सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संपदा प्रेमी हरु भन्छन् : यो विश्वसम्पदा क्षेत्र अतिक्रमण गर्ने योजना हो

काठमाडौं ।
चक्रपथको कलंकी–महाराजगञ्ज–धोबीखोला खण्ड विस्तारका क्रममा स्वयम्भू क्षेत्रभित्रका केही संरचना हटाउनपर्ने भएको छ । यसलाई सम्पदा प्रेमीहरुले ‘विश्वसम्पदा क्षेत्र अतिक्रमण गर्ने योजना’ भनेका छन् ।
सडक विभाग र काठमाडौं महानगरपालिकाले स्वयम्भू क्षेत्रको सीमा छुट्याउने स्तम्भ, हातले घुमाउने माने, हजार मूर्तिसहतिको स्तुप (साङ्गे तोङ्कु) भत्काउने तयारी गरेपछि स्थानीयले विरोध थालेका छन् ।
सुमन सायमी ले नेतृत्व गरेको उपत्यका ब्यापी सडक बिस्तार पिडित संघर्ष समितिले समेत यसरि विस्व संपदा सुची भित्र परेको संरचना भत्काउन लागेको मा स्थानिय वासी तथा सरोकार वाल हरु संग को सहकार्य मा छलफल गर्ने र आन्दोलन को तयारी गर्ने बताएको छ ।
विरोध चर्किन थालेपछि सडक विभाग र विभाग मातहतको काठमाडौं चक्रपथ विस्तार आयोजनालाई संकट परेको छ । विवाद समाधान गर्न प्रयास गरेपनि विभाग सफल भएको छैन ।
चक्रपथको यो खण्ड चीन सरकारको सहयोगमा विस्तार हुँदैछ । यसका लागि चीन आफैंले ठेकदार पठाउने तय छ । शतप्रतिशत ‘साइट क्लियर’ नभई ठेकेदार नआउने चीनले स्पष्ट गरेको छ । रुख काट्ने, पोल सार्ने लगायतका काम सकेको विभागलाई स्वम्यभू क्षेत्रको संरचना हटाउने काम फलामको चिउरा बनेको छ ।
सडक विभाग अन्तरगतको चक्रपथ विस्तार आयोजनाका अनुसार चक्रपथबाट दायाँ–बायाँ ३१–३१ मिटर सडकको ‘राइट अफ वे’ हो । विभागले २०३१÷०३२ सालमै चक्रपथको दुबैतर्फ २५–२५ मिटरको ‘राइट अफ वे’ तोकेको थियो ।
२०४८ सालमा सरकारले मुख्य सडकमा थप ६ मिटरको ‘सेट ब्याक’ पनि तोक्यो । सेट ब्याक क्षेत्रभित्र संरचना बनाउन निषेध गरिएको थियो । तर, ०५६/५७ सालपछि स्वयम्भू डाँडातर्फको भागमा सडक क्षेत्रभित्र विभिन्न धार्मिक संरचना थपिए ।
त्यसक्रममा हजार बुद्धसहितको ७५ फिट अग्लो नमूना बौधि चैत्य बनेको चक्रपथ विस्तार आयोजना प्रमुख अर्जुन सुवाल बताउँछन् । सडक विभागसँग छलफल नगरी ती संरचना बनाइएको उनको भनाइ छ ।
पहिलो २५ मिटरलाई आधार मान्दा सो संरचनाले १.१५ मिटर सडक मिचेको देखिन्छ । त्यसमा ६ मिटर सेट ब्याक जोड्ने हो ७.८५ मिटरभित्रका संरचना भत्काउनुपर्छ । सडक विभागले अतिक्रमित क्षेत्र मानेर ७.८५ मिटर नै खाली गर्न खोजेको छ । ७.८५ मिटर खाली पार्दा हजार मूर्तिसहितको स्तुप पुरै हटाउनुपर्छ ।
स्वम्यभू डाँडाको अर्को साइडमा पनि विवाद छ । त्यहाँ बनाइएको गुम्बाको पर्खालले ३१ मिटरभित्र १ं.५ मिटर मिचेको छ ।
सरकारले स्वयम्भू क्षेत्रको विवाद समाधान गर्न काठमाडौं महानगरपालिकाको साथ खोजेको छ । तर, सम्पदाप्रेमी र स्थानीयबासीले ‘स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं अभियान’ नै गठन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।
सडक विस्तारका लागि विश्वसम्पदामा सूचीकृत क्षेत्रमा अतिक्रमण हुन लागेकाले सरकारलाई घच्घचाउन अभियान थालिएको बताउँछन् संयोजक आचार्य नुर्बु शेर्पा । विरोध होइन, सरकारलाई अनुरोध गर्न यो अभियान थालेको उनले बताए ।
‘युनेस्कोले विश्व सम्पदा क्षेत्र भनेर तोकेको सीमाभित्रका संरचना हटाएर सडक विस्तार गर्न हुँदैन, यसले स्वयम्भू विश्व सम्पदा क्षेत्रबाट बाहिरिने जोखिम हुन्छ,’ उनले भने ।
२०५७ सालमा पुरातत्व विभागसहित विभिन्न सरकारी निकायसँग अनुमति लिएरै यि संरचना बनाइएको उनको दावी छ । ‘विकासको विरोध गरेका होइनौं,’ उनले भने, ‘तर धार्मिक आस्थाको केन्द्रमै दख्खल र विश्व सम्पदा क्षेत्रलाई असर पुर्‍याउने गरी सडक बन्न हुँदैन ।’
आयोजना प्रमुख सुवाल स्वयम्भू क्षेत्रका स्थानीय र सम्पदाप्रेमीलाई साथ लिएर काम अघि बढ्ने बताउँछन् । तथ्यमा आधारित भएर सडक विस्तार गर्न स्वयम्भू क्षेत्रमा भत्काउनुपर्ने संरचनाबारे अध्ययन र छलफल हुने उनले बताए ।
चक्रपथको दोस्रो खण्ड विस्तारका लागि ९८ प्रतिशत ‘साइट क्लियर’ भएको भन्दै उनले स्वम्म्भू क्षेत्रको विवाद र महाराजगञ्ज चोकमा बनेका १९ वटा घरको मुआब्जाको वितरण सकिएपछि निर्माणको काम सुरु हुने बताए ।
‘महाराजगञ्जमा अधिग्रहण गर्नुपर्ने १९ घर रहेको जमिनको मुआब्जा तोक्ने काम अन्तिम चरणमा छ,’ आयोजना प्रमुख सुवाल भन्छन्, ‘भत्काउनुपर्ने भवनको मूल्याकंन शहरी विकास तथा भवन निर्माण विभागले गरिरहेको छ ।’

भर्खरै

सम्बन्धित खबर

Language »