। यस्तै ललितपुरको स्टाफ कलेजमा एक सय तथा पशुपतिनाथ क्षेत्रमा ७० शय्या क्षमताको क्‍वारेन्टाइन मापदण्डअनुसार छन्। काठमाडौँका प्रजिअ जनकराज दाहालले बूढानीलकण्ठ स्कूलमा एक सय, जनमैत्री अस्पतालमा १२४, इचंगु ब्लकमा चार सय तथा दहचोकस्थित मनमोहन अस्पतालको भवनमा सात सय शय्या बनाउन सकिने अवस्था रहेको जनाइएको छ।

छलफलमा शहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारीले क्‍वारेन्टाइनमा राखिने व्यक्तिबारे स्वास्थ्य मन्त्रालयले प्रष्ट नीति बनाउनुपर्ने बताए। स्थानीय र प्रदेश सरकारको योजनामा केन्द्रीय सरकारको आवश्यक समन्वयमा कमी भएको जनाउँदै नगर प्रमुखहरुले आवश्यक समन्वयका लागि राज्यमन्त्रीले पहल थाल्नु सकारात्मक भएको बताए। क्वारन्टाइनको मापदण्ड पूरा गर्न केही प्राविधिक समस्या आउनसक्ने बारे पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »