सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

६०१ नम्बर क्याबिनमा प्रम ओली, औषधिकै संक्रमणले बिग्रियो ३ जनाको मिर्गौला

काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएको विषय आजका सबैजसो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । कोरोना संक्रमणबाट बच्न सरकारले जारी गरेको ट्राभल एड्भाइजरी र सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् ।

२०६३ देखि मिर्गौला प्रत्यारोपण गर्न सुरु गरेको त्रिवि शिक्षण अस्पतालको रेकर्ड अनुसार अहिलेसम्म आठ जनाको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको कान्तिपुर दैनिकमा समाचार छ । यो हिसाबमा प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालबाट दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने नवौँ र यति ठूलो उपचार मुलुककै सरकारी अस्पतालमा गर्ने पहिलो अतिविशिष्ट व्यक्ति हुन् । सम्भवतः यही कारण महाराजगञ्ज अस्पताल प्रशासन र बालुवाटारमा प्रधानमन्त्रीको व्यवस्थता सरोबरी नै थियो । ओली मध्यान्ह १२ बजे अस्पताल पुग्ने जानकारी पाएको अस्पताल प्रशासनले त्यसपछि आवश्यक पर्ने सबै तयारी र योजना तय गर्यो । सरकारी निवास बालुवाटारमा ओलीले आफू उपचारपछि फर्किएर नआउँदासम्मको सबै तारतम्य मिलाए । बिहान सबेरै औपचारिक–अनौपचारिक बैठकहरु गरे । बालुवाटारमा ओली बैठक र भेटघाटमा व्यवस्त भइरहँदा महाराजगञ्जको धपेडी पनि उस्तै थियो । ओलीका लागि ६०१ नम्बर क्याबिन खाली गरिसकिएको थियो ।

प्रत्यारोपणमा शिक्षण अस्पतालको नेफ्रोलोजी विभागकी प्रमुख प्रा.डा. दिव्या सिंह शाहले समन्वय गरेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । उनी प्रधानमन्त्री ओलीकी निजी चिकित्सक हुन्। प्रत्यारोपणका लागि शल्यचिकित्सकको भूमिकामा शिक्षण अस्पतालको युरोलोजी विभागका विभागीय प्रमुख एवं वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा. उत्तम शर्मा रहनेछन्। युरोलोजी विभागका पूर्वविभागीय प्रमुख एवं वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा प्रेमराज ज्ञवाली पनि संलग्न छन्। सल्यक्रियामा नेफ्रोलोजी विभागका डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. पवन चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल, डा. महेश प्रधानलगायतका चिकित्सक संलग्न हुने अस्पतालले जनाएको छ। प्रत्यारोपण सफल भएपछि मिर्गौला दाता संग्रौला तीन/चार दिनमा डिस्चार्ज हुन सक्नेछिन्। प्रत्यारोपणपछि प्रधानमन्त्री ओली भने एक साता आराम गर्नुपर्ने हुन सक्छ। ‘दुवै जनालाई डिस्चार्जका लागि एक साता लाग्न सक्छ’, डा. खड्गाले भने। तर, प्रत्यारोपणमा संलग्न एक चिकित्सकका अनुसार ७ देखि १० दिनभित्र डिस्चार्ज गर्ने योजना छ। प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेक डा. अनन्त कुमार पनि प्रत्यारोपणका क्रममा सामेल हुने छन्। ‘डा. अनन्त कुमारलाई ब्याक सपोर्टका लागि बोलाइएको हो। प्रत्यारोपण नेपाली चिकित्सकबाटै हुनेछ’, प्रत्यारोपणमा संलग्न एक चिकित्सकले भने। डा. अनन्त दिल्लीस्थित म्याक्स अस्पतालको मिर्गौला प्रत्यारोपण विभागमा निर्देशक छन्। प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण अपोलो अस्पतालमा गरेका थिए। प्रधानमन्त्री ओलीको पहिलोपटक २०६४ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई बुहारी नाता पर्ने अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन्।

जरुरी कामबाहेक विदेश नजान सरकारले गरेको आग्रहलाई कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार, अतिप्रभावित ५ देशका नागरिकलाई अनअराइभल भिसामा प्रतिबन्ध लगाइएको छ ।

औषधिकै संक्रमणका कारण ३ जनाको मिर्गौला बिग्रिएको अर्को खबर पनि कान्तिपुरमा छ । प्रसूतिको शल्यक्रियाका क्रममा प्रयोग गरिएका दुई औषधिका कारण तीन महिलाको मिर्गौला फेल भएको कान्तिपुर समाचारमा उल्लेख छ ।

जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गरिएका औषधिका कारण संक्रमण भएको पुष्टि भएपछि औषधि व्यवस्था विभागले हालका लागि उक्त व्याचका औषधिको बिक्रीवितरण रोक्ने तयारी गरेको छ ।

कान्तिपुरका अनुसार गत फागुन ४ र ५ गते प्रसूतिका लागि शल्यक्रिया गरिएकामध्ये तीन जनामा एकै प्रकारको संक्रमण देखिएको थियो । संक्रमण देखिएसँगै अस्पताल प्रशासनले शल्यक्रियाकक्ष बन्द गरेर सरसफाइ गरेको थियो । यस्तै अस्पतालले संक्रमणको स्रोत पत्ता लगाउनका लागि शल्यक्रियामा प्रयोग भएको औषधिलगायत सबै वस्तु , औजार तथा शल्यक्रियाकक्षबाट नमूना संकलन गरेर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानबाट त्यहाँ प्रयोग गरिएको व्याक्टेरियाको संक्रमणविरुद्ध उपयोग हुने मेट्रोनिडाजोल सस्पेन्सन र रिंगर ल्याक्टेट नामक सलाइनमा खराबी रहेको पत्ता लागेको छ ।

नयाँ पत्रिकाले कोरोना संक्रमणसँग जुध्न भए/गरेका गृहकार्यमाथि नजर लगाएको छ । समाचार अनुसार, यसबारे निर्णय धेरै भए पनि गृहकार्य थोरै भएका छन् ।

संक्रमण रोक्ने होइन, धूलो छेक्ने मास्कको पनि नेपाली बजारमा अभाव छ । त्यस्तै आइसोलेसन वार्डको व्यवस्था अझै हुन सकेको छैन । आवश्यक परे क्याबिनलाई नै वार्ड राख्ने तयारी गरिएको छ । समाचार अनुसार उपचार गर्दा स्वास्थ्यकर्मीले लगाउने कवज पनि पाँच सय मात्र छ ।

राजधानीले राष्ट्र बैंकले कर्जा खुकुलो पार्दै लगेको समाचार छापेको छ भने अन्नपूर्णले प्रधानमन्त्री अस्पताल भर्ना भएको विषयलाई नै मुख्य समाचार बनाएको छ । ५ देशमा उडान रोक्न सर्वोच्चले जारी गरेको अन्तरिम आदेशलाई पनि अन्नपूर्णले समेटेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »