नास्टले प्रतिवेदन बुझायो ”ल्याण्डफिल्ड साइट आसपासका १० ठाउँलाई अति प्रभावित”
अति प्रभावित र प्रभावित १०÷१० ठाउँ, कम प्रभावित ४ ठाउँ

काठमाडौँ । नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ल्याण्डफिल्ड साइटको वातारणीय प्रभाव मुल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन आज महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई बुझाएको छ । अध्ययन समितिका सदस्य सचिव एवं नास्टका बरिष्ट वैज्ञानिक अधिकृत डा. भोजराज पन्तले महानगरको सभा कक्षमा उक्त प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनले ल्याण्डफिल्ड साइट आसपासका १० ठाउँलाई अति प्रभावित, १० ठाउँलाई प्रभावित र ४ वटा स्थान कम प्रभावित भएको देखाएको छ ।

अध्ययन समितिका सदस्य सचिव एवं नास्टका बरिष्ट वैज्ञानिक अधिकृत डा. पन्तका अनुसार, साइटको गन्ध, सतह तथा भूमिगत पानी, लिचेड निष्कासन र व्यवस्थापन, माटोमा फोहोरमैला व्यवस्थापन गर्दा परेको प्रभावसँग पशुपंक्षी तथा मानव बसोबासमा परेको प्रभाव जस्ता बिषयलाई अध्ययनका क्रममा हेरिएको थियो । स्थलगत रुपमा गरिएको नमूना संकलनलाई प्रयोगशालामा गरिएको परीक्षण तथा स्थानीय अवस्था र स्थानीयबासीको धारणाका आधारमा अति प्रभावित, प्रभावित र कम प्रभावित गरी क्षेत्र निर्धारण गरिएको हो, डा. पन्तको भनाइ छ । अध्ययन गएको असोज कार्तिक महिनामा गरिएको थियो ।

प्रतिवेदनमा पृष्ठभूमि, अध्ययनको बिधि, बिगतका अभ्यास र कागजपत्रको बिश्लेषण, निष्कर्ष र शिफारिस समेटिएका छन् । त्यस्तै अनुसूचीहरुमा स्थलगत अध्ययनका क्रममा स्थानीयसँग गरिएको छलफल भएका भनाइहरु समेटिएका छन् । अध्ययनमा सतह र भूमिगत पानीको अवस्था, लिचेड र यसले पानी तथा जमिनमा पु¥याएको असर, ल्याण्डफिल्ड साइट आसपास क्षेत्रमा गन्धको प्रभाव, ल्याण्डफिल्ड साइटबाट निष्कासन भएको ग्याँसको अवस्था, साइटबाट उत्पन्न हुने धुलनशील धुलोको कणको अवस्था र यिनीहरुले वातावरण तथा स्थानीय जनजीवनमा पारेको असर जस्ता बिषय समेटिएका थिए । यसका लागि लिचेड निष्कासन हुने १ ठाउँबाट लिचेडको, कोल्पु खोला १ ठाउँबाट भूमिगत र ४ ठाउँबाट सतही पानीको नमूना संकलन गरिएको थियो । त्यस्तै ल्याण्डफिल्ड साइटको ३ ठाउँबाट माटो, सिसडोलको २ वटा ठाउँबाट ग्याँस, ककनी गाउँपालिका वडा १ र २ का एक—एक वटा ठाउँबाट घुलनशील धुलोका कणका नमूना संकलन गरिएको थियो । त्यस्तै २४ ठाउँबाट गन्ध मापन गरिएको थियो ।

मापनका आधारमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी (तलेटार, ल्याण्डफिल्ड साइटको माथिल्लो भाग), सोति बालुवा, मंगटा टोल १ र २, पाँचमुरी टोल गरी पाँचवटा स्थान अति प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङ् जिल्लाको धुनिबेँसी नगरपालिकाअन्तर्गत सिंम्खडा गाउँ, तिलखोरिया, कोल्पु खोला १ र २ गरी ४ वटा ठाउँ र काठमाडौको तारकेश्वर नगरपालिकाअन्तर्गत खिलबुटा एक गरी जम्मा १० स्थानलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ ।

यसै गरी ककनीका ८ वटा र धुनिबेँसीका २ ठाउँ गरी १० ठाउँ प्रभावित क्षेत्र परेका छन् । जसमा ककनी गाउँपालिकाअन्तर्गतका भण्डारथुम्का, ढोका भञ्ज्याङ्, चाउथी ए र बि, कागती गाउँ, शिवालय माध्यमिक बिद्यालय, तल्लो सिउँडिनी १ र २ तथा धुनिबेँसी नगरपालिका अन्तर्गत पाठक गाउँ, डिगाउँ गरी २ वटा ठाउँ छन् ।

ककनी गाउँपालिकाकाको कागती गाउँ हेल्थ पोष्ट र सिउँडिनी ट््याङ्की डाँडा गरी २ ठाउँ कम प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङ्को धुनिबेँसी नगरतर्फ स्वना गाउँ र कटुञ्जे गाउँ गरी २ वटा ठाउँ कम प्रभावित ठाउँमा परेका छन् ।

अध्ययनका लागि नास्टका सचिव डा. महेशकुमार अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो । नास्टकै बरिष्ट बैज्ञानिक अधिकृत डा. भोजराज पन्त सदस्य सचिव रहनुभएको समितिको सदस्यमा नाष्टका बैज्ञानिक डा. दीपाश्री रावल र जयश्री सिजापति हुनुहुन्थ्यो भने वातावरणबिज्ञ ईञ्जिनियर सूर्यमान शाक्य र महानगरका इञ्जिनियर सरकारदीप श्रेष्ठ सदस्य हुनुहुन्थ्यो ।

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »
%d bloggers like this: