काठमाडौँ। सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण बन्द गरेको हवाई उडान आउँदो जेठ मसान्तसम्मका लागि लम्ब्याएको छ।
यस्तै सीमानाका पनि जेठ मसान्तसम्म नखोलिने भएको छ ।
बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले हवाई उडानमाथिको प्रतिबन्ध र सीमानाका बन्द गर्न कार्यलाई अझ लम्ब्याउने निष्कर्ष निकालेको हो ।
समितिको यो निर्णय पछि घरेलु तथा अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोक जेठ मसान्तसम्म कायम रहने छ भने सीमानाकाहरु पनि मसान्तसम्म खोलिने छैनन् । लकडाउन लम्ब्याएर जेठ २० सम्म पु¥याएको सरकारले हवाई उडान र सीमानाका सम्बन्धी निर्णय भने बुधबार मात्र लिएको हो ।
विदेशबाट आउन चाहने नेपालीहरुका लागि चाँडै हवाई उडान खोलिन अपेक्षा गरिए पनि यो निर्णय पछि स्वदेश फर्कन चाहने नेपालीका चाहना तत्काल पूरा नहुने अवस्था देखिएको छ ।
त्यसैगरी भारतसंगको सीमा पारि रहेका नेपालीहरुले पनि जेठ अघि आउन पाउने सम्भावना टालिएको छ ।सरकारले लकडाउनको अवधि जेठ २० सम्म लम्ब्याउने निर्णय यसअघि नै गरिसकेको छ । पटक–पटक समय थप्दै उडान बन्दको अवधि पनि बढाइएको हो ।