सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

७ सय ७१ जना भन्दा बढी मजदूर लकडाउनपछि आयोजना स्थलमै थुनिए

ओखलढुंगा । निर्माणाधिन लिखु ४ जलविद्युत् आयोजनाको काम लकडाउनका कारण ठप्प छ। सरकारले लकडाउन खुकुलो बनाउँदै ठूला आयोजना सञ्चालन गर्न दिने निर्णय गरेपनि आयोजनालाई आवश्यक कच्चा पदार्थ र इन्धन अभाव छ।

७ सय ७१ जना भन्दा बढी मजदूर लकडाउनपछि आयोजना स्थलमै थुनिएका छन्। कोरोनाको संभावित संक्रमण रोक्न उनीहरुलाई ‘सेल्फ क्वारेन्टाइन’मा राखिएको छ। कच्चा पदार्थ नहुँदा कामदारलाई काममा फर्काउन नसकिएको आयोजनाका जनसम्पर्क तथा प्रशासकीय प्रबन्धक कृष्णदास श्रेष्ठले बताए। आयोजनाले विराटनगर, वीरगन्जलगायतका ठाउँबाट कच्चा पदार्थ ल्याउँदै आएको थियो।

सरकारले ठूला आयोजनाका लागि लकडाउन खुकुलो बनाएपछि स्थानीय प्रशासनले निश्चित मापदण्ड तोकेर काम गर्न अनुमति दिएको छ। कामदारलाई बाहिर निस्कन नदिने, सुरक्षित र स्वास्थ्यका मापदण्ड अपनाएर काम गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए। कोरोना संक्रमण रोक्न तोकिएका मापदण्ड पुरा गरेर काम गर्न भनिए पनि कच्चा पदार्थ अभावमा काम अघि नबढेको हो। मजदुरलाई खाद्यन्न व्यवस्थापन गर्न समस्या भएको आयोजनाले बताएको छ।

अहिले ड्याम बनाउने काममा २५ जना मजदूर मात्रै खटेका छन्। ओखलढुंगा र रामेछापको सीमानामा पर्ने लिखु नदीमा निर्माणाधिन आयोजनाको

प्रबद्र्धक कम्पनी ग्रीन भेन्चर्स प्रालि हो। यसमा दुईवटा ठेकेदार कम्पनीले काम गरिरहेका छन्। सिभिल तर्फको काम गर्ने जिम्मा इन्डियन कम्पनी एसएसएनआरको छ। उक्त कम्पनीले ड्याम साइट र डिसेल्टिङ च्याम्बर लगायतका संरचना निर्माण गरिरहेको छ। त्यस्तै नेपाली कम्पनी साउथ एसियन इन्फास्ट्रक्चरले पावरहाउस, भल्भ साउथ र सर्ज साफ्ट लगायतका संरचना निर्माण गरिरहेको छ।

दुवै कम्पनीले करिब ६० प्रतिशत काम सम्पन्न गरेका जनसम्पर्क प्रबन्धक श्रेष्ठको बताए। खिजिदेम्बा गाउँपालिकाका वडा नं। ३ स्थित विमिरेमा निर्माण हुने ड्यामबाट भूमिगत सुरुङहुँदै लिम्तीमा निर्माण हुने विद्युत् उत्पादन गृहमा पानी खसालिने छ। उत्पादन क्षमता १२० मेगावाट रहनेगरी डिजाइन गरिएको आयोजना ५२ दशमलब ४ मेगावाट रहने गरी निर्माण भइरहेको छ। मुख्य संरचना ओखलढुंगातर्फ रहेपनि प्रभावित क्षेत्र ओखलढुंगा र रामेछाप दुवै जिल्लामा रहेका छन्।

३० महिनामा निर्माण पूरा गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने योजनाका साथ निर्माण सुरु भएको यो आयोजनाको लागत १० अर्ब १६ रुपियाँ अनुमान गरिएको छ। लक्ष्मी बैंक, ग्लोबल आइएमई, नबिल, सनराइज, नेपाल एसबीआई, सानिमा र प्रभु बैंकको ७५ प्रतिशत र २५ प्रतिशत लगानी त्रिवेणी ग्रुप र विशाल ग्रुपले लगानी गर्ने सम्झौता भएको आयोजनाका प्रोजेक्ट डेभ्लप्मेन्ट मेनेजर बद्री रिजालले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »