सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वास्थ्य मन्त्रालय र डा पुनकाे आ- आफ्नै स्पष्टीकरण

काठमाडौँ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख मेडिकल अधिकृत डाक्टर शेरबहादुर पुनलाई कोरोना भाइरस नियन्त्रणका लागि मन्त्रालयले चालेको कदमका लागि सहयोग पुर्‍याउन बोलाएको स्पष्टीकरण दिएको छ ।

डाक्टर पुनले पनि आइतबार नै रामशाहपथस्थित मन्त्रालय पुगेर स्वास्थ्य मन्त्री भानुभक्त ढकाललगायतलाई भेटे ।

यसअघि आफूले पत्र नहेरेको र मन्त्रालय डाकिएको बताएका पुनले आइतबार भने सञ्चार माध्यममा प्रकाशित सामग्रीले आफ्नो ध्यानाकर्षण भएको र विकसित घटनाक्रमलाई आफ्नो वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिएको स्पष्टीकरण दिए ।

उनले आफ्नो हाजिरी टेकु अस्पतालमै हुने र बोलाएको बेला अस्पताल आएर कोभिड–१९ विरुद्धको अभियानमा सघाउ पुर्‍याउने बताएका छन् ।
डाक्टर पुनद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘उक्त पत्रानुसार मलाई कार्यरत अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड १९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्‍याउने कामका लागि मन्त्रालयमा उपस्थित हुने भन्ने व्यहोरा छ ।’ साथै उनले आइतबार मन्त्रालयका सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरेको पनि जानकारी दिएका छन् ।

कोरोना भाइरसको अपडेटका लागि आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव तथा प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले मिडियाले अनर्गल प्रचार गर्दै स्वास्थ्य मन्त्री र मन्त्रालयका अधिकारीहरुको चरित्रहत्या गर्ने प्रयास गरेको आरोप लगाउँदै आइन्दा यस्तो नगर्न पनि चेतावनी दिए ।

तर, उनै विष्टले शनिबार कान्तिपुरसँगको कुराकानीमा भने डाक्टर पुनलाई कुनै थप जिम्मेवारी दिन वा मन्त्रालयको अभियानमा सहयोग पुर्‍याउन बोलाइएकोबारेमा केही भनेका थिएनन् ।उनले डाक्टर पुनलाई मन्त्रालयले मौखिक रुपमा बोलाउँदा नआएपछि पत्र काटेर बोलाइएको बताएका थिए ।

डाक्टर पुनलाई स्पष्टीकरण सोध्न मन्त्रालय बोलाइएको भन्ने प्रश्नमा सहसचिव विष्टले भनेका थिए, ‘मन्त्रालयले उहाँलाई बोलाउन पनि नपाउने ? उहाँले के काम गर्दै हुनुहुन्छ भनेर बुझ्न बोलाइएको हो ।’ यसलाई स्पष्टीकरण नै भन्न मिल्छ भनेर दोहोर्‍याएर सोधिएको प्रश्नमा विष्टले आक्रोशित हुँदै उल्टै सोधेका थिए, ‘उहाँलाई मन्त्रालय बोलाइएको हो । त्यहाँभन्दा बढी तपाईंलाई किन चाहियो ?’

सरुवा रोगको उपचार र अनुसन्धानको क्षेत्रमा नेपालकै दक्ष र वरिष्ठ डाक्टर शेरबहादुर पुनलाई विषम् परिस्थितिमा मन्त्रालय बोलाइएको भन्दै सरकारको सर्वत्र आलोचना भएको थियो । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढिरहेका बेला डाक्टर पुनलाई अध्ययन अनुसन्धानमा लगाउनुभन्दा पनि मन्त्रालयमा तानिएको भन्दै आलोचना भएको थियो ।

अस्पतालकै केही चिकित्सक र स्वास्थ्य मन्त्रालयका केही अधिकारीहरुको उक्साहटमा डाक्टर पुनलाई स्पष्टीकरण सोधिएको पनि स्रोत बताउँछ ।

तर व्यापक जनदबाब आएपछि मन्त्रालयले अस्पतालको काममा बाधा नपुग्ने गरी कोभिड–१९ को अभियानमा सहयोग पुर्‍याउन आग्रह गरिएको स्पष्टीकरण दिएकोहो। जनदबाबपछि डाक्टर पुन र मन्त्रालय दुवै ‘सेफल्यान्डिङ’ मा पुगेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले टिप्पणी गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »