सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘हामी कुनै पनि मुलुकको पक्ष, विपक्षमा उभिँदैनौं

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कुनै पनि मुलुकको पक्ष, विपक्षमा नउभिने स्पष्ट पारेका छन्। उनले दुई छिमेकी मुलुक भारत र चीनसँग नेपालले मित्रवत् सम्बन्ध चाहेको बताए। ‘हामी कुनै पनि मुलुकको पक्ष, विपक्षमा उभिँदैनौं।

नेपाल तटस्थताको नीति लिन्छ’ सोमबार भारतीय टेलिभिजन जी न्युजसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भने, ‘हामी दुवै मुलुकसँग मित्रवत् व्यवहार गर्दछौं। हाम्रा लागि दुवै मुलुक भरोसायोग्य मित्र हुन्। नेपाल सन्तुलित र तटस्थताको नीतिमा विश्वास गर्छ।’ प्रधानमन्त्री ओलीले नेपाली भूमि एक अर्का मुलुकविरुद्ध प्रयोग गर्न नदिने स्पष्ट पारे।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारतसँगको सम्बन्धमा चिसोपन आएको थियो। भारतीय केही कूटनीतिज्ञ र सञ्चारमाध्यमले नेपालले चीनको उक्साहटमा भारतविरुद्ध प्रयोग भएको आरोप लगाउँदै आएका थिए।

पछिल्लो समय नेपालले चीनसँग बढी झुकाव राखेको भन्ने आरोपको प्रधानमन्त्री ओलीले खण्डन गरे। ‘यसमा कुनै सत्यता छैन,’ उनले भने, ‘हामी दुई मुलुकबीच असल सम्बन्ध स्थापित गर्न चाहन्छौं। तर हामी यी दुई मुलुकबीच एकसँग अर्काको कार्ड प्रयोग गर्दैनौं।’

नेपाल र भारत भूगोलमा सानो ठूलो भए पनि सार्वभौम मुलुकका रूपमा समान हैसियत रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो। जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले भारत राम र नेपाल लक्ष्मण भएको प्रसंग उल्लेख गर्दै के नेपालले भारतलाई ठूलो दाइ मान्न अस्वीकार गरेको हो भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘भारत राम हो, नेपाल लक्ष्मण हो भन्ने आसय तपाईंको प्रश्नमा पनि झल्किन्छ। भूगोलमा कुनै मुलुक सानो कुनै ठूलो हुन सक्छ तर देशका रूपमा ठूलो सानो हुन सक्दैन,’ हिन्दी भाषामा लिइएको अन्तर्वार्तामा, प्रधानमन्त्रीको जवाफ थियो, ‘सार्वभौमसत्ता सम्पन्न देश, दुई असल मित्र, एउटा क्षेत्रमा रहेका नेपाल–भारत समान देशहरू हुन्। यो पुरानो जमाना होइन, उपनिवेशिक समय होइन। यो पारस्परिक सम्बन्ध र सहयोगको समय हो।’

प्रधानमन्त्री ओलीले दुई देशबीच देखिएको सीमा विवादबारे पनि स्पष्ट पारे। केही भारतीय सञ्चारमाध्यमले चीन र भारतबीच गलवानमा सैन्य तनाव बढिरहेका बेला नेपाल चीनको उक्साहटमा गएको आरोप लगाएका थिए। तर प्रधानमन्त्री ओलीले चीन–भारतबीचको विवादसँग नेपाललाई नजोड्न सुझाए। ‘गलवानको विषयमा हाम्रो कुनै सरोकार छैन। दिल्लीले आफ्नो राजनीतिक नक्सा सार्वजनिक ग¥यो। उसले लद्दाख–कश्मीर)को मात्र विषय समेटेको भए हामीलाई कुनै वास्ता हुँदैनथियो,’ ओलीले भने, ‘तर नेपालको भूमि पनि समेटिएपछि हामीले यो राम्रो भएन भनेर भनेका हौं। हामीले वार्ताका लागि निरन्तर प्रयास गरेका थियौं। यो ठीक भएन भनेर डिप्लोमेटिक नोट पनि पठाएका थियौं। त्यसको कुनै सुनुवाइ भएन।’ नेपाल–भारत असमझदारीमा चीनलाई जोड्न नहुने प्रधानमन्त्रीको भनाइ थियो। ‘त्यसकारण गलवानसँग हामीलाई नजोड्नुस्, उनले भने, ‘हामी कुनै मुलुकको पक्ष, विपक्षमा उभिँदैनौं।’

तपाईं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सौहार्द्रता बढाउन मध्यस्थकर्ता बन्न सक्नुहुन्छ ? भन्ने चौधरीको प्रश्नमा प्रधानमन्त्रीले भने, ‘अवश्य सक्छु।’

‘कसरी ?’ उनले सोधे।

‘हामी तीन जना साथी—साथी हौं। उमेरले एकाध वर्ष तलमाथि हौंला। तर, घनिष्ठ साथी हौं। साथीजस्ता होइन, साथी नै हौं’, उनले भने, ‘त्यसैले म सक्छु।’

नक्सा विवादमा प्रधानमन्त्रीले भने, ‘सच्चाइँ, तथ्य र प्रमाणको सम्झनु पर्छ। भारतले पनि आफनो नक्सा छाप्छ। हरेक देशले आफनो नक्सा छाप्छन्। आफ्नो भूमि समेटेर नक्सा छाप्छन्। जुन दिन विवाद समाधान हुन्छ। एकै प्रकारको नक्सा बन्छ र यो बोर्डर भनेर रहन्छ। हामी सार्वभौम सत्ताको सवालमा, देशको सीमाको विषयमा कसैसँग ज्यादा चर्काे र कसैसँग नरम रूपमा कुरा गर्न चाहँदैनौं। हामी हरेकसँग समान व्यवहार गर्छौं। ठूलो दिमागबाट सोच्न जरुरी छ। कसैले पनि छिद्रबाट हेर्नु हुँदैन।’

भगवान् रामको भूमि विवादसम्बन्धी प्रश्नमा प्रधानमन्त्री ओलीले ऐतिहासिकताको आधारमा यसलाई अध्ययन गर्नुपर्ने धारणा राखे। उनले दुई मुलुकबीच सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउने पक्षमा सदैब नेपाल रहेको स्पष्ट पारे।

संसद् विघटनसँगै सरकारले वैशाखमा तोकेको मध्यावधि निर्वाचनको प्रसंगमा प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको पार्टीले बहुमत ल्याउने दाबी गरे। उनले निर्वाचनपछि आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने र दुई मुलुकबीचको सम्बन्धलाई थप उचाइ दिन महत्त्वपूर्ण योगदान पुग्ने जनाए।

‘हाम्रो पार्टीले बहुमत ल्याउँछ र सरकारको नेतृत्व पनि हामीले नै गर्छौँ,’ उनले भने, ‘निर्वाचनपछि नेपाल–भारत सम्बन्धलाई उचाइ दिन हामी थप योगदान गर्छौँ।’

जी न्युजकै पाल्की शर्मा उपाध्यायले अंग्रेजीमा लिएको छुट्टै अन्तर्वार्तामा पनि प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्ध सन् २०२१ मा नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताए।

भर्खरै

सम्बन्धित खबर

Language »