सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हायस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

विराटनगर । हायस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ र ७ को सिमानामा भएको सो दुर्घटनामा थप दुई जना गम्भीर घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

काठमाडौंबाट यात्रु लिएर झापाको बिर्तामोडतिर जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस र विपरीत दिशा (पूर्वबाट पश्चिमतर्फ) बाट आउँदै गरेको प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् । 

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार राति पौने १ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेहरुमा मोरङको बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवाल रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालमा ज्यान गएको हो । उनीहरूको पहिचान बिहान ७ बजे मात्रै खुलेको प्रहरीले जनाएको छ । 

एसपी शर्माका अनुसार दुर्घटनामा परेर हायसका चालक काठमाडौं बस्ने २८ वर्षीय गणेश थापा र सह–चालक मोरङ बेलबारीका उत्सव गिरी गम्भीर घाइते भएका छन् । दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटना भएपनि हायसमा यात्रा गरिरहेका १२ जना यात्रु भने सकुशल रहेका छन् । तीव्र गतिमा रहेको मोटरसाइकल सुन्दरहरैँचा–८ मा एक्कासि हायसको अगाडिको भागमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शी यात्रुले बताएका छन् । त्यसपछि अनियन्त्रित बनेको हायसले मोटरसाइकललाई घिसारेर दुई सय मिटर पर सडकको दक्षिणतर्फ सुन्दरहरैँचा–७ स्थित खेतमा पुर्‍याएको एसपी शर्माले जानकारी दिए ।

दुर्घटनापछि मोटरसाइकलमा आगो लागेको थियो । आगोले जलेर मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »