हुम्लाको चंखेली गाउँपालिका-५ को दुर्गम नेप्का गाउँ सञ्चारसँग जोडिएको छ । सञ्चारसँग जोडिएपछि नेप्काबासीहरुको टेलिफोनमा कुराकानी गर्ने सपना पुरा भएको छ ।
सञ्चार सेवा नहुँदा यहाँका स्थानीय एक दिनको पैदल हिँडेर चंखेली गाउँपालिकाको केन्द्रमा पुगेर आफन्तसँग फोन गर्नुपर्ने बाध्यता थियो । अब यो बाध्यता हटेपछि गाउँमा खुसी छाएको छ ।
दुर्गम गाउँमा फोन सेवा नहुँदा गाउँपालिका केन्द्र धाउनु पर्ने बाध्यता हटेको चंखेली गाउँपालिका–५ का वडाध्यक्ष भैरव तामाङले बताए । गाउँमा टेलिफोन चल्न थालेपछि स्थानीय खुसी भएको वडाध्यक्ष तामाङले बताए ।
साउन महिनामा नेपाल टेलिकमले टावर जडान गरेपछि स्थानीयबासीहरु घरघरबाटै आफन्तसँग कुरा गर्न थालेका छन् । स्थानीय दानबहादुर तामाङले खुसी हुँदै भने, ‘घरबाट आफन्तसँग कुरा गर्ने सपना लामो समयपछि पुरा भयो ।’
लामो प्रयासपछि बल्लतल्ल नेप्का गाउँमा नेपाल टेलिकमले आफ्नो सेवा विस्तार गरेको छ । टेलिकमले आफ्नो सेवा विस्तार गरेसँगै नेप्का गाउँका ६० घरधुरी सञ्चारसँग जोडिएका छन् ।