नेपाली कांग्रेसमा नयाँ सदस्य थपेर महाधिवेशनमा पार्टी कब्जा गर्ने रणनीति

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन आउन धेरै दिन बाँकी छैन । महाधिवेशनको संघारमा नेपाली कांग्रेसले ८ लाख ५२ हजार क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ भने चार लाख ४३ हजार नयाँ सदस्य थपिएका छन् । नयाँ थपिएका सबै सदस्य पार्टीप्रति प्रतिबद्घ हुन् कि मतदाता भन्नेमा कांग्रेसभित्रै बहस चलिरहेको छ । १४ औं महाधिवेशनमा विदेशस्थित जनसम्पर्क समितिबाट समेत आउँदा कांग्रेसमा ९ लाखभन्दा बढी सदस्य हुने देखिएको छ ।

“पार्टी कब्जा गर्ने उद्देश्यले सदस्य बनाइएकाहरू धेरै छन् । यस्तो काम केन्द्रमा मात्रै होइन, वडा तहदेखि नै चलेको छ, यसले पार्टीभित्र द्वेष, झगडा र एकअर्काप्रति अश्विास बढाएको छ । कांग्रेसमा यो ठूलो चिन्ताको विषय हो ।” थपिएका धेरै सदस्य प्रतिबद्ध कार्यकर्ताभन्दा पनि आसन्न महाधिवेशनलाई लक्ष्य गरेर बनाइएका मतदाता रहेको सदस्यता छानबिन समितिका सदस्यत नेता श्याम घिमिरे बताउछन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा एक सातादेखि सदस्यताका लागि आमरण अनशन र धर्ना जारी छ । अनशन र धर्नामा बस्नेहरूले सदस्यता निष्पक्ष वितरण र छानबिन नभएको दाबी गरिरहेका छन् । नयाँ सदस्यता वितरणमा र अन्य राजनीतिक दलबाट प्रवेश गरेका कार्यकर्ताको समायोजनमा पारदर्शिता र निष्पक्षता नभएको प्रश्न संस्थापनइतर पक्षले उठाउँदै आएको छ । यस्तो प्रश्न हरेक महाधिवेशनको मुखमा उठ्ने गर्छ । नेता घिमिरे डेढ दशकयता आफ्नो पक्षमा बढी सदस्य बनाउने, आफू निर्वाचित हुने, त्यसैका आधारमा अन्य पद पनि प्रभावित पार्ने राजनीति विकास भएको बताउँछन् । “अहिले सदस्यताको विवाद र संख्या यसैको नतिजा हो,” उनले भने ।

कांग्रेसमा कुनै गुटको पक्षमा नलागिकनै स्वतन्त्र ढंगबाट सदस्यता लिन निकै कठिन छ । सदस्यता वितरण वडाको सिफारिसमा निर्वाचन क्षेत्रीय कार्यसमिति हुँदै जिल्लाले गर्छ । सुरुमा वडाको नेतृत्वले सदस्यता दिने क्रममा सिन्डिकेट खडा गर्छ । वडाबाट सिफारिस नभएसम्म क्षेत्र र जिल्लाले दिन सक्दैनन् । यो प्रक्रिया पूरा नगरेका झन्डै ९० वडाका नयाँ सदस्यतालाई छानबिन समितिले विवादित मानेर स्थगन गरेको छ ।

छानबिन समितिका अर्का सदस्य प्रदीप पौडेलका अनुसार कांग्रेसमा मूल समस्या नै महाधिवेशनको मुखमा सदस्यता वितरण गर्ने र अरू बेला खुला नगर्ने रोग बनेको छ । पार्टीले यस पटक १३ औं महाधिवेशनको तुलनामा शतप्रतिशत सदस्यता बढाउने नीति लिएको थियो । आफ्नो विरोधीलाई वडाको नेतृत्व तहबाटै बाटो छेक्ने प्रवृत्ति रहेकाले केन्द्रले शतप्रतिशत सदस्य बढाउनुपर्ने नीति बनाएको थियो । कतिपय जिल्लामा एक दिन भोट हाल्ने त हो भन्दै अन्य राजनीतिक दलका कार्यकर्तालाई समेत सदस्यता दिएको गुनासो केन्द्रमा आएको थियो । खासगरी प्रदेश २ मा यस्ता खालका समस्या रहेको छानबिन समितिले जनाएको छ ।

कांग्रेसमा दुई थरी सदस्यता छ । एउटा ‘नेपाली कांग्रेसको सदस्यता’ जसलाई साधारण सदस्यता भनिन्छ । यस्तो सदस्यता लिनेहरू पार्टीका मतदाता बन्न पाउँदैनन् । त्यसै कारण साधारण सदस्यताप्रति कांग्रेसमा कुनै मोह छैन । यो सदस्यता माग्न कोही पनि जाँदैन । मुख्य आकर्षण भनेकै क्रियाशील सदस्यता हो । क्रियाशील सदस्य महाधिवेशनका सुरु मतदाता हुन् । क्रियाशील सदस्यबाट क्षेत्रीय प्रतिनिधि छानिन्छन् र तिनै प्रतिनिधिबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुन्छन । त्यसैले क्रियाशील सदस्यता वितरण र नवीकरणका बेला केन्द्रीय नेतृत्वदेखि नै विवाद हुने गर्छ ।

नेता रमेश लेखक संयोजक रहेको सदस्यता छानबिन समितिले मंगलबार पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनअनुसार सबैभन्दा बढी सदस्य ४१–६० वर्ष उमेर समूहका छन् । पार्टीमा यो समूहका सदस्य ३ लाख २८ हजार २ सय ३४ छन् अर्थात् ३७.३० प्रतिशत छन् । यो समूहको प्रतिनिधित्व पार्टीमा तेस्रो र चौथो पुस्ताले गर्छ । पहिलो पुस्तामा रहेका कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल ७५ वर्ष कटिसकेका छन् । दोस्रो पुस्तामा रहेका नेताहरू पनि ६५–७० वर्ष उमेर समूहका छन् ।

छानबिन समितिका सदस्य पौडेलका अनुसार स्वस्फूर्तभन्दा पनि केन्द्रदेखि तल्लो तहसम्मकै नेतृत्वले आफ्नो स्वार्थलाई हेरेर सदस्यता बनाएकाले उमेर समूहको प्रतिनिधित्वका आधारमा केन्द्रीय नेतृत्व चयन हुने सम्भावना कम छ । आगामी नेतृत्वका लागि दाबी गरिरहेका देउवा र पौडेलका उमेरका मतदाता १.३३ प्रतिशत अर्थात् ११ हजार ७ सय ८२ जना मात्रै छ । ६१–७५ वर्ष उमेर समूहका सदस्य ९ प्रतिशत छन् । केन्द्रदेखि तलसम्मको सदस्यता वितरण देउवा र पौडेल समूहकै कित्ताबाट बढी भएका छन् । ‘पार्टीको सदस्यता खुला भएको भए पार्टीमा यतिबेला युवाले नेतृत्व लिइरहेका हुन्थे । पार्टीका परम्परागत गुटका नेताहरूले नै आफू हुने र अरू कसैलाई बनाउन सदस्यता दिने गरेकाले अहिले सार्वजनिक गरिएको सदस्यताको उमेर समूहका आधारमा मात्रै नेतृत्व परिवर्तन गर्न सजिलो हुँदैन,’ पौडेलले भने, “अहिले नयाँ बनेका २५ प्रतिशत सदस्यले मात्रै तटस्थ भएर विवेक प्रयोग गरे भने हामीले चाहेको पुस्तान्तरणको मुद्दामा बल पुग्छ ।”

एक दशकअघिसम्म कांग्रेसमा सदस्यताका लागि यस्तो होड थिएन । घिमिरेका अनुसार त्यतिबेला पार्टी कब्जा गरेर अन्य पद हत्याउने प्रतिस्पर्धा केन्द्र र स्थानीय निकायसम्म पनि थिएन । सदस्यता वितरणमा युवा कम प्राथमिकतामा पर्थे । २०६२र६३ को राजनीतिक परिवर्तनपछि कांग्रेसमा युवा सदस्यको संख्या बढेको हो । एक दशक लामो सशस्त्र विद्रोहका क्रममा देशभर कांग्रेसका कार्यकर्ता निसानामा परेका थिए । जसको भय र त्रासले सदस्यता लिने संख्या निकै कम थियो । कांग्रेसमा लागेका हजारौं युवा विदेश पलायन भएका थिए । अहिले विदेशमा जनसम्पर्क समितिका माध्यमबाट उनीहरू पार्टीमा जोडिएका छन् । जनसम्पर्क समितिबाट मात्रै ५५ हजारभन्दा बढी क्रियाशील सदस्य थपिने अनुमान पार्टीको छ । माओवादी राजनीतिको मूलधारमा प्रवेश गरेपछि युवा बाहुल्य भएको पार्टी बनेको थियो । एमालेमा पनि युवाकै वर्चस्व थियो । त्यसको प्रभाव कांग्रेसमा पनि विस्तारै पर्दै गयो । यस पटक कांग्रेसको क्रियाशील सदस्यता लिने १६–२५ वर्ष उमेर समूहका ४० हजार ४ सय २७ जना अर्थात् ४।५९ प्रतिशत छन् ।

घिमिरे नियमित रूपमा सदस्यता वितरण गर्न सके मात्रै पार्टीमा प्रतिबद्ध कति सदस्य छन् भन्ने थाहा हुने बताउँछन् । कांग्रेसको विधानमा नियमित रूपमा पार्टीको सदस्यता वितरण गर्ने व्यवस्था छ । महाधिवेशनको ६ महिनाअघि सदस्यता वितरण गर्न नपाइने भनिएको छ । तर, विधानको उक्त दफा निलम्बन गरेर महाधिवेशन आउन ६ महिना बाँकी छँदा मात्रै सदस्यता दिने प्रचलन छ । ‘कि त विधानको व्यवस्थालाई पूर्ण पालना गर्नुपर्छ, नत्र मतदाता र सदस्यता छुट्याउनुपर्छ,’ घिमिरेले भने, ‘सदस्यता प्रणालीमा हामीले परिवर्तन गर्न सकेनौँ भने वडाको सिन्डिकेट पार गरेर प्रतिबद्ध र स्वतन्त्र मान्छेलाई सदस्यता बनेर आउन कठिन छ । अर्कोतर्फ खोजीखोजी सदस्यता बनाउने गरिन्छ ।’

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »
%d bloggers like this: