सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरकारी निकाय नै चकितः लिपुलेकमा भारतकाे सडक

काठमाडौँ । भारतले नेपाली भूमि लिपुलेकबाट चीनसितको नाका जोड्ने सडक निर्माण सकेर उद्घाटन गरे पनि स्थानीयस्तरमा यसबारे कुनै जानकारी छैन । शुक्रबार भारतीय सञ्चार माध्यममा तवाघाट–लिपुलेक सडक उद्घाटन गरेको समाचार आएपछि यहाँका सरकारी निकायलगायत स्थानीय चकित भएका हुन् ।

गत फागुन पहिलो साता स्थलगत रिपोर्टिङमा जाँदा भारतीय पक्षले नेपाली भूमि प्रयोग गरेर व्यास गाउँपालिका १ र २ वडाको सीमाको पारितर्फ धमाधम सडक बनाइरहेको थियो । माल्पा र बुदीको बीचमा कडा चट्टानी भूभागमा सडकको यता र उता ६ ठाउँबाट मेसिनले कटिङ भइरहेको थियो । लिपुलेकबाट बुदीसम्म एक वर्षअघि नै सडक बनेको थियो ।

बुदीबाट लिपुलेकसम्म ३६ किलोमिटर दूरी छ । बुदीबाट कालापानी २७ किलोमिटर र सीतापुल १० किलोमिटरको दूरीमा छ । माल्पा र बुदीको ९ किलोमिटर क्षेत्रमा दुवैतर्फबाट निर्माण गत वर्षबाटै सुरु भएपछि करिब एक महिनाअघि सडक जोडिएको व्यासका स्थानीयले बताएका छन् ।

देशकै त्रिदेशीय सीमा नजिक व्यास गाउँपालिका २ दुम्लिङमा रहेको अस्थायी प्रहरी चौकीका इन्चार्ज रूपसिंह सावदका अनुसार भारतले लिपुलेक सडक उद्घाटन गरेको यहाँ कसैलाई थाहा छैन । ‘लकडाउनका कारण भारतीय सुरक्षाकर्मीसित समन्वय हुन सकेको छैन, २५ दिनअघि माल्पा बुदी खण्डमा सडक जोडिएको सुनिएको थियो,’ उनले भने, ‘बुदी बजारको घट्टेखोलामा पुल हाल्न बाँकी थियो । त्यसमाथिको लिपुलेकसम्म पहिले नै सडक निर्माण भइसकेको थियो ।’

चीनको सीमासित सडक जोडिएको लिपुलेक व्यास गाउँपालिका १ मा पर्ने भए पनि नेपालीको पहुँच बाहिर छ । धेरै अघिदेखि भारतका उच्च सुरक्षा निगरानीमा रहेको गुन्जीभन्दा माथिको भागमा नेपाली नागरिकले जान पाउँदैनन् । २४ किलोमिटर कालापानीयता छियालेकमाथिको क्षेत्रमा भारतीय नागरिकले पनि धार्चुला तहसिल कार्यालयका उपजिल्लाधिकारीले जारी गरेको पास भएपछि मात्र जान पाउँछन्

नेपालबाट जाने बाटो नहुँदा व्यासका स्थानीय पनि भारतीय उपजिल्लाधिकारीले जारी गरेको पासले नै छियालेकमा ‘इन्ट्री’ गराएपछि सुरक्षाकर्मीले अगाडि बढ्न दिन्छन् । छियालेकबाट ६ किलोमिटर हिँडेर सितापुलबाट नेपाल प्रवेश गर्न पाइन्छ ।

सन् १९९९ मा सुरु भएको ९५ किलोमिटर तवाघाट लिपुलेक सडक खण्ड निर्माण २०२० मा पूरा भएको भारतीय सञ्चार माध्यमले बताइरहेका छन् । तवाघाट दार्चुला सदरमुकामपारि धार्चुलाबाट १६ किलोमिटरमा पर्छ । तवाघाटबाट गर्भाधारसम्म दुई लेनको सडक बनेको र गर्भाधारमाथि एक लेनको ट्रयाक खोलिएको छ । त्योभन्दा माथि दुई लेन सडक बनाउने काम पनि सँगै चलिरहेको व्यास गाउँपालिका २ दुम्लिङका देवेनसिंह बुढाथोकीले बताए ।

कान्तिपुरबाट साभार

भर्खरै

सम्बन्धित खबर

Language »