निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालकाे विभिन्न स्थानमा हिमपात

काठमाडौँ । देशका उच्च पहाडी र हिमाली भेगमा मंगलबार रातिदेखि हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै देशका उच्च हिमाली र हिमाली भेगमा हिउँ परेको हो । हिमपात नहुँदा आफ्नो खेतबारीमा लगाएको हिउँदे बाली जौँ, गहुँ नाफल उवाको उत्पादन कम हुने चिन्तामा परेका स्थानीयबासी भने खुसी भएका छन्। भारी हिमपातले हिउँदे बालीको उत्पादन राम्रो हुने कृषकको भनाई छ। कृषकहरुले पशु चौपायालाई गोठ भित्रै थुन्नु परेको छ।

काठमाडौं उपत्यका आसपासका चन्द्रागिरिलगायतका डाँडामा पनि हिउँ परेको हो । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ । ठाउँठाउँमा सडक अवरुद्ध समेत भएका हुँदा स्थानीय तथा यात्रुहरु मर्कामा परेका हुन् । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको तापक्रम न्यूनतम तीन दशमलव ६ र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस छ ।

मुगुमा मंगलबार राति १२ बजेबाट परेको हिमपातले जनजीवन कष्टकर बनेको छ। भारी हिमपातले उच्च हिमाली बस्तीका बासिन्दाको जनजीवन कष्टकर बनेको हो।

सबैभन्दा बढी मुगुम कार्मारोङ गाँउपालिका, खत्याड, र रारा क्षेत्रका साथै रारा विमानस्थलमा बाक्लो हिमपात भएको छ। हिमपातले सडक र हवाई यातायात अवरुद्ध भएको छ। लगातारको हिमपातले हवाई यातायातसमेत अवरुद्ध हुँदा ताल्चा विमानस्थलबाट नेपालगन्ज जाने यात्रुहरु ताल्चा विमानस्थलका होटलहरुमा खचाखच भएको सिता एयरका शिवराज भामले जानकारी दिए।

हिमपातले जुम्ला—मुगु सिमाना पर्ने खुच्चिले अवरुद्ध हुँदा यातायातका साधन बीचमै रोकिएका छन्। हिमपातले हालसम्म कुनै मानवीय क्षतिको जानकारी भने नआएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता जनकबहादुर धामीले जानकारी दिए।

भर्खरै

सम्बन्धित खबर

Language »