सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हेलम्बु गणेशे बगरकाे बाढी पीडितलाई राहत बितरण

काठमाडौँ । मेलम्ची खोलामा आएको बाढी-पहिरोबाट घरबार बिहिन भएका सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नं.- २ गणेशे बगरको बाढी पीडित ४९ घरपरिवारलाई युवा व्यवसायी सुरेन्द्र घिसिङ र युवा नेता गोविन्द लामाको पहलमा राहत वितरण गरेको छ ।

बौद्धको जोरपाटी स्थित स्तुपा मेडिकल कलेजमा नर्सिङ विधामा अध्ययनरत विद्यार्थी सोममाया तामाङले सोही कलेजमा अध्ययनरत विद्यार्थी साउलीन तामाङसँग गणेशे बगरका बाढी पीडित स्थानीयहरू राहत नपाएर धेरै समस्यामा परेको थाहा पाएपछि ” हामीले पनि जति सक्छौँ सहयोग गरौँ न त” भन्ने सल्लाह गरेर युवा व्यवसायी तथा राहत संकलन अभियान कर्ता सुरेन्द्र घिसिङसँग सहयोगको लागि अपिल गरेका थिए । साउलीनको आमा सजनी मोक्तान तामाङले छोरीको उदेश्यमा साथ दिने निर्णय गरेपछि यो अभियानले सार्थकता पाएको साउलीन तामाङ बताउछिन् ।

असार १ गते हेलम्बु मेलम्ची नगरपालिकाको खोला आसपासमा बसोबास गर्दै आइरहेका बासिन्दाहरूका लागि मेलम्ची खोला नै यमराज साबित भएको थियो । सयौँ घरहरु बगरमा परिणत भएका छन् । धेरै व्यक्तिहरु अहिले पनि हराइरहेको अवस्था छ । त्यसदिनको घटनाले देश विदेशमा रहेका हरेक नेपालीहरुको मन पग्लियो । सबैले सकेको आर्थिक सहयोग संकलन गरी मेलम्चीमा समस्यामा परेका बाढीपीडित परिवारहरुलाई राहत वितरण गर्न थालियो तर हेलम्बु गाउँपालिकासम्म पुग्ने सडक मार्ग मेलम्ची खोलाले बगाएका कारण कसैले राहत पुर्याउन सकेका थिएनन् । हेलीकप्टरको माध्यमबाट हेलम्बुको केही स्थानमा राहत पुर्याउन सकेता पनि गणेशे बगर, थिम्बु आदि स्थानहरुमा राहत पुर्याउन सकिरहेको थिएन । अहिले पनि सकिरहेको छैन ।

वैकल्पीक सडकमार्गबाट अब विस्तारै गणेशे बगरसम्म राहत लैजाने कार्य भएको छ । नर्सिङ विधाका विद्यार्थी सोममाया तामाङको मन पोलिरहेको थियो । कसरी गणेशे बगरको आमा, बुबा, दिदीबहिनीहरुलाई राहत पुर्याउन सकिएला भनेर पिरोलीरहेको थियो तर यी युवाहरुको साथ र सहयोगले उनको इच्छा पुरा भएको छ । सारा खबरसँगको संवादमा उहाँले यसो भन्नुभयो “म त विद्यार्थी, मैले त राहत ल्याउन सक्ने कुनै आधारहरु थिएन तर साउलीनको आमा र दाईहरुको सहयोगले मेरो आमा-बुबाहरुको भोको पेटमा भोजनको व्यवस्था गर्न सफल भएको छ । म त्यसैमा खुशी छु ।”

यसरी नै साउलीन तामाङ भन्छिन् “समस्याको समाधान गर्नका लागि विकल्प खोज्नु पर्छ भन्ने शिक्षा आजको यो राहत वितरणबाट सिकेको छु । हुन त मैले यहाँ कोही पनि चिन्दिन तर पनि यहाँ आइसकेपछि सबै जना आफ्नै परिवार जस्तो लागेको छ । यो बेलामा हामी सबैले सकेको सहयोग गर्नु पर्छ । यो नै सेवा हो । ”

साउलिन र सोम मायाको जस्तै मन सबैको हुनुपर्छ । हेलम्बुको मेलम्ची खोलाको आसपासका बाढीपीडितको अवस्था नाजुक छ । सबै जना घरबार विहिन भएका छन् । अन्तर्राष्ट्रिय तामाङ परिषद्को उपाध्यक्ष कुमार दोङले मेलम्ची खोलाको बाढीपहिरोमा परेर घरबार बिहिन भएकाहरुलाई सकेको सहयोग गर्न अपिल गरेका छन् भने सामाजिक अभियान्ता सजनी मोक्तान तामाङले यो दुःखको समयमा सबै एक भएर सहयोगको हात अगाडी बढाउन पनि अनुरोध गर्नुभयो ।

युवा व्यवसायी सुरेन्द्र घिसिङले विपतको घडीमा कोही कसैले राजनीतिक स्वार्थ नराखी सहयोग गर्न अनुरोध गरेका छन् ।

४१ बोरा चामल, २२ कार्टुन वाईवाई, १२ वटा ठुलो खालको टेन्ट, ४० लिटर तेल, एक थान जेनेटर, सय थान सोलार लाईट, एक बोरा मस्याउरा, पचास प्याकेट नुन, दुई थान गलैँचा, लत्ताकपडा, लगाएतका सामग्री लिएर गणेशे बगरमा पुग्दा करिब ६० वर्षकी बुढी आमाले रुँदै भन्नुभयो “तपाईँहरुलाई धेरै-धेरै धन्यवाद ! तपाईँहरुले जे-जति ल्याएर आउनु भएको छ । हामी सबै मिलेर बाँडीचुँडी खाउँला ।”

गणेशे बगरमा राहत वितरण गर्नका लागि सोही समयमा नेपाल तामाङ कलाकार संघका अध्यक्ष सन्जिव वाइवाको टोली पनि पुगेका थिए । अध्यक्ष सन्जिव वाईवाले “यहाँको दुःखको कुरा के गरुँ ? देश बिदेशमा रहेका नेपाली दाजुभाईहरुले पठाउनु भएको सहयोग रकमबाट राहत स्वरुप सामग्री लिएको छ आएको छ । यो त अस्थाई मात्रै हो । उहाँहरुलाई राज्यले छिटो भन्दा छिटो स्थाई बसोवासको व्यावस्था गर्नका लागि म हार्दिक अपिल गर्न चाहन्छु ।”

नोटः कुमार दोङ = पच्चीस हजार, शैलेन्द्र तामाङ = अट्ठाइस हजार, अशिस लामा = दश हजार, सजनी मोक्तान तामाङ = दश हजार, सुनदोर्जे तामाङ = दश हजार, लाल बहादुर लामा (टोखा ) = दश हजार, रत्न कुमार दोङ = विस कार्टुन वाईवाई , युवा संघको सचिवालय सदस्य गोविन्द लामा = ट्रकको सम्पुर्ण भाडा, शुरेन्द्र तामाङ = स्कर्पीयोको सम्पुर्ण भाडा, ज्ञानी माया तामाङ (बौद्घ) दुई बोरा चामल, लगाएत नाम खुलाउन नचाहने साथीहरुको साथ र सहयोगले राहत वितरण गर्न सहज भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »