सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

१० लाखमा किनेकाे घरमा प्रधानमन्त्रीकाे जन्मदिन मनाउँदै

ढुंगामाटोले बनेको पुरानो घर । जसले झण्डै सय वर्षअघिका नेपालको पूर्वीभागमा निर्माण हुने ग्रामीण घरहरुको प्रतिनिधित्व गर्छ । दुईतले घर, जमिनको सतहभन्दा अलिमाथिसम्म रातो माटोले पोतिएको छ । एउटा मुल ढोका छ । झ्यालहरु छैनन् ।

मुलढोकाको छेउमा एउटा सानो पिरामिड आकारको प्वाल छ । सायद त्यो त्यतिबेलाको झ्याल राख्ने शैली हुनुपर्छ । बाँकी बाहिरी भाग सेतो चुनले पोतिएको छ । माथिलो तलामा पनि उसैगरी ढोका राखिएको छ । सरा, सेफ्टीहरुमा बान्की नमिलेका काठपात प्रयोग गरिएका छन् । धुरीमा सानो झ्याल छ । खरले छाइएको घरको तल्लोपटि छाल्की तानिएको छ । त्यहाँ ढिकीको अवशेष बाँकी नै छ ।

घर अगाडि सानो आँगन छ । आँगनको छेउछाउ कलमी नगरेर सुरिलो भएका केही थान गुलाबका बोटहरु छन् । यो घर सामान्य छ । तर, यसमा विशेष इतिहास जोडिएको छ ।

यही घरमा इतिहासकै शक्तिशाली प्रधानमन्त्री तथा देशकै सबै भन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको वि.स. २००८ फागुन ११ गते जन्म भएको हो । यहाँ ओलीको बाल्यकालका पदचापहरु आलै भेटिन्छन् ।

दशकाै‌ं गुमनाम यो घर केही बर्षयता एकाएक चर्चामा छ । ओली अहिले नेपालकै सबैभन्दा ठूलो दलको अध्यक्ष तथा इतिहासकै शक्तिशाली प्रधानमन्त्रीका रुपमा रहेका छन् । यसै उहाँको थातथलोका बारेमा चर्चा हुने नै भयो । अर्को, जन्मघरप्रति पछिल्ला दिनहरुमा स्वयं प्रधानमन्त्रीकै चासो रही आएको छ ।

घरजग्गा बेचेर नीलो तमोरको जँघार तरेर झापा झरेको पाँच दशकपछि प्रधानमन्त्रीले आफु जन्मिएको घरबारे सोधिखोजी गरे । सम्पर्क सुत्रका रुपमा आठराईका पुराना वामपन्थी नेता भीम घिमिरे भेटिए ।

ओली परिवारले तुलसी संग्रौलालाई बेचेर छाडेको त्यो घरजग्गा त्यतिखेरसम्म संग्रौलाले पनि खगेन्द्र तामाङलाई बेचिसकेका रहेछन् ।

यदि बेच्ने रहेछन् भने प्रधानमन्त्रीले आफ्नो पूर्खाको नासो किनेर यसै क्षेत्रका जनताका हितमा लगाउने मनसाय व्यक्त गरेका छन् भन्ने सन्देश बोकेर उनै घिमिरे पछिल्ला जग्गाधनी तामाङकहाँ पुगे । तामाङ प्रधानमन्त्रीको पुर्खेउली घरजग्गा दिन मञ्जुर भए । दश लाखमा दाम–काम गरियो । प्रधानमन्त्रीले थप ५० हजार थपिदिए ।

साहुले हडपेको जग्गा जमिन छोरानातिले मुग्लान गएर उकासेजस्तै शैलीमा उकासियो प्रधानमन्त्रीको जन्मघर । जहाँ २ सय रोपनी जग्गा छ ।केपी शर्मा ओली ट्रष्ट नेपालले स्थानीयकै इच्छाअनुसार प्राविधिक शिक्षालय वा कृषि तालिम केन्द्र बनाउने तयारी गरिरहेको छ ।

अहिले यो घरको हेरचार छिमेकी गाउँ अर्चलेकी विष्णु भुसालले गर्दै आएकी छिन् । धान मकैको खेती पनि लगाउँछिन् । प्रधानमन्त्रीको जन्मघर लिपपोत गर्ने भुसालको प्रधानमन्त्रीसँग भने आजसम्म फोनमा पनि बोलचाल भएको छैन । उनी भन्छिन् प्रधानमन्त्रीसँग फोनमा एकचोटी बोल्ने र आफ्नो गुनासोहरु राख्ने मन छ ।

भुसालले आज यो अवसर पाउने छिन्, किनभने आज प्रधानमन्त्री ओली जन्म दिनको अवसर पारेर आठराई पुगेका छन् ।

चार बर्षदेखि प्रधानमन्त्रीको जन्मघर हेरचार गर्दै आएकी भुसालका अनुसार पच्छिलो एक बर्षमा भने घर अवलोकन गर्न आउनेको संख्या ह्वातै बढेको छ । यसै मेसोमा पछिल्लो समय अघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले अवलोकन गरेका छन् ।

पुष्पलाल मध्यमहाडी लोकमार्ग अवलोकनका क्रममा आठराई पुगेका नेम्वाङले सुकेपोखरीमा तेह्रथुमका प्रतिनिधिसभा सदस्य भवानी खापुङ, प्रदेशसदस्य तेज कन्दङवा लगायत स्थानीय तहका प्रमुख र सरोकारवालाहरुसँग छलफल गरेका थिए ।

सडक पूर्वाधार विकासका बारेमा छोटो छलफलपछि आफैंले नेतृत्व गरेको उज्यालो पाँचथर कार्यक्रम अन्तर्गत याङनाममा विद्युत विस्तारको उद्घाटन गर्न पुग्नुपर्ने तालिका थियो । आयोजकहरुले बेलाबेला फोन पनि गरिरहेका थिए । यत्तिकैमा त्यहाँ भएमध्ये कसैले प्रधानमन्त्रीको जन्मघर नजिकै भएको बतायो । त्यो सुन्नसाथ मन्त्री नेम्बाङले प्रधानमन्त्रीको जन्मघर हेरेरै जाने मनसाय व्यक्त गरे । मन्त्री नेम्बाङको टोली मध्यपहाडी लोकमार्ग छोडेर ओरालो लाग्यो ।

टोलीमा स्थानीय नेतासँगै मोरङ १ का प्रतिनिधि सभासदस्य घनश्याम खतिवडा, भौतिक पूर्वाधार मन्त्रालयका सचिव देबेन्द्र कार्की सडक विभागका महानिर्देशक केशवकुमार शर्मासमेत थिए । ९ किलोमिटर कच्ची सडकमध्ये झण्डै ८ किलोमिटर जति ओरालो झरेपछि अघिलो दिन बर्षा भएकारण हिलाम्मे सडकमा मोटर गुडेन । टोली झण्डै थप २५ मिनेट हिडेरै पुग्यो प्रधानमन्त्रीको जन्मघर ।

घरअगाडि भर्खरै हेलिप्याड निर्माण सम्पन्न भएको रहेछ । त्यहाँ फोटो शेसनपछि प्रधानमन्त्रीको जन्मघर पुगेका मन्त्री नेम्बाङ सरासर सिकुवामा गएर बसे । जहाँ सुकुल ओछ्याइएको थियो । मन्त्री नेम्बाङको अनुहारमा भावुकता छल्किएको देखिन्थ्यो । उनले प्रधानमन्त्रीको विगतबारे स्मरण गर्दै तेह्रथुमको ईवाजस्तो ग्रामीण ठाउँमा जन्म लिएर पनि मुलुक पविर्तनका निम्ति खेलेको भूमिका सधै‌ं सबैका लागि प्रेरणादायी रहेको बताए ।

पूर्वकै चेतनाको दियो बाल्ने आठराई क्षेत्र भौतिक पूर्वाधार विकासमा भने निक्कै पछि रहे पनि अहिले भने गति लिएको छ । यस क्षेत्रको लाइफ लाईनका रुपमा मध्यपहाडी लोकमार्ग बनेको छ ।

प्रधानमन्त्री ओलीको जन्मथलो इवा हुँदै जननेता मदन भण्डारीको जन्मस्थान ढुंगेसाँघु भएर ताप्लेजुङ जोड्ने मदन भण्डारी मार्ग निर्माण तयारी भइरहेको छ । विद्युत विस्तार भएको छ । चुहानडाँडामा एयरपोर्ट बन्दैछ । यही विमानस्थल निर्माणलाई गति दिन अवलोकन गरेर फर्किने क्रममा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारी र यती समूहका आङ छिरिङ शेर्पा लगायतको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।

प्रधानमन्त्रीको जन्मघर तेह्रथुमेहरुको गौरव र सम्पत्तिका रुपमा रहेको तेह्रथुमका प्रतिनिधिसभा सदस्य भवानी खापुङ बताउँछन् । प्रधानमन्त्रीको घरलाई राजनीतिक पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने उनको बुझाइ छ ।

सन्दिप राइले अनलाइन खबरकाे लागि तयार गरकाे सभार

भर्खरै

सम्बन्धित खबर

Language »