सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ह्रृन्जेन दोर्जे क्रसर उद्योगको कारण बस्ती र सडक जोखिममा

काभ्रे । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडां. १ मा सञ्चालित ह्रृन्जेन दोर्जे क्रसर उद्योगको कारण बस्ती र सडक जोखिममा परेको छ भने झ्यु खोलाको सुन्दरता हराएकाे छ ।

जेठ २१ गते पाँचखाल बोहरे दोभान, च्युखा, ठुलो पर्सेल हुँदै तित्तिरटार सम्म बस चल्ने सडक मार्ग ह्रृन्जेन दोर्जे क्रसर उद्योगको कारणले अवरुद्ध भएको भएको थियो । प्राविधिक मापदण्ड नपु¥याई ढुङ्गा, माटो निकालेको कारण उक्त सडक मार्गमा सुख्खा पहिरो जान थालेको छ । बर्खाको समयमा थप पहिरो जानसक्ने खतरा पनि उतिकै बढेको छ ।

सारा खबरको प्रतिनिधिले तेमाल गाउँपालिका वडा नं. १ को जनतासँग क्रसरको बारेमा बुझ्दा गाउँको लागि ह्रृन्जेन दोर्जे क्रसर उद्योगले केही नगरेको बुझ्नमा आएको छ । उक्त स्थानमा क्रसर संचालन गर्दा गाउँ नै जोखिममा पर्ने भएपछि क्रसर उद्योगको विरुद्धमा करिब १८५ जनाको संघर्ष समिति नै गठन गरेको संघर्ष समितिका अध्यक्ष संग्राम तामाङले जानकारी दिनुभयो ।

तेमाल गाउँपालिकाको अध्यक्ष सलाम सिं तामाङसँग हामीले ह्रृन्जेन दोर्जे क्रसर उद्योगकोबारेमा सोध्दा “पहिरोले बाटो अवरुद्ध भएको कुरा सुन्नमा आएको छ तर वास्तविकता के हो बुझेर म जानकारी दिने छु ।” भन्नु भयो ।

यसैगरी स्थानीय नेता तथा नेकपा (एमाले)को जिल्ला कमिटीको युवा नेता इन्द्र तामाङ यसो भन्नु हुन्छ “उद्योग संचालन गर्न पाइन्छ तर गाउँलाई नै जोखिम पार्ने उद्योग के काम ? अहिले क्रसरको नै कारणले सामुदायीक वन पनि मासिँदै गएको छ । हुन त बाहिर बाहिर एक नं. वडालाई यो गर्यो त्यो गर्यो भनेको सुनेको छु तर गाउँलेले त्यसबाट केही सुविधा लिन पाएको छैन । ”

समुदायिक वन मासेर क्रसरको लागि ढुङ्गा निकाल्दा पहिरो गइरहेको छ । पहिरोको कारण दीर्घकालीन रुपमा माथिल्लो गाउँ जोखिममा छँदैछ । हाल चुखाबेशी, पर्सेल जाने सडकखण्डमा आवतजावत गर्न समेत निक्कै जोखिम भएको छ ।

ढुङ्गा,गिट्टी,वालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड (२०७७) अनुसार ढुङ्गा, गिट्टी र माटोजन्य पदार्थ उत्खनन गर्दा बस्ती र भौतिक संरचनामा जोखिम उत्पन्न हुनसक्ने भएकोले जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस समेत लिनुपर्ने हुन्छ तर उक्त क्रसर उद्योगले कसको अनुमतिमा उत्खनन गरिरहेको छ ? यसबारे सबै अनविज्ञ छन् ।

मापदण्डमा घना बस्ती र वन क्षेत्रको दुई किलो मिटर, राजमार्गको पाँचसय मिटर, सडक पुल तथा झोलुङ्गे पुलको एक किलोमिटर तल र पाँच सय मिटर माथि खानी राख्न नपाइने र कुनैपनि पदार्थ उत्खनन र संकलन गर्न नपाउने व्यवस्था छ तर ह्रृन्जेन दोर्जे क्रसर उद्योगले पानीको मुहान नै विस्थापित हुने गरि क्रसर राखेको छ, व्यक्तिको निजि जंगल भनेर सार्वजनिक वन मासेर ढुङ्गा उत्खनन गरिरहेका छन् ।

ह्रेन्जेन दोर्जे क्रसर उद्योग र खानीको दर्ताको क्षेत्र एकतिर तर उत्खनन अर्को तिर गरिरहेका छन् । केही स्थानीयलाई हातमा लिएर सार्वजनिक जंगल फँडानी गरेर बस्ती र सडकखण्ड नै जोखिम बनाउँदा समेत स्थानीय सरकार मौन देखिन्छ । सोही जोखिम सडक मार्ग हुँदै त्यहाँका स्थानीय सरकारका जनप्रतिनिधिहरु, सांसद,मन्त्रीहरु आवतजावत गरिरहेका हुन्छन् । तर उक्त क्रसर उद्योगको विषयमा कुरा उठाउन कसैले हिम्मत गर्दैनन्, एक स्थानीयले सारा खबरलाई बताए ।

केही महिना अगाडि काभ्रे जिल्लाको क्रसर उद्योगहरुको अनुगमनको क्रममा प्रदेश सांसदहरुको अनुगमन टोली ह्रृन्जेन दोर्जे क्रसर उद्योगमा पनि पुगेका थिए तर उक्त क्रसरको सञ्चालक तामाङले प्रशासन संग सेटिङ गरेर गुन्डागर्दी गरेको भन्दै उक्त गाडी समेत बिच बाटोमा प्रहरी लगाएर खनतलासी गर्न लगाएको थियो ।

क्रसरको कारण किसानहरुको उत्पादनमा ह्रास

ह्रेन्जेन दोर्जे क्रसर उद्योगबाट निस्केको डस्टलाई सहि ढंगले व्यवस्थापन नगरि सिधै खोलामा मिसाउँदा उक्त खोलाको पानीमा निर्भर किसानहरुले उत्पादन गरेको बालीनालीमा ह्रास आउन थालेको त्यहाँका किसानहरु बताउँछन् ।

केही वर्ष अगाडि सम्म खेतमा राम्रो उत्पादन हुन्थ्यो तर पहिलाको तुलनामा डस्ट मिसेको पानीको कारण शेराबेसी,अमलटार, भोकटार, खहारेघाट लगायतका किसानहरुको उत्पादनमा समस्या आउन थालेको छ । पहिला बजारमा पाउने विभिन्न किटनाशक औषधीहरु प्रयोग नगर्दा पनि बाली राम्रो उत्पादन हुन्थ्यो तर अहिले औषधीको प्रयोग गर्दा पनि उत्पादन सोचे जस्तो नभएको किसानहरु बताउँछन् ।

यो विषयमा स्थानीय सरकार र सरोकारवालाहरुको ध्यानाकर्षन गराउँदा समेत किसानहरुले न्याय पाएका छैनन् । केही महिना अगाडि सबै किसानहरु एक भएर निवेदन हाल्ने कुरा समेत भएको थियो तर केही स्थानीय युवाहरूलाई पुलिसमा फसाइदिने धम्की दिएपछि डराएर नहालेको एक स्थानीयले नाम बताउने सर्तमा बताए ।

स्थानीयले उक्त खोलाको पानी खानेपानीको रुपमा समेत प्रयोग गरिरहेका छन् । उक्त दुषित पानीको प्रयोगले किसानको बालीनालीमा त समस्या उत्पन्न हुन्छ नै स्वास्थ्य समेत समस्या आउन सक्ने विज्ञहरु बताउँछन् ।

क्रसरको कारण तामाघाट, बोहोरेदोमन सडकको हरिविजोग

ह्रृन्जेन दोर्जे क्रसर उद्योगको मालसामान ओसारपसार गर्न दैनिक दर्जनौं ट्रिफरहरु गुड्दा तामाघाट, बोहोरेदोमनको सडकको बिजोग भएको छ । उक्त सडक बिग्रिँदा तेमाल गाउँपालिकाका वडा १,२,३,४,५, ६ वडामा जान आउनका लागि समस्या उत्पन्न भएको वर्षौं भइसकेको छ तर स्थानीय सरकारको कुनै ध्यान जान सकेको छैन ।

ट्रिफर गुडेर ठुलठुला खाल्डोहरु हुने, धुलैधुलो हुनाले उक्त सडकबाट प्रायः मान्छे हिँड्न पनि मुस्किल छ । उक्त बाटो हिँड्न नसकेर स्थानीयहरु वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन् । उक्त सडकखण्ड ह्रृन्जेन दोर्जे क्रसर उद्योगको लागि बनाएको जस्तो भएको स्थानीयहरुको गुनासो रहेको छ ।

उक्त क्षेत्रमा रातभरि ट्रिफर गुड्दा ध्वनि प्रदुषणले समेत स्थानीयहरु सुत्न सकेका छैनन् । करोडौंको उद्योग स्थापना गरेपछि बेलाबेलामा उक्त सडक खण्ड मर्मतसम्भार गर्ने, खाल्डोहरु पुरिदिने, धुलो हटाउने, ट्यांकरले पानी हाल्ने र विभिन्न विकल्पहरु प्रयोग गर्न सकिन्छ तर यी सबै गर्न उक्त क्रसर उद्योग तयार छैनन् ।

ह्रृन्जेन दाेर्जे क्रसर उद्याेगले संचालन गरेकाे खानीकाे कारण पहिराे गएर अवरूद्ध भएकाे सडक खण्डकाे भिडियाे

क्रसरको लागि बाटो खनेर उज्वलको फेसबुकमा समाजसेवीकाे बयान

ह्रेन्जेन दोर्जे कम्पनीका संचालक ज्ञानध्वज तामाङ (उज्वल) ले सार्वजनिक वन मासेर ढुङ्गा उत्खनन गरेकाे कारण बेलाबेला उक्त क्षेत्रमा पहिरो जान्छन् । उक्त बाटो अबरुद्ध हुदा उद्योगलाई दैनिक लाखौंको घाटा हुन्छ । आफ्नो व्यवसायको लागि अबरुद्ध सडक सफा गरेको फोटो हालेर निस्वार्थ रुपमा समाजको लागि गरेको भन्दै स्थानीयहरुको सहानुभूति बटुल्न खोजेको स्थानीय युवाहरू बताउँछन् ।

सारा खबरले जेठ २१ गते क्रसरको कारण पहिरो गएर सडक अवरुद्घ भएको भिडियो सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि क्रसर संचालक ज्ञानध्वज तामाङ (उज्वल)ले कमेन्ट बाक्समा पोष्ट गरेको उहाँको भनाई हामीले जस्ताको तस्तै यहाँ राखेको छ ।

G.D. Tamang Ujwal#यस्ता कुनै एउटा दल पार्टीको झोले अनि कुनै व्यक्ति विषेशको निर्देशनमा गुलामी गर्ने पत्रकारको नाममा कलंक पत्रुकार अनि समाजमा आफू केही गर्न नसक्ने कायर नमार्दहरुले गर्न सक्ने भनेकै यस्तै मात्र बिरोध र भ्रमको खेती नै हुन।#मात्र बिरोध गर्नेहरुको कारण नै हाम्रो राष्ट्रको विकास र समाज माथि उठन नसकेका हुन यसमा कुनै दुइमत छैन।#सर्बप्रथम सम्पुर्ण जनसमुदायले बुझ्नुपर्ने कुरा तेमालको तत्कालीन तामाङ राजाको नाम जुराएर स्थापना गरिएको #यस ह्रेन्जेन दोर्जे कम्पनी प्रा.लि. कुनै व्यक्ति विशेषको स्वार्थका लागि स्थापना गरिएको कम्पनी होइन।#यस कम्पनी परिवारसंग कुनै एकजना मात्र व्यक्ति, समुदाय तथा सम्बन्धित निकायले प्रमाण सहित त्रुटि औल्याइ दिए त्यसलाई सच्याउन एक मिनेट पनि ढिलो गर्ने छैन।आजसम्म यस कम्पनीले सम्बन्धित निकाय तथा जनप्रतिनिधिको निर्देशन विपरीत अटेर गर्दै कुनै कार्य गरेको छैन र गर्दैन।#अर्को कुरा यस कम्पनीको कारण जुनदिन जुन समय स्थानीयबासीलाई अथवा भिडियोमा भने जस्तो गाउँवस्ती धेरै टाढाको कुरा:#यदि एकजना मात्र व्यक्ति कोहि कसैलाई बाधा समस्या परेछ भने सोही समय स्वत उद्योग बन्द हुन्छ कोहि कसैले बाधा बिरोध गर्नुको जरुरी र औचित्य छैन।#किनकि म आफ्नो जन्मथलो, सम्पुर्ण जन्मथलोबासीलाई प्रणभन्दा बढी माया र सम्मान गर्छु।#मान्छे मात्र नभएर म आफ्नो जन्मभुमि जन्मथलो भिरपाखा नै किन नहोस अत्यन्तै माया सम्मान गर्छ।#यी र यस्ता वास्तविक कुराहरु मेरो सम्पुर्ण स्थानीय न्यायप्रेमी, विकासप्रेमी सच्चा इमानदार जनसमुदायले राम्रोसँग बुझिसकेका छन भन्नेकुरा मैले महशुस गरेकोछु।#त्यसैले कसैले व्यक्तिगत स्वार्थका निम्ति यस्ता क्षणिक भ्रम छार्दैमा केही फरक पर्नेवाला छैन।#अर्को कुरा स्थानीय रूपमा:#यो तेमालकै नमुना।#पहिलो#ठुलोअनि भुकम्प पीडित, बाटोघाटो, मठमन्दिर, शिक्षा स्वस्थ्य, सुरक्षा निकाय, लगायत सम्पुर्ण क्षेत्रमा इतिहासकै नमुना सहयोग गर्न सफल एकमात्र बैधानिक उद्योग पनि हो भन्दा कहि कातै सायद दुइमत नहोला।#जो ज-जसको मिलोमतोमा यो भिडियो बनायो उनीहरुलाई गाउँ ठाँउ समाजको निम्ति अरुले भन्दा नमुना काम गरेर देखाउन चुनौती दिन्छु।हिम्मत र क्षमता छ भने आउनुस न गाउँ समाज र राष्ट्रको लागि केहि गरेर देखाऔ!#पछाडि बिरोध मात्र किन गर्नु सक्नुहुन्छ भने समाजको लागी भौतिक रूपमा केहि गरेर देखाउनुस न!यस्ता बिरोधको शव्द मात्र त जोकोहीले सजिलै बिना लगानी र मिहिनेत नैगल्ली गल्लीमा मान्छेको निन्दा हराम हुनेगरी भुकिरहेको हुन्छ नि होइन र???#ठिक छ भिडियोमा भनेको जस्तो बस्ती जोखिम लगायत त्रुटीहरु एकतर्फी होईन हामीले विभिन्न निकायहरुबाट लिएका आवश्यक इजाजत पत्रहरु हेरेर सच्चिकैको वातावरणीय आईई रिपोर्ट तत्कालीन गाविसदेखि जिल्ला घरेलु तथा साना उद्योग, केन्द्र, जिविस, खानी तथा भुगर्भविभाग, वातावरण मन्त्रालय लगायतको वास्तविक सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न सल्लाह दिन चाहन्छु अन्यथा नेपालको संविधानले व्यवस्था गरिएको दफा उपदफा बुदा अनुसार कानुनी सहयोग लिन बाध्य हुनेछौ।#किनकी एउटा उद्योग चलाउन वा स्थापना गर्न कुनै पार्टी वा व्यक्तिले किनिदिएको २/४ हजारको क्यामेरा लियो फोटो भिडियो खिच्यो जहाँ पायो त्यही जे पायो त्यही पोस्ट गरेको जस्तो पटक्कै होइन र हुन सक्दैन।#एउटा उद्योग कलकारखाना स्थापना संचालन गर्न दशौ वर्ष लाग्छ र करोडौं लगानी समेत लाग्छ।#अन्तमा निशुल्क जानकारी:#यदी राष्ट्रको विकास गर्नु छ भने गाउँ टोल समाजमा उद्योग, कलकारखाना, रोजगारी सिर्जना गर्नुको अरु कुनै विकल्प छैन।”

(हामीले उहाँले पोष्ट गरेको कमेन्टलाई कही कतै संसोदन गरेको छैन । जस्ताको तस्तै प्रकाशित गरेका छौ ।)

भिडियो सार्वजनिक भएपछि आएको आएको प्रतिक्रियाहरु

भर्खरै

सम्बन्धित खबर

Language »