सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

१२ वर्षीया सम्झना हत्याका आरोपित आइसोलेसन कक्षबाट भागे

बझाङ। मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको हत्याका आरोपित राजेन्द्र बोहरा भागेका छन् । पुर्पक्षका लागि बाल सुधार केन्द्र डोटीमा राखिएका उनी बिहीबार राति भागेका हुन् ।

बोहरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट राति १० बजेतिर फरार भएको जिल्ला प्रहरीप्रमुख एसपी जनक पाण्डेले बताए । प्रहरीका अनुसार उनी अस्पतालको आइसोलेसन कक्षमा रहेको भेन्टिलेसनको झ्याल फोरेर भागेका हुन् ।

कोरोना संक्रमण भएपछि बोहरालाई मंसिर ६ देखि बालसुधार गृहबाट अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनको खोजीको लागि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको एसपी पाण्डेले बताए ।

बोहराले सम्झनाको बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् । उनले बलात्कारपछि बालिकालाई त्रिशूल, घन र ढुंगाले हानेको भनी प्रहरीमा बयान दिएका छन् ।

बोहराको जन्ममिति विभिन्न ठाउँमा फरक–फरक देखिएका छन् । वडा कार्यालय र बोहरा पढ्ने विद्यालयमा उनको जन्ममिति फरक छ । राजेन्द्रका आमाबुबाले दुवै दस्ताबेजसँग नमिल्ने फरक जन्ममिति बताइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयले विद्यालयको रेकर्डमा रहेको जन्ममितिलाई आधार बनाएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । उनी कक्षा ८ मा अध्ययनरत मस्टा आधारभूत विद्यालयको अभिलेखमा जन्ममिति २०६१ वैशाख २० गते उल्लेख छ । तर, मस्टा गाउँपालिका–२ कार्यालयको अभिलेखमा २०६१ मंसिर १२ गते भनेर जन्म दर्ता छ । २०६७ असार २३ मा राजेन्द्रकी बहिनीको पनि एकै दिन वडा कार्यालयमा जन्म दर्ता गरिएको छ । अनौठो के भने एकै दिन राखिएको उक्त अभिलेखमा उनकै सहोदर बहिनी अञ्जना बोहराको जन्ममिति २०६१ मंसिर ३० गते उल्लेख छ । स्थानीय भने अञ्जना राजेन्द्रभन्दा तीन वर्ष कान्छी भएको बताउँछन् । ‘वर्ष दिनको फरक हुनु ठीकै हो । जुम्ल्याहा भए एकै दिन जन्ममिति हुनुपर्ने, यो हुनै नसक्ने खालको रेकर्ड भेटियो,’ मस्टा–२ का वडाध्यक्ष शेरबहादुर खड्काले भने, ‘लेख्नेले पनि विचार गर्नुपर्ने हो । यो विषय गाउँमा बुझ्दा सबै थाहा हुन्छ ।’

अदालतलाई आवश्यक परे वास्तविक जन्ममिति पत्ता लगाउन वडाले सहयोग गर्ने उनले बताए । यता राजेन्द्रका बाबु वीरबहादुर बोहराले आफ्नो छोराको उमेर १४ वर्ष भएको दाबी गरे । उनले राजेन्द्र २०६३ असोजमा जन्मिएको बताए । ‘गते र बार मलाई थाहा भएन । जन्मिएको ०६३ सालको असोज महिनामा हो,’ उनले भने । जिल्ला प्रहरी कार्यालयका डीएसपी रूपक खड्काले बोहरा दाजु र बहिनीको वडा कार्यालयमा भएको जन्मदर्ताका बारेमा त्यसबेला जानकारी नआएको र राजेन्द्रको मात्रै जन्ममिति हेर्दा वडामा भन्दा विद्यालयको रेकर्डमा बढी देखिएकाले त्यही आधारमा अनुसन्धान गरिएको बताए ।

‘त्यो बेला हामीले राजेन्द्रको मात्रै जन्ममिति हेर्‍यौं । बहिनीको विषय अनुसन्धानमै आएन,’ उनले भने, ‘उसले गरेको अपराध गम्भीर प्रकृतिको भएकाले बढी देखिएको जन्ममितिलाई आधार मानेर मुद्दा चलाएका हौं ।’ प्रहरीले अनुसन्धानको काम पूरा गरिसकेकाले यस विषयमा केही गर्न नमिल्ने भए पनि पीडित पक्षले अदालतमा प्रमाणसहित निवेदन दिए आरोपितको जन्ममितिबारे पुनः छानबिन हुन सक्ने उनले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »