निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

अध्यक्ष केपी शर्मा ओलीले लिए शपथ,

काठमाडौँ । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशानमा निर्वाचित भएका अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गरेका छन्। सौराहामा आयोजित बन्दसत्रमा उनलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले सपथ खुवाएका हुन्।

नवनिर्वाचित अध्यक्ष ओलीले सपथ खाएलगत्तै निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई सपथ खुवाएका थिए। सपथ खाएसँगै एमालेको दसौं राष्ट्रिय महाधिवेशन सकिएको छ। चितवनको सौराहामा आयोजित महाधिवेशनले १७ बुँदे घोषणापत्र समेत जारी गरेको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई आन्तरिक र बाह्य हमला भइरहेको जिकिर गरेका छन् । १०औं महाधिवेशनको क्रममा विरोधीहरूले पार्टीका नेताहरूलाई उक्साएको र भड्काउन खोजे पनि सफल हुन नसकेको उनले बताए ।

विरोधीहरूले भड्काइरहेका थिए, उक्साइरहेका थिए । शान्त र एकताबद्ध माहोल भएपछि यस्ता हुतिहाराहरू भन्दै उक्साउँदै थिए । तर हाम्रो कार्यकर्ता पंक्ति हल्का फुल्का गैरजिम्मेवार रुपमा चल्दैन,ु उनले भने । तर, कार्यकर्ता पंक्तिले इमान्दारिता देखाएको भन्दै त्यसको प्रशंसा गरे ।साथै, पार्टीलाई जोगाउँदै अझ बलियो बनाएर जनतासँग एकीकृत बनाउनुपर्ने उनले बताए । अध्यक्ष ओलीले मंगलबार महाधिवेशन समापन समारोहको क्रममा शपथ ग्रहणपछि यस्तो बताएका हुन् ।

उनले अबको ३ महिनासम्म पार्टी प्रवेश अभियान चलाउने बताएका छन् । पार्टी एकीकरणको अभियान सञ्चालन गर्ने उनको भनाइ थियो । विभिन्न पार्टीबाट कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने अभियान नै चलाउने उनले बताए ।

महाधिवेशन सफलतापूर्वक समापन गराएकोमा स्यवंसेवक, कार्यकर्तासहित सहयोगी र सहभागी सबैलाई उनले धन्यवाद दिएका थिए । अध्यक्ष ओलीले आगामी मंसिर २५ गते नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बस्ने पनि जानकारी दिएका छन् ।

नेकपा एमालेको १०औं महाधिवेशन ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै चितवनको सौराहामा मंगलबार राति औपचारिक रुपमा सम्पन्न भएको छ । साथै, महाधिवेशनले १९ सदस्यीय पदाधिकारी चयन गरेको छ।

नेकपा (एमाले)को पदाधिकारी र केन्द्रीय समिति समावेशी भएको छ । पदाधिकारीमा महिलाको संख्या बढेको छ भने दलित र मधेसीको पनि उपस्थिति भएको छ ।

एमालेको दसौं महाधिवेशनबाट पदाधिकारीमा २ महिला, १ दलित र १ मधेसी समुदायका नेताहरूको उपस्थिति भएको छ । मंगलबार सकिएको निर्वाचन परिणामले केन्द्रीय कमिटी र पदाधिकारीमा समावेशीता बढेको देखाएको हो ।

एमालेको पदाधिकारीमा २ महिला विजयी भएका छन् । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा पद्मा अर्याल निर्वाचित भएका हुन् । त्यस्तै, दलित समुदायका छविलाल विश्वकर्मा र मधेसी समुदायका रघुवीर महासेठ निर्वाचित भएका छन् ।

३०१ सदस्यीय केन्द्रीय कमिटीमा पनि ३३ प्रतिशत महिलाको उपस्थिति सुनिश्चित भएको छ । उनीहरू अधिकांश निर्विरोध निर्वाचित भएका थिए भने केही निर्वाचनमार्फत केन्द्रीय कमिटीमा पुगेका हुन् ।

नवौं महाधिवेशनबाट २ जना महिला निर्वाचित भएका थिए । विद्यादेवी भण्डारी र अष्टलक्ष्मी शाक्य नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । भण्डारी राष्ट्रपति भएकी थिइन् । त्यतिबेला पदाधिकारीमा दलित र मधेसी समुदायको भने उपस्थिति थिएन ।

नवौं महाधिवेशनबाट एमालेको केन्द्रीय कमिटीमा ३० जनामात्रै महिलाको उपस्थिति थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »