सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पत्रपत्रिका: सभामुख चयन र कोरोना भाइरसको चर्चा,

काठमाडौं । आइतबार प्रतिनिधिसभाले गरेको सभामुख चयन र कोरोना भाइरसको बढ्दो प्रकोपमाथि आजका दैनिक अखबारहरू केन्द्रित भएका छन् । यसबाहेक एमसीसी, नेपाल–भारत सीमा बैठकलगायतका विषयलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् ।

‘एमसीसी पारित गर्न संकल्प प्रस्ताव’ शीर्षक दिएर कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार सरकारले एमसीसीसँग जोडिएका आशंका निवारण गर्ने उद्देश्यसहित संसद्मा संकल्प प्रस्ताव ल्याउने विकल्पतर्फ छलफल थालेको छ ।

यसअघि तत्कालीन सभामुख कृष्णबहादुर महराले एमसीसी सम्झौता अघि बढाउने सन्दर्भमा असहयोग गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा असन्तुष्टि पोखेका थिए । नेकपाभित्र पूर्वमाओवादी पक्षले एमसीसीप्रति संशय प्रकट गरिरहेको पष्ठभूमिमा त्यही धारको प्रतिनिधित्व गर्ने नवनियुक्त सभामुख सापकोटाको भूमिकालाई पनि चासोका साथ हेरिएको कान्तिपुर समाचारमा उल्लेख छ ।

कान्तिपुरकै भित्री पृष्ठमा शपथ खाएका चालकले ज्यान लिएको अर्को खबर पनि छापिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न भन्दै प्रहरी र व्यवसायीले चालकलाई सपथ खुवाएको १३ दिनपछि टिपरले एक जनाको ज्यान लिएको हाे । टिपरबाट सवारी दुर्घटना बढी देखिएपछि वागमती टिपर व्यवसायी संघ र जिल्ला ट्राफिक प्रहरीले पुस २८ मा चालकलाई दुर्घटना नगराउने प्रतिबद्धतासहित सपथ खुवाएको थियो ।

सपथमा मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउने, तीव्र गतिमा नकुदाउनेलगायत छन् । चालकलाई यस्तो सपथ खुवाइए पनि पाँचखाल–५ स्थित सैंतीस किलोमा शनिबार खावातर्फ आउँदै गरेको बा ८५ प ६०२६ मोटरसाइकललाई सोही दिसाबाट आउँदै गरेको बा ४ ख ११४५ को टिपरले ठक्कर दिँदा १ को मृत्यु भएको उल्लेख गर्दै कान्तिपुरले सपथपछि पनि चालक संयमित नबनेको निष्कर्ष निकालेको छ ।

कान्तिपुरकै भित्री पृष्ठमा ‘केटो’ स्याहार्न चार कर्मचारी शीर्षकको अर्को रमाइलो खबर पनि छ । समाचार अनुसार चितवन राष्ट्रिय निकुञ्जमा एउटा बेवारिसे गैंडाको बच्चा (केटो) भेटिएको छ । केटो भेटिएपछि त्यसको रेखदेखका लागि निकुञ्जले चार कर्मचारी खटाएको हो । एक जना पशु चिकित्सकको निगरानी र निर्देशनमा गैंडाको दुई वटा बच्चा अर्थात् केटोको स्याहार गर्न चार कर्मचारी खटिएको निकुञ्जलाई उद्धृत गर्दै कान्तिपुरले लेखेको छ ।

उहानमा रहेका नेपाली उद्धारको पर्खाइमा रहेको समाचार अन्नपूर्णले छापेको छ ।

समाचार अनुसार कोरोना भाइरसको संक्रमण फैलिरहेको उहानमा सयौं नेपाली विद्यार्थी अध्ययनरत छन् । भाइरस आतंकका कारण ती नेपालीले जतिसक्दो छिटो स्वदेश फर्किन चाहेका छन् । उनीहरूले यस्तो आशय बेइजिङस्थित नेपाली राजदूतावाससमक्ष पनि राखिसकेका छन् ।

गृह मन्त्रालयले अध्यागमनमा अमेरिकी सफ्टवेयर हटाएर बायोमेट्रिक्ससहितको नेपाली पोर्ट नामक आफ्नै सफ्टवेयर राखेको अर्को खबर पनि अन्नपूर्णको पहिलो पृष्ठमा समेटिएको छ ।

हुम्लामा मौसमी फ्लुले दुई सातामा सातजनाको मृत्यु भएको नागरिकले लेखेको छ । हुम्लाको चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा मौसमी फ्लु फैलिएको हो । ग्रामीण स्वास्थ्य संस्थामा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा फ्लु नियन्त्रणबाहिर जान लागेको भन्दै नागरिकले चिन्ता व्यक्त गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »