सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘३६ वर्षअघि चाेरिएकाे मूर्ति’ लाई अमेरिकाबाट नेपाल फिर्ता ल्याउदै

ललितपुर । आर्थिक संकटकै कारण फिर्ता ल्याउन नसकेर अमेरिकामै थन्किने अवस्थामा पुगेको ‘वासुदेव–कमलाजा(लक्ष्मी–नारायण) मूर्ति’ लाई लागेजति खर्च बेहोरेर घर फिर्ता ल्याउन ललितपुर महानगरपालिका तत्पर भएको छ ।

अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा गत वर्ष मंसिरमा भेटिएको यो मूर्ति सन् १९८४ मा पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट हराएको थियो । ‘यो हाम्रो सहर र टोलको पुरातात्विक सम्पदासमेत हो,’ ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले आइतबार कान्तिपुरसँग भने—‘३६ वर्षअघि हाम्रो सहरबाट हराएर भेटिएको र अहिले लामो प्रक्रियापछि घर फर्कने अवस्था आइसक्दा पैसाकै संकटले हाम्रो सम्पदा विदेशी भूमिमै अड्कने अवस्था आउने छैन ।’

म्युजियमले अमेरिकी प्रहरीको निकाय फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई)मार्फत यसै साता –मार्च ४० वासिङटनस्थित नेपाली दूतावासमा बुझाइन लागेको मूर्तिलाई पट्को टोलको नारायण मन्दिरमै प्रतिस्थापन गरिने सहमतिसमेत बनेको छ । वासुदेव–कमलाजा मूर्ति रहेको ललितपुर महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष निर्मलरत्न शाक्यले सम्पूर्ण सुरक्षा र संरक्षणको जिम्मा लिएर घर फर्कन लागेको मूर्ति पुरानै मन्दिरमा राखिने प्रतिबद्धता जनाएका छन् । १२औं शताब्दीमा बनाइएको यो एउटै मूर्तिमा देब्रेतर्फ विष्णु९नारायण० र दायाँपट्टि अर्धलक्ष्मीको आकृति छ । पुरातत्व अन्वेषक लैनसिंह बाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’मा समेत वासुदेव–कमलाजा मूर्ति चोरिएकोबारे प्रामाणिक विवरण उल्लेख छ ।

उक्त मूर्ति नेपाल ल्याउन आवश्यक पर्ने खर्च डल्लास म्युजियम वा एफबीआईले नबेहोर्ने र यसका लागि आवश्यक खर्च नेपाली दूतावास वा नेपाल सरकारले उपलब्ध गराउन नसक्ने भएपछि मूर्ति दूतावासमा थन्कने स्थिति उब्जिएको थियो । डल्लास म्युजियमले भने गत नोभेम्बर ३० मै यो मूर्ति एफबीआईलाई हस्तान्तरण गरिसकेको थियो ।

वासुदेव–कमलाजा मूर्तिलाई घर फर्काउन आवश्यक सहमति जुटाउन ललितपुरका मेयर महर्जनले आइतबार नगरपालिकामा स्थानीय जनप्रतिनिधि, सम्पदाविद्, अभियन्तासहितको बैठक राखेका थिए । ‘म तत्काल परराष्ट्र मन्त्रालयमार्फत मूर्ति फिर्ताको प्रक्रिया अघि बढाउन पहल थाल्नेछु,’ मेयर महर्जनले भने— ‘यसलाई फर्काएर छाउनी म्युजियम वा कुनै स्टोरमा राख्न नपाइने सर्तमा यो काम अघि बढ्नेछ । मूर्तिलाई पट्को टोलको नारायण मन्दिरमै प्रतिस्थापन गरिनेछ ।’

सन् १९८९ मा प्रकाशित लैनसिंह बाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ ९पृष्ठ २४८०मा समेत उल्लेख भएको यो मूर्ति सन् १९८४ मा चोरिएको जनाइएको छ । डल्लास म्युजियम अफ आर्टमा प्रदर्शनीमा आएकोबारे अमेरिकी कलाविद् र क्युरेटरहरुले समेत चासो राख्दै ‘नेपालबाट चोरिएको मूर्तिका रुपमा’ सार्वजनिक सरोकार राखेका छन् । लैनसिंहले आफ्नो पुस्तकमा दिएको मूर्ति परिचयमा ‘एउटै मूर्तिमा देब्रेतर्फ विष्णु९नारायण० र दायाँपट्टि अर्धलक्ष्मीको आकृति छ ।

विगतमा यसरी भेटिएकै मूर्ति घर फिर्ता ल्याउन पनि स्रोतसाधन र इच्छाको अभावमा सम्भव नभइरहेका बेला स्थानीय तहमा पहिलोपटक ललितपुर महानगरका मेयर महर्जनको तदारुकता देखिएको हो । ‘यो काम अरुका लागि समेत अनुकरणीय हुनेछ,’सम्पदाबारेको सोधखोजमा लागेका अभियन्ता पत्रकार कनकमणि दीक्षितले महानगरपालिका बैठकमा भने, ‘जे जसरी हुन्छ, लक्ष्मी–नारायणको यो मूर्ति फिर्ता ल्याएर क्षमापूजासहित नारायण मन्दिरमै प्रतिस्थापित गर्नुपर्छ ।’

अर्का अभियन्ता रवीन्द्र पुरीले आफ्नो सम्पदालाई संरक्षण र संवद्र्धन गर्ने कुरा आफ्नै इतिहास तथा भविष्यसँग जोडिएको विषय भएकाले अमेरिकामा भेटिएको मूर्ति घर ल्याउन जेजस्तै सहयोग उपलब्ध गराउन पनि आफू तत्पर रहेको बताएका थिए । स्रोतका अनुसार, ७० केजी तौलको यो मूर्ति घर फर्काउन केही लाख रुपैयाँ लाग्न सक्ने र सरकारी निकायमा मन्त्रालयसहित अन्यत्र यस्तो शीर्षकमा रकम विनियोजन नभएकाले कठिनाइ उब्जिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »