सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शिक्षक सहित चार जना पुरुषबाट बलात्कृत १४ बर्षीया बालिकाले छोरी जन्माइन

धनकुटा। चार जना पुरुषबाट पटक–पटक यौन शोषणमा परेर गर्भवती भएकी धनकुटा नगरपालिकाकी १४ बर्षीया दलित बालिकाले बच्चा जन्माएकी छन् । यौनशोषणको घटना सार्वजनिक भएपछि महिला पुनः स्थापना सेवा केन्द्रको संरक्षणमा रहेकी बालिकाले अबैध गर्भबाट छोरी जन्माएकी हुन् ।

४ महिना अघिदेखि पुनःस्थापना सेवा केन्द्रमा रहेकी बालिकालाई सुत्केरी वेथा लागेपछि जिल्ला अस्पताल लगिएको थियो । तर, पेटमा बच्चा उल्टो रहेकाले जिल्ला अस्पतालले रेफर गरेर बिराटनगरस्थित कोशी अस्पताल पठायो ।

शल्यक्रिया गरी बालिकाको पेटबाट बच्चा निकालिएको पुनः स्थापना सेवा केन्द्रका उपाध्यक्ष शुक्री राईले जानकारी दिईन् । अहिले बालिका र बच्चाको अवस्था सामान्य छ । शल्यक्रिया पश्चात अस्पतालबाट डिस्चार्ज भएपछि उनीहरुलाई अहिले पुनः स्थापना केन्द्र धनकुटामै राखिएको छ ।

बालिकामाथि यौन शोषण भएको घटना गत जेठमा सार्वजनिक भएको थियो । बालिकाको पेट बढ्दै गएपछि सोधपुछ गर्ने क्रममा शिक्षकसहित चार जनाले उनीमाथि पटक–पटक यौन शोषण गरेर करिब ६ महिनाको गर्भ बसेको रहस्य खुलेको थियो ।

पीडित बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि यौन शोषणमा संलग्न भएको आरोपमा धनकुटा–६ आत्माराका शिक्षक मदन अधिकारी, गौरी अत्री, भीमनारायण चौकका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु अहिले जिल्ला कारागारमा पूर्पक्षका लागि थुनामा छन् । उनीहरुको मुद्दा जिल्ला अदालतमा विचाराधिन अवस्थामा छ ।

उनीहरुले ती बालिकालाई ६ महिना अघिदेखि ललाईफकाई पटक–पटक यौन शोषण गर्दै आएको आरोप छ । चारै जनाले यौन शोषण गरेको बालिकाले बयान दिएकाले जन्मिएको बच्चाको बुवा को हो भन्ने अन्यौलता छ । यता, बुवा जो भएपनि आफ्नो छोरीले जन्माएको बच्चा (नातीनी) आफैले राख्ने बालिकाका बुवाले बताएका छन् । अब, बच्चाको आमा (बालिका) र परिवारसँग सल्लाह गरी बच्चा कसले पाल्ने भन्ने यकिन गरिने बताइएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »