सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ह्रृेन्जेन दोर्जे क्रसर उद्योग मापदण्ड विपरीत संचालनमा रहेको पुष्टि, गाउँपालिका किन माैन ?

काठमाडौँ । तेमाल गाउँपालिका वडा नं. १ सर्स्युर्खकमा संचालनमा रहेको ह्रृेन्जेन दोर्जे क्रसर उद्योग प्रा. लि. ले तोकेको मापदण्ड विपरीत संचालनमा रहेको तथ्य खुलेको छ ।


काभ्रेपलाञ्चोक जिल्लाको नदीजन्य पदार्थ संकलन र उपयोग तथा खानिजन्य उद्योग, क्रसर (ढुङ्गा, गिट्टी, बालुवा) सम्बन्धी जिल्ला स्तरीय अनुगमन समितिले स्थलगत अनुगमन गरी तयार गरेको प्रतिवेदन, २०७६ अनुसार ह्रृेन्जेन दोर्जे क्रसर उद्योगले कुनैपनि मापदण्ड पुरा नगरेको पाइएको छ ।

जेठ २१ गते बोहोरे दोभान, चुखा, ठुलो पर्सेल हुँदै तित्तिरटारसम्म संचालन सडक खण्डको ह्रृन्जेन दोर्जे कस्रर उद्योग संचालन भएको ठाउँमा पहिरो गएको भिडियो र समाचार प्रकाशित भएपछि संचालक ज्ञानध्वज तामाङ (उज्जल) ले कमेन्ट मार्फत तेमाल गाउँपालिकामा समाजसेवा गरेको रोइलो पोष्ट गरेको थियो । सारा खबरले प्रकाशित समाचारमा ज्ञानध्वज तामाङ (उज्जल)को कुनै व्यक्तिगत विषय वस्तुलाई उठान गरेको थिएन । संचालनमा रहेको सडक मार्ग अवरुद्धबाट पर्न गएको समस्याको बारेमा खबरदारीमात्र गरेका थियौं ।

क्रसरबाट पर्न गएकाे असरको बारेमा तेमाल गाउँपालिका र पाँचखालको बोहरे दोभान आसपासका जनताले कमेन्ट् मार्फत दुखेसो पोखेका छन् भने हामीले ती दुखेसोहरुलाई पहिलो चरणको समाचारमा प्रकाशित गरिसकेका छाैं । हामीले ह्रेन्जेन दोर्जे क्रसर उद्योगबाट पर्न गएको असर र त्यसको मापदण्डको बारेमा तेमाल गाउँपालिकाको अध्यक्ष सलाम सिं तामाङसँग बुझ्न खोज्दा उहाँले पुरा अध्ययन गरिसकेपछि मात्र प्रतिक्रृया दिने बताउनु भएको छ ।

प्राप्त जानकारी अनुसार विरोध गर्नेहरुलाई संचालक ज्ञानध्वज तामाङ (उज्जल)ले सकेसम्म आर्थिक लोभ देखाएर फकाउने, नमाने धम्की दिने र थर्काउने गरेको विशेष स्रोतले हामीलाई जानकारी दिएको छ ।

तेमाल गाउँपालिका भित्र उद्योग संचालन हुनु राम्रो कुरा हो । तर मापदण्ड विपरीत र सर्वसाधरणलाई र प्राकृतिक भौतिक स्रोत माथि नै असर हुने गरी संचालनमा रहेका उद्योगहरुको बारेमा पत्रकार, बुद्धिजीविहरूले प्रश्न उठाएर खबरदारी गर्नु स्वभाविक नै हो । हुन त काभ्रेमा संचालित सम्पुर्ण क्रसर उद्योगहरुले मापदण्ड पुरा नगरेको प्रमाण विशेष स्रोतबाट प्राप्त भएको छ ।

भिडियो सार्वजनिक भएपछि विभिन्न सामाजिक संजाल मार्फत र कमेन्ट् बक्समा नक्कली आइडी खडा गरी धम्की दिने र व्यक्तिगत रुपमा अनावश्यक आरोप लगाएर तर्साउन खोजिएका छन् । विस्तृतरुपमा ह्रृेन्जेन दोर्जे क्रसर उद्योगको बारेमा खोजी गर्दा सारा खबरलाई धेरै प्रमाणहरु प्राप्त भएका छन् ।

संघीय सांसद गंगा बहादुर दोङ (बमध्वज)लाई ह्रृेन्जेन दोर्जे क्रसर उद्योगले गरेको बेइमानीको बारेमा प्रश्न गर्दा उहाँ यसो भन्नु हुन्छ । “हो यो विषयमा मैले शुरुमा नै पहल गरेको थियो । तपाईहरुले यो मुद्धालाई अझ ढिला उठान गर्याे । त्यसकारणले एक जना व्यक्तिले संचालन गरेको उद्योगको कारणले सिंगो गाउँलाई नै समस्यामा पार्न पाउँदैन । तपाईहरु यो मिसनमा लाग्नुस्, मेरो तर्फबाट साथ र सहयोग हुनेछ ।”

जिल्ला समन्वयन समिती काभ्रेका अध्यक्ष तथा काभ्रेपलाञ्चोक जिल्लाको नदीजन्य पदार्थ संकलन र उपयोग तथा खानिजन्य उद्योग, क्रसर (ढुङ्गा, गिट्टी, बालुवा) सम्बन्धी जिल्ला स्तरीय अनुगमन समितिको अध्यक्ष उद्धव के.सी सँग हामीले यो प्रतिवेदन किन र्कायन्वयन भएन भनेर प्रश्न गरेका थियौं । यस विषयमा उहाँ यसो भन्नु हुन्छ । “हो हामीले अनुगमन गरेका थियौं । हामीले २०७६ सालमा नै काभ्रे जिल्लामा संचालन भैइरहेका क्रसर उद्योगहरुले मापदण्ड पुरा नगरेको बुँदा सहित प्रत्येक नगरपालिकाका मेयर र गाउँपालिकाका अध्यक्षलाई निर्देशन दिइसकेका छौं । कार्वाही गर्ने निकाय नै उहाँहरु भएको हुनाले हामीले निर्देशन मात्र दिने हौं तर वहाँहरु नै सुतेर बसेका छन् । हामीले त निर्देशन मात्र दिने हाे तर कार्यन्वयन भएन । त्यसैले बरु तपाईहरुले पालिका अध्यक्षलाई नै प्रश्न गर्नुस्, किन कार्यन्वयन भएन भनेर ?

त्यसपछि हामीले तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङलाई सोधेका थियौँ । उहाँले हामीसँग फोनमा कुरा गर्न चाहेनन् तर ह्रृेन्जेन दोर्जे क्रसर उद्योगले पालिकाको निर्देशिका पालना नगरेको भने स्वीकारेको छ ।

ह्रृेन्जेन दोर्जे क्रसर उद्योग प्रा. लि. के के कारणले मापदण्ड विपरित संचालन भएको छ त ?

नदीजन्य पदार्थ संकलन तथा उपयोग गर्न बनेको कार्यविधि २०७५ प्रदेश सरकार प्र. न. ३ को परिच्छेद ६ को दफा १५ बमोजिम जिल्लामा जिल्ला समन्वय समितिको प्रमुखको संयोजकत्वमा जिल्ला अनुगमन तथा समन्वय समिति गठन हुने व्यवस्था भए अनुरुप गठित समितीको मिति २०७६।०९।०५ गतेको समितिका संयोजक श्री उद्धव के.सी.को संयोजकत्वमा बसेको बैठकले गरेको निर्णय थियो ।

उक्त निर्णय अनुसार काभ्रे जिल्लामा स्थानिय तहबाट ठेक्का सम्झौता भई नदीजन्य पदार्थ उत्खनन्, संकलन र खानीजन्य पदार्थबाट संचालन भै रहेका क्रसर उद्योगहरु, नदीजन्य पदार्थ संकलन र उत्खनन् भएका क्षेत्रहरुको अवस्था, खानीजन्य पदार्थ उत्खनन् भएको उत्खनन् क्षेत्रको मिति २०७६।०९।०८–०९ र २०७६।०९।१७ र २१ गते समितिबाट स्थलगत अनुगमन निरिक्षण गरिएको थियो ।

स्थल, उद्योगहरुको अवस्था र तत्काल प्राप्त कागजात, उद्योग, नदीजन्य पदार्थ संकलन अनुमती पाएका संस्थाका प्रतिनिधीहरुले उपलव्ध गराएको, नदीजन्य पदार्थ संकलन अनुमती दिने स्थानिय तहका प्रमुख, प्रतिनिधीहरुबाट प्राप्त कागजात समेतका आधारमा तपसिलमा उल्लेखित विवरण सहित अनुगमन प्रतिवेदन तयार गरिएको स्रोतले दिएको जानकारी र प्रमाणबाट पुष्टि हुन्छ । उक्त प्रतिवेदनलाई हेर्दा ह्रृेन्जेन दोर्जे क्रसर उद्योग प्रा. लि.ले निम्न मापदण्डहरु पुरा गरेको छैन ।

हेन्जेन दोर्जे उद्योग प्रा.लि. (क्रसर ) (तेमाल–१, सस्युर्खक ) कच्चा पदार्थको स्रोत – खानि
संचालक – ज्ञानध्वज तामाङ्ग
१. वृक्षारोपण नगरिएको
२. सम्झौता तथा अन्य अनुमति तथा दर्ता सम्वन्धि कागजात अनुगमन स्थलमा राखेको नपाइएको र हाल प्राप्त भै सकेको ।
३. सिमाना छुट्याउनको लागि तार वार लगाएको पाइएन
४. क्रसर उद्योगको सम्पुर्ण विवरण राखि होर्डिङ्ग वोर्ड नराखेको पाइयो
५. वेस्ट्ः पदार्थ निजि जग्गामा राखेको तर व्यवस्थापन नगरेको पाइएको र डस्ट पदार्थ खोलामा मिसाइएको
६. क्रसर वाट निस्केको धुलो थिग्राउन पोखरि निमार्ण नगरेको
७. पेश गरेको कागजात अनुसार संलग्न लालपुर्जाको प्रतिलिपी साविक सस्युंखर्क गाविस वडा नंं. १ को कि नं. ७० को २१ रोपनी जग्गा हाल क्रसर तथा खानी संचालन भएको क्षेत्रसंग सम्बन्धीत नभएको ।
८. उद्योगमा काम गर्ने कामदारको विमा नगरेको

उक्त अनुगमन टोलीले तत्काल नदिजन्य पदार्थ संकलन, उपयोग गर्ने कार्य विधि २०७५ बमोजिम गर्नु पर्नेमा गरेको नपाइएको हुँदा अबिलम्व ति कार्यहरु गर्न गराउन गालिका अध्यक्षहरुलाई निर्देशन दिएता पनि पालिका अध्यक्षहरुको बदमासीको कारणले काभ्रेमा ह्रृेन्जेन दोर्जे क्रसर उद्योग लगाएत सम्पुर्ण क्रसरहरुले मनपरि गरेको पुष्टि हुन्छ । अब संबन्धित निकायलाई प्रश्न उठाउने कसले ? संबन्धित निकाय नै तैँ चुप मै चुप किन ?

जिल्ला समन्वयन समितीले तयार पारेकाे प्रतिवेदनकाे छाेटाे अंश
जेठ २१ गते सारा खबरले सार्वजानिक गरेकाे पहिराेकाे भिडियाे

भर्खरै

सम्बन्धित खबर

Language »