सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चर्चामा आउने तरिका हो ? झूटो समाचार छपाउने?

बनेपा । गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफुलाई सवारीसाधन खरिद गर्न छुट्याइएको रकमले एम्बुलेन्स खरिद गरेको भनी प्रचार गरिएको समाचार गलत पुष्टि भएकाे भन्दै काभ्रेबाट प्रकाशित दृष्टि अनलाइनले समाचार प्रकाशन गरेकाे छ । समाचारकाे वास्तविकता बुझनका लागि राेशी गाउँपालिकाका अध्यक्ष डिभी माेक्तानलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

प्राप्त समाचार अनुसार काभ्रेको रोशी गाउँपालिकाका लागि आइतबार हस्तान्तरण गरिएको दुई एम्बुलेन्स बागमती प्रदेश सरकार र रोशी गाउँपालिकाको संयुक्त रकमबाट खरिद गरिएको पाइएको छ । यसअघि गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफुलाई सवारीसाधन खरिद गर्न छुट्याइएको रकमले एम्बुलेन्स खरिद गरेको भनी प्रचार गरिएको थियो । तर उक्त प्रचार चर्चामा आउनका लागि गरिएको पुष्टि भएको हो । एम्बुलेन्स खरिदका लागि प्रदेश सरकारले समेत १६ लाख रकम अनुदान दिएको पाइएको छ । उक्त रकममा गाउपालिकाले ५ लाख थप गरि करिब २१ लाखको दुइ वटा एम्बुलेन्स खरिद गरिएको हो ।

आइतबार गाउँपालिकास्थित वडा नम्बर ५ र ११ मा रहनेगरी दुइवटा एम्बुलेन्स संविधानसभा सदस्य तीर्थ लामाले सन्चालक समिति अध्यक्षलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा उक्त एम्बुलेन्स गाउँपालिकाको कार्यपालिका बैठकबाट पारित गरि खरिद गरिएको समेत बताइएको थियो । तर उक्त भनाईमा कुनै पनि सत्यता नभएको स्पष्ट भएको छ । स्थानीय सरकारले आफ्नो आवश्यकता अनुसारको ठाउँमा खर्च गर्न पाउनेगरी एम्बुलेन्स, शवबाहन र दमकल गरी तीनवटा क्षेत्रमा खर्च गर्न प्रदेश सरकारले भनेको थियो । प्रदेश सरकारले निर्णय गरी शसर्त अनुदान अन्तर्गत स्थानीय सरकारलाई १६ लाख रकम दिएको प्रदेश सरकारका योजना महाशाखा प्रमुख घनश्याम पन्थीले जानकारी दिए । उनका अनुसार रोशी गाउँपालिकाले १६ लाख रकम प्राप्त गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले पनि यो कुरालाई थप पुष्टि गरेका छन् । उनले जुन शीर्षकमा रकम आएको छ, त्यो बाहेक अन्य शीर्षकमा खर्च गर्न नपाउने बताउँदै प्रदेश सरकारले एम्बुलेन्स खरिदका लागि १६ लाख रकम दिएको जानकारी दिए । उपाध्यक्षको लागि सवारी साधन खरिद गर्न छुट्याइएको रकमबाट एम्बुलेन्स खरिद गर्नै नमिल्ने उनले बताएका छन् ।

प्रमुख प्रशासकिय अधिकृत दाहालले प्रदेश सरकारबाट पनि एम्बुलेन्स खरिदका लागि भनेर नै अनुदान रकम आएको बताए । गत वर्ष गाउँपालिकाले ३ वटा सवारीसाधन खरिद गर्न लागेको र त्यस मध्ये एउटा चाँही एम्बुलेन्स किनौं, बरु मलाई गाडी चाहिँदैन भनेर उपाध्यक्षले प्रस्ताव मात्र गरेको उनको भनाई छ । तर उपाध्यक्ष बर्तौलाले भने आफुलाई सवारी साधन खरिद गर्न दिएको रकमबाट नै एम्बुलेन्स किनेको दावी गरेकी छन् । स्रोतका अनुसार गाउँपालिका उपाध्यक्षले अध्यक्ष डि।बि लामासँग बारम्बार गाडी चाहियो भनेर आग्रह गरेकी थिइन् । तर अध्यक्षले थप गाडी किन्ने गाउँपालिकाको अवस्था नरहेको बताएपछि सवारीसाधन खरिदको रकमले एम्बुलेन्स खरिद गरिएको भनेर उपाध्यक्ष बर्तौलाले चर्चामा आउनकै लागि गलत बोलेर प्रचार गरिएको वुझिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »