सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

७ सय नेपाली सेना युएन मिसनमा जानबाट बञ्चित : कारण कोरोना भाइरस

संयुक्त राष्ट्र संघको शान्ति मिसन सुडान जान लागेको करिब ७ सय नेपाली सेनाको टोली अन्तिम अवस्थामा रोकिएको छ । शान्ति मिसनका लागि गत फागुन २५ गते नै त्यसतर्फ प्रस्थान गरि सक्नु पर्नेमा रोकिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । युएन हेडक्वार्टरले नै पत्र पठाएर तत्काललाई स्थगित गर्न भनिएको छ । अन्य के कारणले र कति समयसम्म रोकेको हो भन्ने सेनाका अधिकारीहरूले खुलाएका छैनन् ।

प्रवक्ता पाण्डेले कोरोना कारण देखाएर मिसन रोकिएको दावी गरे पनि यसमा सेनाभित्रकै अन्य कारणहरुले पनि भूमिका खेलेको उच्च सैनिक स्रोतको दावी छ । जसले गर्दा युएनले यसअघि नेपाली सेनामाथि राखेको विश्वासमा ह्रास आएको त होइन भन्ने गम्भीर प्रश्न उठेको छ । 

तर प्रवक्ता पाण्डे यस्ता घटना पहिला पनि हुँदै आएकाले यसलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँछन् । 

संयुक्त राष्ट्र संघको आह्वानमा विश्व शान्ति स्थापना कार्यको लागि फौज पठाउने विश्वका १२२ देशमध्ये नेपाल चौथो देशमा पर्छ । 

हाल संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विभिन्न १२ वटा द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ छन् । जसमा नेपाली कण्टिन्जेण्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतहरु गरी जम्मा ५ हजा ६५८ जना सुरक्षाकर्मी कार्यरत रहेका छन् । 

जसमध्ये नेपाली सेनाका ५ हजार ९६ जना शान्ति सैनिक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ५ सय ६२ जना फौज विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ छन् ।

पहिलो पटक सन् १९५८ मा युनाइटेड नेसन मिसनमा नेपाली सेनाको तर्फबाट ५ जना सैनिक पर्यवेक्षक सहभागी भएका थिए भने हालसम्म १ लाख २९हजार ८ सय ९९ जना सैनिकहरुले सहभागिता जनाईसकेका छन् । जसमध्ये नेपाली सेनाका १ हजार ४ सय १ जना महिलाले सहभागिता जनाइसकेका छन् ।  हाल १ सय ८१ जना महिलाहरु विभिन्न मिसनहरुमा कार्यरत रहेको नेपाली सेनाले जनाएको छ । 

यसअघि २०७३ मा पनि संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा गएका ३२ जना नेपाली शान्ति सैनिकलाई सुडानबाट फर्काइएको थियो । 

भर्खरै

सम्बन्धित खबर

Language »