सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हाम्राे समाजः जिम्मेवारी व्यक्तिहरूले नै माक्स नलगाए पछि कसरी कार्यन्वयन हुन्छ ?

काठमाडौँ। कोरोना संक्रमणको स्थिति दिनानुदिन भयावह बन्दै छ, तर साउन लागेयताका गतिविधिलाई मात्र नियाल्दा पनि हामीले राष्ट्रका अगुवाहरू प्रधानमन्त्री, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, मुख्यमन्त्री, मन्त्री, सांसद, सेना र प्रहरीका उच्च अधिकारी, सरकारी निकायका उच्च तहका व्यक्तिले समूहमा रहँदासमेत मास्क नै नलगाएको पायौं  ।

लगाउँदा पनि सही तरिकाले नलगाउने, चिउँडोमा अड्काउने, बोल्दा खोल्ने जस्ता विश्व स्वास्थ्य संगठनले समेत ‘गर्न नहुने’ भनेकै कुरा गरेको पायौं ।

सरकारले शुक्रबार मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्ने करिब हजार सर्वसाधारणलाई सय रुपैयाँ जरिवानासहित दण्डित गरेको छ । असार २२ यता मास्क नलगाई हिँड्ने करिब १० हजार जना कारबाहीमा परिसकेका छन् । तर यही अवधिमा उच्च ओहदामा बसेकाहरू भने मास्क नलगाई निर्बाध रूपमा विभिन्न सार्वजनिक कार्यक्रममा समेत सहभागी हुँदै आएका छन् । संक्रामक रोग ऐन २०२० को दफा ३ को प्रावधान उल्लंघन गरेको आरोपमा सर्वसाधारण दण्डित भइरहँदा प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, सचिव र सुरक्षा निकायका अधिकारीलाई भने ऐनको यो प्रावधानले असर पारेको छैन ।

कोरोना संक्रमणको जोखिम कायम रहे पनि अति संवेदनशील र सार्वजनिक स्थलमा मास्क नलगाई हिँडेको कसुरमा सर्वसाधारणलाई प्रहरीले सय रुपैयाँ जरिवाना गराएर छाड्ने गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारसम्म १० हजार जनालाई जरिवाना गरिएको छ ।

महानगरीय प्रहरी प्रधान कार्यालयकी एसएसपी किरण बज्राचार्यका अनुसार शुक्रबार एकै दिन उपत्यकाका तीन जिल्लाबाट १ सय २५ जनासहित देशभर करिब एक हजार जनालाई जरिवाना गराइएको हो । पछिल्लो एक महिनामा जरिवाना र सम्झाइबुझाइ गरेर १४ हजार ४ सय २१ जनालाई कारबाहीको दायरामा ल्याइएको उनले बताइन् ।

गृह मन्त्रालयले मास्क लगाएर मात्र सार्वजनिक स्थलमा हिँडडुल गर्ने गरी व्यवस्था मिलाउन असार पहिलो साता नै प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार सम्झाइबुझाइ गर्दासमेत मास्क प्रयोगमा अटेर गरेपछि जरिवाना लिएर दण्डित गर्नुपरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

‘अटेर गर्ने क्रम बढ्दै गए संक्रामक रोग ऐन २०२० मा कैदसमेत गर्न सक्ने प्रावधान छ,’ उनले भने । पछिल्लो एक महिनामा प्रहरीले लकडाउन उल्लंघन गर्ने २ लाखभन्दा बढीलाई नियन्त्रणमा लिएकामा १ लाख ९० हजार जनाभन्दा बढीलाई सम्झाइबुझाइ छाडेको र बाँकीलाई जरिवाना गराएको छ ।

याे समाचार कान्तिपुर पत्रिकाबाट साभार गरिएकाे हाे ।

भर्खरै

सम्बन्धित खबर

Language »