सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शान्ति वार्तामा नआएको भए माओवादी पतन हुने थियो: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन माओवादी समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आएको बताएका छन् । शान्ति प्रक्रियामा आउने भनेर सही समयमा, सही निर्णय गरिएको उनको भनाइ छ ।

पेरु, श्रीलंका, भारतलगायत देशका माओवादी आन्दोलनले गम्भीर धक्का खाएको चर्चा गर्दै उनले भने, ‘माओवादी आन्दोलनको अवतरण सही समयमा गराइएको हो, नगराइएको भए समाप्त हुने थियो ।’

अहिले कतिपयले जनयुद्धको नक्कल गर्न खोजेको भन्दै प्रचण्डले उनीहरु सफल नहुने ठोकुवा गरे ।

नेकपा अध्यक्ष प्रचण्डले तत्कालीन माओवादी र तत्कालीन एमालेबीच पार्टी एकता अचानक नभएको समेत बताए । सही नीति र नेतृत्व भएका कारण एकता सम्भव भएको बताउँदै उनले भने, ‘यो कसैको लहडमा भएको होइन ।’

माओवादी र एमाले जनयुद्धदेखि नै निकट रहेको स्मरण गरे । सुखानीमा मारिएका किसान आन्दोलनका नेताहरु र माओवादी जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेलको सम्झनामा फागुन १४ गतेदेखि २१ गतेसम्म शहीद सप्ताह मनाउने गरेको बताउँदै उनले भने, ‘हामी उतिबेलै निकट थियौं ।’

कार्यक्रममा नेकपाका उपाध्यक्ष बामदेव गौतमले माओवादी जनयुद्धमा मारिएका तत्कालीन एमालेका नेता कार्यकर्ताहरुको परिवारको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । माओवादीबाट तत्कालीन एमालेका तीन सय जना मारिएको तथ्यांक प्रस्तुत गर्दै उनले भने, ‘उनीहरुलाई भुल्नु हुँदैन, उनीहरुको परिवारको बारेमा सोच्नुपर्छ ।’

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल सहभागी थिएनन् । उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा (बादल)लगायतका नेताहरु सहभागी थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »