निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

चीनको ‘लङ्ग मार्च’ रूकुमेली मजदुरकाे पैदल यात्रा

पोखरा । तत्कालीन माओवादीले पहिलो हमला गरेर सशस्त्र युद्धको घोषणा गरेको स्थान गोरखाबाट रुकुमका ९ मजदुरले बाटो तताए । वैशाख ५ मा गोरखाको फिनामबाट माओवादीको तत्कालीन आधार इलाका रुकुमतर्फको हिँडाइमा दुई दिनपछि ‘ब्रेक’ लाग्यो । आइतबार साँझ पोखरा आइपुगेपछि उनीहरुलाई स्थानीयले रोके ।

यसअघि ३ समूहमा ३० भन्दा बढी मजदुर गोरखाबाट पोखरा, बागलुङ, रुकुम पूर्व हुँदै रुकुम पश्चिम पुगिसकेका थिए। पछिल्लोपल्ट ७ जना हिँडेर घर पुगेपछि गोरखाबाट बाँकी ९ मजदुरले हिँडेरै घर जाने निर्णय लिए। चीनको ‘लङ्ग मार्च’ सम्झाइदिने गरी देशैभर हिँडिरहेका मजदुरको ताँतीमा उनीहरु पनि मिसिए।

चिनियाँ क्रान्ति सम्पन्न गर्न माओ त्से तुङले सन् १९३४ अक्टोबर १६ देखि १९३५ अक्टोबर २० सम्म ‘लङ्ग मार्च’ अभियान चलाए। जापानी आक्रमणको प्रतिरोध गर्दै जनसेनालाई एकत्रित गरेर आधार इलाका येनानबाट अभियानको सुरु भएको थियो। माओका सेना हिँडेर १८ ठूला पहाड, २४ ठूला नदी, भञ्ज्याङ, पहरा छिचोल्दै ६ हजार माइल यात्रा गरे।

‘लङ्ग मार्च’ क्रान्ति जित्नलाई थियो, रुकुमेली मजदुरको हिँडाइ कोरोनाको सिर्जना गरेको भोकमरी जित्न। चिनियाँ लालसेनाले दुस्मनको आक्रमण सहेजस्तै उनीहरुले ठाउँ–ठाउँमा प्रहरीको अवरोध सहनुपर्‍यो। घरीघरी भीषण वर्षाले बाटो छेक्यो। उकाला, ओराला र भञ्ज्याङ काटे। पानी पर्दा बाटोमा भेटिने प्रतीक्षालयमा बसे। २–३ घण्टा आराम गर्थे। राति पनि निरन्तर हिँडिरहे। दिन रात हिँडेर उनीहरु दुई दिनमा पोखरा आइपुगेका थिए।

पोखरा–११ पुरानोधारामा आइपुग्दा स्थानीयले उनीहरुलाई सोधपूछ गरे। पहल केसी, रमेश केसी, प्रेम केसी, पवन केसी, नवराज बुढाथोकी, नवीन बस्नेत, सुरेन्द्र विष्ट, तिलक केसी र करण वुर्तालले हिँडेरै रुकुम पश्चिम जान लागेको बताए। चौरजहारी नगरपालिकाका उनीहरु सबै एकै गाउँका हुन्। स्थानीय प्रमिला तझ्याले पोखरा–९ का वडासचिव लोकदर्शन कोइरालासँग समन्वय गरिन्। कोइरालाले नयाँबजारको नवप्रभात माविको एउटा कोठामा मजदुरलाई राख्ने व्यवस्था मिलाए। वडाका स्थानीय, आमा समूह र केही युवाले रासन, ओड्ने, ओछयाउँने जोहो गरे।

वडासचिव कोइरालाले उनीहरुलाई रुकुम पठाउन गाडी ठिक्क पारे पनि जिल्ला प्रशासन कार्यालयबाट अनुमति नपाइएको बताए। गोरखाबाट हिँडेर आए पनि पोखराबाट गाडी चढ्ने आशमा ती मजदुर सोमबार यतै बसे। गाडीबाट जाँदा बुटवल, दाङ हुँदै जानुपर्छ। १७ देखि ३० वर्ष उमेरका उनीहरु गाडी नमिले हिँडेरै जाने सोचमा छन्। ‘हामीभन्दा अघि जानेहरु यहाँबाट ७ दिनमा पुगेछन्,’ १८ वर्षीय पहल केसीले भने, ‘दिन रात हिँडेर अलि छिट्टै पुग्न सकिन्छ भन्ने आश छ।’ यसअघि कहिल्यै नहिँडेकोले बाटो भने सोध्दै खोज्दै हिँड्नुपर्ने उनले बताए। उनीहरु गोरखाबाट पोखरा आउँदा पृथ्वी राजमार्गबाटै आए। पोखराबाट बागलुङ भूपी शेरचन राजमार्ग हुँदै जानुपर्छ। बागलुङ बजारबाट बुर्तिवाङ हुँदै रुकुम पूर्वको तकसेरा पुगिन्छ। ‘बाटो थाहा छैन। पहिलो हिँडेकालाई फोनमा सोध्दै जानुपर्छ,’ अर्का मजदुर प्रेम केसीले भने, ‘छोटो बाटो थाहा पाए छिट्टै पुगिन्थ्यो कि।’

उनीहरु ५ महिनाअघि गोरखा पुगेका थिए। गाउँका अन्य कामदारले गोरखामा राम्रो कमाइ हुने भनेपछि ९ जना सँगै गोरखा पुगे। भूकम्पले भत्काएका घर बनाएर सकिएकै थिएन, लकडाउन सुरु भयो। लकडाउन खुल्ने आशमा फिनाममै बसे। साथमा खर्च भएन। गोरखा नगरपालिकाले प्रतिव्यक्ति ५–५ किलो चामल दियो। त्यतिले पुगिञ्जेल बसे। फेरि राहत माग्दा वडाले वास्ता गरेन। ‘अलिअलि कमाएको पैसा घरतिर हालिहाल्यौं,’ प्रेमले भने, ‘खर्च सकियो। घरमै जाम, मरे पनि घरमै मरौंला भनेर हिँडियो।’

साथमा भएको १५ सय/दुई हजार रुपैयाँ लिएर उनीहरु हिँड्न सुरु गरेका थिए। चाउचाउ र चिउराको भरमा बाटो काटेको रमेश केसीले बताए। तनहुँको आबुखैरेनी आएपछि भने स्थानीय अभियान भट्टले निजी सवारीमा २० किलोमिटर वरसम्म छोडिदिए। चाउचाउ, बिस्कुट र काँक्रो पनि खुवाए।

वडा सचिव लोकदर्शन कोइराला अलपत्र मजदुरलाई राख्न कुनै समस्या नभएको बताउँछन्। खाद्यान्न, तरकारी, मासु, अण्डा सहयोग आउने क्रम बढेको उनले बताए। स्थानीय आमा समूह खाना बनाउन खटिएका छन्। ‘अलपत्र परेका मजदुरलाई आश्रयस्थलको रुपमा अहिले विद्यालय प्रयोग गरिएको छ,’ उनले भने, ‘उनीहरुलाई गन्तब्यसम्म पुर्‍याउँने। भोकै रहेका कोही छन् भने खुवाउने पनि हाम्रो अभियान छ।’

पोखरामा खान, बस्न पाउँदा ती मजदुर खुसी नै छन्। मन भने घरतिरै छ। ‘घरमा टन्नै खेतीपाती छ। पसलबाट किनेर खानुपर्दैन,’ मजदुर नवराज बुढाथोकीले भने, ‘सरकारले नदिए पनि भोकै परिन्नँ। बस्, यहाँबाट पुर्‍याउँने व्यवस्था गरिदिए हुन्थ्यो।’

#पत्रकार दिपक परियारले कान्तिपुर दैनिका लागि तयार पारेकाे समाचार साभार

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »