वडा अध्यक्षहरुले मेयरको घर अगाडि फोहोर फ्याँकेर विरोध गरे

सहरको फोहोर व्यवस्थापनमा मेयरले बेवास्ता गरेको भन्दै जनकपुर उपमहानगरपालिकास्थित तीनवटा वडाका वडाध्यक्षले मेयरको निवास अगाडि नै फोहोर फ्याँकेर विरोध जनाएका छन् ।

वडा नं ३ का अध्यक्ष जानकी रमण साह, वडा नं ४ का अध्यक्ष सुदर्शन सिंह र वडा नं ७ का अध्यक्ष दीपेन्द्र साहले आइतबार दिउँसो मेयर लालकिशोर साहको निवास अगाडि नै फोहोर फ्याँकेर विरोध जनाएका हुन् । केही दिनदेखि नै सहरमा थुप्रिरहेको फोहोर व्यवस्थापन नहुँदा स्थानीयले गुनासो गर्दैआएका थिए ।

तर मेयरले स्थानीयको गुनासो बेवास्ता गरेको भन्दै तीन वडाका अध्यक्षहरूले आफैं ट्याक्टरमा फोहोर ल्याई मेयरको निवास कलवार कुटी नजिकै लगेर फ्याँकिदिएका हुन् ।

जनकपुरमा तिहारका लागि घर र पसल सरसफाइ गरेपछि निस्किएको फोहोर केही दिनदेखि नै सडकमा असरल्ल हुँदा सहर नै दुर्गन्धित बनेको थियो । समयमै फोहोर व्यवस्थापन नहुँदा जनकपुरका हरेक टोल र चोकमा यतिबेला फोहोरको डंगुर छन् ।

‘फोहोर व्यवस्थापन गर्न धेरैपटक मेयरलाई भन्यौं । तर उहाँले वास्ता नै गर्नुभएन,’ ३ नं वडाका अध्यक्ष जानकी रमण साहले भने,‘हामी बाध्य भएर मेयरको निवासै अगाडि फोहोर फ्याँकेका हौँ ।’

वडाध्यक्षहरूले फोहोर व्यवस्थापनका लागि ट्याक्टर र सफाइकर्मी माग गरे पनि मेयरले उपलब्ध नगराउँदा उनीहरू थप आक्रोशित बनेका थिए । एक ट्याक्टर फोहोर मेयर साहको निवास अगाडि फ्याँकिदिएपछि वडाध्यक्षहरूलाई सुरक्षाकर्मीले रोक लगाएका थियो ।

हाल प्रमुख प्रशासकीय अधिकृत विनोद खड्काले वडाअध्यक्षहरूलाई भेट गरी अबको केही घण्टामै उपमहानगरले सहरमा थुप्रिएको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् । मेयर साहले भने यसबारेमा केही प्रतिक्रिया दिएका छैनन् । साथै उनले वडाध्यक्षहरूसँग संवादका लागि प्रमुख प्रशासकीय अधिकृत खड्कालाई खटाएका छन् ।

+ posts
Language »
%d bloggers like this: