सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिंहदरबारभित्रै दुई सिफ्टको निर्णय पालना भएन

काठमाडौँ । दुई सिफ्टमा दैनिक १० घण्टा सम्पूर्ण सरकारी कार्यालय सञ्चालन गर्ने निर्णय सिंहदरबारभित्रै रहेका मन्त्रालयहरूमा समेत पालना नभएको पाइएको छ । प्राय: सरकारी कार्यालयहरु सोमबारदेखि दैनिक १० बजेदेखि ५ बजेसम्ममात्र सञ्चालन हुँदै आएका छन् ।

तर मन्त्रिपरिषदको जेठ २८ बसेको बैठकले असार १ देखि केन्द्रदेखि पालिकासम्मका सबै कार्यालय बिहान ८ देखि १ बजेसम्म र दिउँसो १ देखि बुलेका ६ बजेसम्म दुई सिफ्ट सञ्चालन गर्ने निर्णय गरी सबै मन्त्रालयलाई सर्कुलर गरेको थियो ।

निर्णयमा कार्यालयमा भौतिक दुरी कायम गर्नका लागि एक सिफ्टमा ५० प्रतिशत र दोस्रो सिफ्टमा ५० प्रतिशत कर्मचारी उपस्थित गराउनु पर्ने उल्लेख छ । मन्त्रालयहरूमा सबै कर्मचारीले मन्त्रिपरिषदको निर्णयको उल्लंघन गर्दै एउटै समय (१० बजेदेखि ५) मा उपस्थित आएर काम गर्ने गरेका छन् । मन्त्रालयहरूले आफ्ना कर्मचारीहरूलाई लाने/ल्याउने सरकारी ठूला (बस) समेत चलाएका छैनन् । सिंहदरबारभित्र र बाहिर रहेका सबैजसो मन्त्रालयमा कर्मचारीलाई ल्याउने/लाने सरकारी बस छन्, मन्त्रालय खुले पनि ती बसलाई थन्क्याएर राखिएको छ ।

मन्त्रालयहरूमात्र होइन राष्ट्रपति, उपराष्ट्रपति कार्यालय र सबैजसो संवैधानिक निकाय र केन्द्रीय कार्यालयहरूमा समेत दुई सिफ्टको निर्णय लागू भएको छैन । सेवाग्राहीबाहेक अरू सबैजसो कार्यालयमा मन्त्रिपरिषदको निर्णयको प्रभाव देखिएको छैन । अर्थात् कतै पनि सरकारीमात्र होइन संस्थान र विकास समितिका कार्यालय समेत दुई सिफ्टमा सञ्चालन भएका छैनन् ।

नीतिगत काममात्र गर्ने निकायका लागि दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय अव्यावहारिक भएकाले सबैजसो केन्द्रीय कार्यालयमा लागू नभएको सरकारी अधिकारीहरूको दाबी छ ।

सेवाग्राही कार्यालयबाहेक उपत्यकाभित्र र बाहिरका अरू धेरैजसो अफिससमेत दुई सिफ्टमा सञ्चालन भएका छैनन् । मन्त्रिपरिषदको निर्णय पालना नभएपछि प्रधानमन्त्री कार्यालयले मन्त्रालयहरूलाई अधिकृतभन्दा तलका कर्मचारीहरूलाई मात्र भए पनि सिफ्टमा राख्न पुनः ताकेता गरेको छ ।

तत्कालीन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका पालामा तीन वर्षअगाडि सेवाग्राही कार्यालयहरू दुई सिफ्टमा सञ्चालन गरिएका थिए । अव्यावहारिक भएकै कारण सेवाग्राही कार्यालय दुई सिफ्टमा सञ्चालन गरेर सेवा दिने त्यतिबेलाको प्रयास छोटो समयमै असफल हुन पुगेको विश्लेषण पूर्वसचिव वाग्लेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »