सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

५ नम्बर प्रदेश सरकारकाे घाेषणाः किलाेकाे २० रूपैयाँ, समातेर ल्याउनेलाई पुरस्कार

बुटवल। पाँच नम्बर प्रदेश सरकारले भारतबाट नेपाल भित्रिएको सलहको मूल्य २० रुपैयाँ तोकेको छ । शनिबार बसेको आकस्मिक बैठकले सलह मारेर ल्याउने जो कोहीले प्रतिकिलो २० रुपैयाँ पाउने गरी मूल्य तोकेको हो । पाकिस्तानबाट भारत हुँदै नेपालमा पनि सलह आउन थालेपछि सम्बन्धित निकायले सावधानी अपनाउन थालेका छन् । अनिकाल नै निम्त्याउनसक्ने भन्दै स्थानीय तहबाट यसको रोकथामका लागि प्रयत्न भएका छन् । यस्तैमा प्रदेश नम्बर ५ सरकारले सलह कीरा समात्नेलाई इनाम दिने घोषणा गरेको छ । प्रदेश सरकारले हालै एक केजी सलह कीरालाई समातेर बुझाएको खण्डमा २० रुपैयाँका दरले स्थानीयलाई इनाम दिने घोषणा गरेको हो ।

प्रदेश ५ मा सलह भित्रिएपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका सचिव र स्थानीय तहका जनप्रतिनिधिसहितको आकस्मिक बैठक बसेको थियो । बैठकले सलह फैलिएको क्षेत्रमा विषादी छर्ने व्यवस्था गरेको छ । धानको ब्याड जोगाउन प्लाष्टिक, झुलले भए पनि छोपेर राख्न किसानलाई आग्रह समेत गरेको छ ।

किसानले किरा मारेर बुझाए प्रतिकिलो २० रुपैयाँ प्रोत्साहन रकम दिने निर्णय भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले बताए । ‘पाकिस्तानले यही मोडल अपनाएर क्षति कम गर्न सफल भएको रहेछ, हामीले पनि त्यही उपाय अवलम्बन गरेका छौं’, उनले भने । मन्त्रालयको निर्णय बमोजिम नगरपालिकाले किसानलाई सार्वजनिक आह्वान गर्दै विषादी छर्ने तरिका समेतको सूचना प्रवाह गरेका छन् ।

सलहका अहिलेको मौसम प्रतिकुल रहेको छ । उच्च गर्मी अथवा मरुभूमि जस्तो वालुवा भएको क्षेत्रमा यो किराले अण्डा उत्पादन र सन्तान बृद्धि गर्छ । प्रवक्ता घिमिरेले भने–‘हाम्रो क्षेत्रमा वर्षा भइरहेकाले यसले सन्तान बृद्धि गर्न सक्दैन ।’ सन्तान उत्पादन गर्न नसके धेरै क्षति नहुने अनुमान उनले गरे ।

दक्षिणतर्फबाट उत्तरतर्फ हावा बहिररहेकाले रुपन्देहीबाट नेपाल प्रवेश गरेको सलह गुल्मी र पाल्पा जिल्लामा बास बस्न सक्ने अनुमान घिमिरेले गरे । यो सलहले जहाँ बस्यो त्यहाँ अध्याधिक क्षति गर्ने गर्दछ । मन्त्रालयले पालिकामा रहेका कृषि शाखाका र जिल्लास्थित ज्ञान केन्द्रका कर्मचारीहरुलाई बासस्थानको पत्ता लगाई विषादी छर्किन निर्देशन समेत दिएको छ ।

मालाथियान ३ एमएल १ लिटर पानीमा वा क्लोरोपाइरीफस नामक विषादी २ एमएल प्रतिलिटर पानीमा घोली किरामा पर्ने गरी स्प्रे गर्न मन्त्रालयले सूचना जारी गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »