लगातारको खराव प्रदर्शनसँगै बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त

लगातारको खराव प्रदर्शनसँगै क्याटलान क्लब बार्सिलोनाले आफ्ना मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ । बुधबार राति स्पेनिस ला लिगामा रायो भायोकानोसँग १–० ले पराजित भएपछि बार्सिलोनाले कोम्यानलाई बर्खास्त गरेका हुन् ।कोम्यान बार्सिलोनामा आएको १४ महिनामा नै बर्खास्तीमा परेका हुन् । कोम्यान सन् २०२० को अगस्टमा क्लबको मुख्य प्रशिक्षक बनेका थिए ।ला लिगामा यो सिजन लिगमा १० खेलपछि बार्सिलोनाले १५ अंक बटुलेर नवौं स्थानमा रहेको छ । बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिड, सेभिया, रियल बेटिस र रियल सोसिडाडसँग ६ अंकले पछि परेको छ ।

च्याम्पियन्स लिगमा पनि बार्सिलोनाले तीन खेल खेल्दा दुई खेलमा हार बेहोरिसकेको छ ।गत आइतबार मात्र ‘एल क्लासिको’ मा रियल म्याड्रिडसँग घरेलु मैदानमै २–१ को हार बेहोरेको थियो । बार्सिलोनाको पछिल्लो चार खेलमा यो तेस्रो हार हो । बार्सिलोनाले सन् १९८७ पछि घरेलु मैदानबाहिर तीन खेलमा कुनै गोल नगरी भालेकानोसँग हार बेहोरेको छ ।बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा क्लबका अध्यक्ष जोआन लापोर्टाले निर्णयबारे कोम्यानलाई जानकारी गराइसकेको र बिहीबार उनले टोलीलाई गुडबाई भन्ने उल्लेख गरिएको छ । कोम्यानको प्रशिक्षणमा बार्सिलोनाले ६७ खेल खेल्दा ३९ जित, १२ र बराबरीको नतिजा र १६ खेलमा हार बेहोरेको छ ।बुधबारको हारपछि कोम्यानले क्लब सही अवस्थामा नरहेको बताएका थिए । ‘हामीले टोलीको सन्तुलन गुमाएका छौँ । हामीले प्रभावकारी खेलाडी गुमायौँ ।’ उनले भने ।कोम्यानको बर्खास्तीपछि उनको स्थानमा क्लबका पूर्व खेलाडी जाभी हर्नान्डेज बार्सिलोना आउने चर्चा सुरु भएको छ । जाभी कतारी क्लब अल सादको प्रशिक्षक रहेका छन् । उनको प्रशिक्षणमा अल सादले ३४ खेलसम्म अपराजित रहँदै कतारी लिगमा कीर्तिमान बनाएको छ ।

कोम्यानले आफ्नो पहिलो सिजनमा बार्सिलोनालाई कोपा डेल रेको उपाधि दिलाएपनि ला लिगामा सन् २००८ यताकै कम अंक बटुल्दा रियल र एथ्लेटिको म्याड्रिडभन्दा पछि परेको थियो ।नेदरल्याण्ड्सका कोम्यानले खेलाडीको रुपमा सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनामा बिताएका थिए । यसक्रममा उनले ४ वटा लिग उपाधिसँगै सन् १९९२ को युरोपियन कपको उपाधि जितेका थिए ।

+ posts
Language »
%d bloggers like this: