सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हामी मतदातालाई सपना होइन विकासका योजना बाँड्छौं- मोहम्मद इश्तियाक राई

नेपालगन्ज, जनता समाजवादी पार्टीका नेता एंव बाँके क्षेत्र नं ३का उम्मेदवार मोहम्मद इश्तियाक राईले ‘सपना बाँड्नेहरू’ र विकास ल्याउने उम्मेदवारहरू छुट्याएर मतदाता गर्न आह्वान गरेका छन्।

बाँकेको निर्वाचनमा यसपालि जनतामा सपना अनि धर्म, सम्प्रदायको नाममा विभाजन निम्त्याउने र विकास ल्याउनेहरू बीच प्रतिष्पर्धा रहेको भन्दै आम मतदाताले निकै सचेत भएर मतदान गर्नुपर्ने अवस्था आएको उनले बताए।
निर्वतमान भौतिक योजना तथा यातायात मन्त्री रहेका उनले बाँकेको समग्र विकासका र त्यसको निरन्तरताका लागि फेरि एकपटक जसपाका उम्मेदवारहरूलाई मौका दिन पनि आफ्ना मतदाताहरूलाई आग्रह गरे।

बाँकेका विभिन्न वडाहरूमा पार्टीले चुनाव प्रचार प्रसारका लागि खोलेका सम्पर्क कार्यालयहरूको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

‘फेरि पनि जनतालाई झुक्याउनका लागि सपना बाँड्ने बेला आएको छ। धर्म र जातजाति अनि सम्रदायको नाममा समाजमा विभाजन ल्याउन खोज्नेहरू धर्मको राजनीति गरिरहेका छन्’ उनले भने ‘तर हामी कसैलाई सपना र आश्वासन होइन, हामी काम गरेर देखाउँछौं। सपना होइन, विकासको लहर देखाउँछौं।’उम्मेदवार राईले आफ्नो क्षेत्रको विकासमा लागिपर्ने, समाज र समुदायका लागि सधैं साथमा रहने उम्मेदवार छान्न पनि आग्रह गरे।

हामीले पहिलादेखि नै भन्दै आएका छौं कि अब धर्म र सम्प्रदायको नाममा होइन विकासको नाममा राजनीति गरौं’ उनले भने ‘समाजमा विभाजन ल्याउन र विखण्डन होइन, विकासका योजना ल्याउन र जनताका लागि काम गर्न प्रतिस्पर्धा गरौं।’

आफू पटक पटक सांसद र मन्त्री हुँदा बाँकेको मुहारै फेरिनेगरी विकासका योजनाहरू ल्याएको र अझै कतिपय योजनाहरू पूरा गर्न बाँकी रहेको भन्दै त्यसका लागि एकपटक फेरि आफू र आफ्नो समूहलाई मौका दिन पनि आम मतदातासँग अपिल गरे।

‘धेरै गर्न सकेँ कि सकिनँ त्यो तपाईंहरूको घर आँगनमै छ। बाटोघाटो र पुलपुलेसाहरू हाम्रै वरिपरी छन्। अस्पतालको भवन उठिसकेको छ। सहरभरिको सबैभन्दा ठूलो हल अब खुल्नेवाला छ। मन्दिर र मस्जिदहरू बनाएका छौं। सडकहरू उज्यालिएका छन्’ उनले भने ‘अझै धेरै काम गर्न बाँकी नै छ। ती काम पूरा गर्नका लागि अनि अरू पनि विकासका योजनाहरू यहाँ ल्याउनका लागि फेरि एकपटक मौका दिनुस्। तपाईंहरूको विश्वास तोड्नेछैन। म भाग्नेवाला पनि छैन। यहीँ छु। यहीँ हुनेछु। काम गर्न सकिनँ भने त्यसको सजाय भोग्न तयार पनि छु।’

चुनाव प्रचार प्रसारलाई तीव्रता दिएको जसपाले क्षेत्र नं २ का सबै वडाहरूमा प्रचार प्रसारका लागि कार्यालयहरू खोलिरहेको छ। शनिबार नेपालगन्ज उपमहानगरपालिका- १३ को लालापुरवा, बुलबुलिया, मदनचोकको घसियारन मोहल्ला, १९ को कण्ठीपुर, वडा नं १४ को बालेगाउँ, नेपालगन्ज २ मा, वडा नं ९ को बाँकेगाउँ, वडा नं ४ को गणेशपुर, वडा नं ६ फुल्टेक्रा तथा वडा नं १५ को पिप्रहवामा प्रचार प्रसारका लागि सम्पर्क कार्यालयहरू उद्घाटन भएका छन्।

त्यसअघि शुक्रबारमात्रै बाँके क्षेत्र नं २ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाका वडा न. १२ बेलासपुर, वडा न. ४ घोसी टोल, वडा न. ७ पिपल चौतारा, वडा न.७ एमपी स्कुल र वडा न. ५ भट्टा टोलमा प्रचार प्रसार सम्पर्क कार्यालयहरू खोलिएका थिए।

कार्यक्रमहरूमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेसलगायतका पार्टी परित्याग गरी २ सय भन्दा धेरै जसपामा प्रवेश गरेका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »