काठमाडौं। क्यारेबियन प्रियिमर लिग (सीपीएल) मा जमैका तलाबाजका लागि नेपाली स्पिनर सन्दीप लामिछानेले फेरि एकपल्ट उच्च प्रदर्शन गरेका छन् ।
तर उनको टिम भने बारबाडोज ट्रिडेन्ट्सको हातबाट ३६ रनले पराजित रह्यो ।
नेपाली समयअनुसार बिहीबार बिहानको खेलमा पहिले ब्याटिङ गरेको बारबाडोजले ७ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । त्यसमा केली मेयर्सले सर्वाधिक ८५ रन बनाए ।
सन्दीपले ४ ओभर बलिङ गर्ने क्रममा अनुशासित प्रदर्शन गरे । उनले १६ रन दिएर २ विकेट लिए ।
उनको बलिङमा एक मात्र चौका प्रहार भएको थियो र १३ डट बल राख्न पनि सफल रहे । उनले रसिद खान र एस्ली नर्सको विकेट लिए ।
जवाफमा जमैकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो । त्यसमा सन्दीपले ४ रनको योगदान दिए र नटआउट रहे ।
जमैकाले अहिलेसम्म ५ खेल खेलेकोमा २ मा विजयी रहेको छ भने ३ मा पराजित रहेको छ ।