सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुलभ अग्रवाल २५ लाख ५० हजार धरौटीमा रिहा भए लगत्तै सम्पत्ति शुद्धिकरणको लागि पु:न पक्राउ

काठमाडौं। व्यवसायी सुलभ अग्रवाल २५ लाख ५० हजार धरौटीमा रिहा भए लगत्तै पक्राउ परेका छन्।

बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेस प्याकुर्‍यालको इजलासले अग्रवाललाई धरौटीमा रिहा गरे लगत्तै महानगरीय प्रहरी परिसर, टेकुको विशेष टोलीले पक्राउ गरेको हो।

काठमाडौं परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार अग्रवाललाई सम्पत्ति शुद्धिकरण मुद्दामा पुनःपक्राउ गरिएको हो। परिसरको टोलीले अग्रवाललाई शुद्धिकरण विभाग पुलचोकमा बुझाएको छ।

‘२५ लाख ५० हजार धरौटीमा काठमाडौं जिल्ला अदालतबाट रिहा भए लगत्तै पक्राउ गरेर सम्पत्ति शुद्धिकरण विभाग पुलचोकमा बुझाएका छौँ’, बोगटीले भने, ‘अब जे गर्छ सम्पत्ति शुद्धिकरण विभागले नै गर्छ।’

चैत २५ गते अग्रवाललाई ३५ सय पर्ने थर्मल गन १५ हजारमा बिक्री गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालले १२ सय थर्मल गनको मात्र भन्सार तिरेको पाइएको थियो। चीनबाट २० हजार वटा ल्याएको प्रहरीले सुराक पाएमध्ये बाँकी भने सामाजिक कामका लागि देखाइएको स्रोतले बताएको थियो ।

भन्सार तिरेर ल्याएको सामानको मात्र व्यापार गर्न पाइन्छ। सामाजिक काममा ल्याइएका भनिएका वस्तु बेच्न पाइन्न। भन्सारको विवरणअनुसार शंकर ग्रुपले ३ हजार थान टेस्ट किट, केही मास्क, पाँच सय थान पीपीई र १२ सय थान थर्मल गनलाई व्यापारिक प्रयोजनमा देखाएर भन्सार तिरेको छ। बाँकी भने ‘सेटिङ’ मा छिराएर अत्यधिक बढी मूल्यमा बेचेको पाइएको थियो।

टेस्ट किट र थर्मल गनको भन्सार महसुल ५ प्रतिशत र मूल्य अभिवृद्धिकर १३ प्रतिशत लाग्छ। मास्कमा १० प्रतिशत भन्सार महसुल लाग्छ भने पीपीईमा २० प्रतिशत महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ ।

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूतसमेत रहेका अग्रवालले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको थियो। उनको साथबाट २०९ एचसीसी १ नम्बरको गाडी प्रहरीले बरामद गरेको थियो।

सरकारले स्वास्थ्य सामग्री झिकाउन ठेक्का सम्झौता गरेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलको सामानसहित केही अनुदानित सामग्री ल्याउन नेपाल सरकारले नेपाल वायु सेवा निगमको जहाज चार्टर गरेर ग्वान्जाओ पठाएको थियो। त्यही विमानमा निजी क्षेत्रले खरिद गरेका सामानसमेत ल्याइएका हुन्। शंकर ग्रुपले पनि त्यही चार्टर जहाजमा सामान ल्याएको हो।

भर्खरै

सम्बन्धित खबर

Language »