कोभिडका कारण ज्यान गुमाएका परिवारले आर्थिक सहयोग पाउने

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले कोभिड–१९ बाट मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई नगद सहयोग प्रदान गरेको छ । नगरपालिकाले शुक्रवार सहयोग रकम वितरण कार्यक्रम आयोजना गरी प्रतिमृतक परिवार ५० हजार रुपैयाँका दरले १८ जनाको परिवारलाई नगद रकम सहयोग प्रदान गरेको हो । नगरपालिका स्वास्थ्य शाखाका अधिकृत दीपक घिमिरेले नगरपालिकाभित्रका कोभिड–१९ संक्रमणका कारण उपचारको क्रममा मृत्यु भएकाको परिवारलाई सो रकम वितरण गरेको बताए ।

कोभिड–१९ बाट संक्रमित भई जिल्लाभित्रैका अस्पताल तथा जिल्ला बाहिरका अस्पतालमा उपचारको क्रममा पहिलो लहरमा संक्रमण भएर मृत्यु भएका ४ र दोस्रो लहरको संक्रमणमा परी मृत्यु भएका २२ गरी २६ जना नगरभित्रका वासिन्दाको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ । जसमध्ये १८ जनाको परिवारलाई सहयोग रकम वितरण गरेको र वितरण गर्न बाँकीलाई पनि नाता प्रमाणित र वडा कार्यालयको सिफारिससहित आवश्यक कागजात पुर्‍याएर सम्पर्कमा आउनेलाई छिट्टै रकम वितरण गर्ने जनाइएको छ ।

नगरपालिका प्रमुख टोकबहादुर वाइबाले कोभिड–१९ संक्रमणको कारण मृत्यु भएकाको परिवारलाई नगरपालिकाको तर्फबाट सान्त्वनास्वरूप नगद सहयोग प्रदान गरेको बताए । ‘संक्रमणमा परेकालाई बचाउन हरतरहले उपचारको लागि सहयोग गर्दा पनि बचाउन नसकेपछि मृत्यु भएकाको परिवारमा विचल्लीमा रहेकालाई सान्त्वनास्वरूप सहयोग गरेका हौं,’ नगर प्रमुख वाइबाले भने, ‘विपद् र समस्यामा नगरबासीको साथमा सधैंभरि नगरपालिका रहेको छ भन्ने उदारहणको लागि पनि यो सहयोग रकम प्रदान गरेका हौं ।’

नगरपालिकाको नवौं नगर सभाले नै पारित गरेको निर्णयअनुसार शुक्रवार मृतक परिवारलाई रकम सहयोग वितरण गरेको प्रमुख वाइबाले बताए । संक्रमण भएर भेन्टिलेटरमा उपचार गराएका विपन्न बिरामीलाई पनि २५ हजारका दरले रकम सहयोग गर्ने भएको वाइबाले बताए ।

+ posts
Language »
%d bloggers like this: