बेमौसमी वर्षाको कारण धानबाली खेतमै,शारदा ब्यारेजमा आवागमनमा रोक

काठमाडौँ। आइतबारदेखि भइरहेको लगातारको वर्षापछि महाकाली नदीमा पानीले खतराको सतह नाघेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले नदीमा पानीले खतराको सतह नाघेको जानकारी दिए ।

मंगलबार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर तीन लाख ९१ ह्जार क्युसेक पुगेको डीएसपी न्यौपानेले बताए ।

नदीमा पानीले खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमनमा रोक लगाइएको छ । अहिले शारदा ब्यारेजमा सवारीसाधन र मानिसको आवागमनलाई पूर्ण रुपमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

महाकाली नदी तटीय क्षेत्रमा पस्दा धेरै परिवार प्रभावित भएको बताउँदै डीएसपी न्यौपानेले तथ्यांक संकलन तथा उद्दारको काम भइरहेको जानकारी दिए । सुदूरपश्चिमका पहाडी जिल्ला र तराईमा आइतबार रातिदेखि लगातार वर्षा भइरहेको छ ।

बेमौसमी वर्षाको कारण धानबाली खेतमै


काठमाडौँ
। अन्न भण्डार मानिने तराईका जिल्लामा दुई दिनयताको अविरल बेमौसमी झरीले धान बाली खेतमै डुबाएको छ । दसैं सकिएसँगै धान भित्र्याउन खेतमा पसेका किसान बेमौसमी वर्षाले समस्यामा परेका छन् । पहाडी जिल्लाका सिँचाइ हुने खेत र तराईका फाँटमा धान पाक्न सुरु भएको छ । आइतबारदेखिको निरन्तर वर्षाले खेतमा बाला झुलेर काट्न तयार भएका धानका बोट लडेर पानीमा डुबेका छन् । काटेर भित्र्याउन ठिक्क पारेको धान खेतमै डुबेको छ ।


बेलामा मल, बीउ र सिँचाइको असुविधाका बीच यो वर्ष बर्खामा नियमितजसो वर्षा भएकाले उत्पादन बढ्ने आसमा रहेका किसानलाई बीउ नै मासिने चिन्ता बढेको छ । बर्खामा डुबान र कटानको समस्या झेल्दै आएका किसानलाई बेमौसमी वर्षाले धान खेतीको लगानी समेत नउठ्ने चिन्ता थपेको छ ।

बेमौसमी वर्षाका कारण लुम्बिनी प्रदेशका सबैजसो जिल्लामा धान बालीमा क्षति पुगेको छ । रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवार, सियारी, शुद्धोधन, सम्मरीमाई, कोटहीमाईलगायत क्षेत्रका धेरै किसानले खेतमा धान ढलाएका थिए । तर आइतबारदेखिको वर्षाले भित्र्याउन पाएनन् । ‘खेतमा धान पूरै पाकेको थियो,’ मर्चवारीका किसान रामअवतार यादवले भने, ‘शनिबार र आइतबार काटेको पूरै धान पानीमा डुबेको छ ।’ पानीमा डुबेको धानबाट चामल राम्रो नहुने उनको गुनासो छ ।

पसाउँदै गरेको धान पानीले ढलेको शुद्धोधन गाउँपालिका–७ का किसान नारदमुनि यादवले बताए । पसाउने बेलामा ढलेको धानमा बाला लाग्दैन । ‘एक बिघा खेतको धान ढलेको छ,’ उनले भने, ‘अब पानीले खेत हिलो भएकाले मेसिन लगाएर काट्न मिल्दैन, मान्छेले काट्दा लागत पनि बढ्छ ।’ मेसिन लगाउन नपाएपछि धान उत्पादनको लागत साढे दुई गुणासम्म बढ्ने उनको भनाइ छ ।

रूपन्देहीमा गोरखनाथ, राधा–४, सर्जु–५२ जातको धान धेरै उत्पादन हुन्छ । यी छिटो पाक्ने जातका धान हुन् । त्यही पाकेको अधिकांश धान खेतमै डुबेको छ । रूपन्देहीसमेत कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका प्रमुख सन्देश धितालले दुवै जिल्लामा पाक्न थालेको धानमा भइरहेको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए । रूपन्देहीको ८२ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये यस वर्ष ६९ हजार हेक्टर क्षेत्रफलमा धान खेती लगाइएको छ । समयमै पानी परेको र मल पनि पर्याप्त भएकाले अहिले धान धेरै फलेको तर भित्र्याउने बेलामा नोक्सान भएको ओमसतिया गाउँपालिका–५ का किसान राजेन्द्र चौधरीले बताए ।

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »
%d bloggers like this: