ओली र नेपालबीच वार्ता

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)को आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

ओली र नेपालबीच बुधबार साँझ भेट भएको हो । नेता नेपालनिकट स्रोतका अनुसार सचिव योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेटेपछि दुई नेताबीच आकस्मिक भेटवार्ता तय भएको हो ।

दुवै नेताबीच पार्टीभित्रको जारी विवादबारे छलफल भएको स्रोतले जानकारी दिएको छ । काठमाडौं नक्सालको होटल मेरियटमा ओली र नेपालबीच छलफल भएको हो ।

पौडेललगायतका दुवैतिरका केही युवा नेताहरुको विशेष पहलमा यो वार्ता संभव भएको हो। यसअघि युवा नेता योगेश भट्टराई बुधबार बालुवाटार पुगेर पार्टी एकता जोगाउन एमालेका अध्यक्ष तथा प्रधानमन्‍त्री केपी ओलीलाई आग्रह गरेका थिए।

ओलीले नेपालसहित २७ सांसदलाई स्पस्टीकरण सोधेर कारबाहीको चेतावनी दिएपछि पार्टी विवादले उत्कर्ष लिएको हो। मंगलबार बसेको एमाले महाधिवेशन आयोजक समिति बैठकले नेपालसहित २७ जना संघीय सांसद र कर्णाली प्रदेशका ५ जना सांसदलाई पार्टीले किन कारबाही नगर्ने भन्दै दुई दिने अल्टीमेटमसहित स्पष्टीकरण सोधेको थियो। माधवकुमार नेपाल समूहले यो स्पष्टीकरणलाई पार्टी विभाजनको प्रयास गरिएको निष्कर्ष निकाल्दै संभावित कदम रोक्नका लागि अदालतमा समेत निवदेन दिएका छन्।

सर्वोच्चको फागुन २३ को फैसलाअनुसार एमाले र माओवादी केन्द्र अलग अलग हैसियत कायम भएपछि एमालेभित्र फेरि आन्तरिक कलह चर्किएको हो। लामो संवादहिनता तोडिनु नै अर्थपूर्ण रहेको र यसले पार्टी एकताका पक्षमा सकारात्मक बल पुग्‍ने प्रतिक्रिया दुवैतर्फका नेताहरूले व्यक्त गरेका छन् ।

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »
%d bloggers like this: