सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संसदमै पूर्व प्रधानमन्त्री भट्टराईले मागे प्रधानमन्त्री ओलीकाे राजीनामा

काठमाडाैँ । संघीय संसदकाे बजेट अधिवेशनकाे पहिलाे दिन प्रतिनिसभा बैठकलाइ सम्बाेधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीकाे राजीनामा मागेका छन् ।

राजनीतिक दल फुटाउने र संवैधानिक परिषद्मा विपक्षी दलको नेता नभए पनि निर्णय गर्न सक्ने गरी सरकारले ल्याएको अध्यादेश लोकतन्त्रविरोधी हर्कत भएको भन्दै उनले ‘फिर्ता लिइहाल्यो, भइहाल्यो भन्ने अवस्था नरहेको बताए ।

सांसद अपहरण प्रकरणमा प्रधानमन्त्री वा निकटस्थ संलग्न भएको र उनीहरुविरुद्ध जाहेरीसमेत नलिएको उनले बताए । भट्टराईले अघि भने, ‘उल्टै हामीमाथि नै मुद्दा लगाउने र परोक्ष र प्रत्यक्ष ढंगले फच्चे गर्न पहल गर्ने ?’

प्रधानमन्त्रीबाट लोकतन्त्रविरोधी गम्भीर गतिविधि भएको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरे । ‘प्रधानमन्त्रीसँग मेरो आग्रह छ, जुन उचाईमा पुग्नुभएको छ । त्यही रहनुस्’ उनले अघि भने, ‘तपाईले अनावश्यक ढंगले यस्ता गतिविधिमा संलग्न हुँदा आफैंमाथि अन्याय भएको छ । रोगले जीर्ण भएको शरीरलाई तपाईले आराम दिनुपर्छ । लोकतन्त्र र आफैं छविलाई बचाउन तपाईले राजीनामा दिनु नै उपयुक्त हुन्छ ।’

ओलीको विकल्प के हुन्छ भन्ने प्रश्न उठ्ने भन्दै उनले पूर्वप्रधानमन्त्रीहरुले दाबेदार नबन्ने प्रस्ताव गरे । ‘६०/६५ उमेर कटेकाहरु प्रत्यक्ष कार्यकारीको भूमिकामा नरहने, प्रधानमन्त्रीको दाबेदार नबन्ने र हामीले नयाँ पुस्तालाई अगाडि ल्याउने दिशातिर गयौं भने देशले निकास पाउँछ । लोकतन्त्र सुदृढ हुन्छ’ उनले भने ।

प्रतिस्पर्धासँगै न्यूनतम राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्ने भन्दै उनले कांग्रेस कम्युनिस्ट, पहिचानवादी शक्तिहरुबीच मेलमिलाप कायम गर्न आग्रह गरे । ‘तर तपाईहरुको सरकार गिरोस्, फेरि च्याखे थापेर सरकारमा जाउँ भन्ने मनसाय छैन । तपाईहरुले आफ्नै पार्टीका असल मान्छेहरुलाई अगाडि बढाउनुस् । पाँच वर्षलाई जनताले जनादेश दिएका छन् । त्यहाँ हाम्रो दाबी हुँदैन’ उनले भने, ‘तर महत्वपूर्ण राष्ट्रिय मुद्दामा मेलमिलाप कायम गरेर जाऊँ ।’

यसका लागि टीकापुर घटनामा दोषी ठहर भएर निलम्बनमा रहेका सांसद रेशम चौधरीको मुद्दा फिर्ता लिन र नेत्र विक्रम चन्द विप्लव समूहलाई क्षमादान दिएर सहमतिमा ल्याउन पूर्वप्रधानमन्त्री डा. भट्टराईले आग्रह गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »