निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

युक्रेनमा रक्तपात, त्यहाँ रहेका नेपालीहरू समस्यामा

काठमाडौँ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि ज्यान जोगाउन राजधानी किभ छाडेका सयौं नेपाली बाटामा भोकै पर्न थालेका छन् । सवारीसाधन नपाएपछि उनीहरू विभिन्न समूहमा पैदलै युक्रेनका छिमेकी मुलुक पोल्यान्ड, स्लोभाकिया र हंगेरीको सीमातर्फ लागिरहेका छन् ।

रुसले सैन्य आक्रमण तीव्र बनाएपछि ज्यान जोगाउन युक्रेनबाट पैदल छिमेकी मुलुक स्लोभाकिया प्रवेश गर्दै महिला र बालबालिका । रुसी आक्रमण सुरु भएको तीन दिनमा करिब सवा लाखले युक्रेन छाडिसकेका छन् । तस्बिर स् पिटर लजररएएफपी

कान्तिपुर पत्रिकामा गुनासाे पाेखेका नेपालीका अनुसार, त्यसरी हिँड्नेमध्ये केही पोल्यान्ड, स्लोभाकिया र हंगेरीको सीमाबाट नजिकैको सहर लभिभ आसपास पुगेका छन् । केही भने राजधानी किभमै भौंतारिइरहेका छन् । किभ छाड्ने नेपालीमध्ये धेरैजसो ५ सय ५२ किलोमिटर टाढा लभिभ ताकेर हिँडिरहेका छन् । लभिभबाट धेरैजसो पोल्यान्डको सीमातर्फ लागेका छन् ।

शुक्रबार बिहान ६ बजे किभ छाडेकी मकवानपुरकी ठूलीमाया लामाले बाटामा भोकभोकै स्लोभाकियाको सीमातर्फ गइरहेको सुनाइन् । ‘हिजो आधी बाटो गाडीमा आयौं, त्यसपछि जाम भएर अगाडि बढ्न सकिएन, एउटा बस स्टेसनमा आराम गर्‍यौं,’ लामाले शनिबार मध्याह्न फोनमा भनिन्, ‘शुक्रबार राति १ बजेदेखि हिँडिरहेका छौं । पाँच घण्टामा २७ किलोमिटर हिँड्यौं । खुट्टा एकदमै दुखिरहेको छ । आफ्नो लगेज घिसार्दै हिँड्न गाह्रो भइरहेको छ । कति हिँड्नुपर्ने हो, थाहा छैन ।’

लामा साढे दुई महिनाअघि युक्रेन पुगेकी हुन् । उनको टोलीमा सात जना छन् । बाटामा अरूले दिएको कफीको भरमा हिँडिरहेको उनले बताइन् । ‘बिहान १४ किलोमिटर हिँडेपछि कफी र पानी बाँडिरहेको ठाउँमा पुग्यौं । त्यहाँ एक गिलास कफी पिउन पायौं, त्यसपछि केही खाएकी छैन,’ उनले भनिन्, ‘आफ्नो ज्यान बचाएर भाग्न धेरै कठिन हुँदो रहेछ ।’

दैलेखका मानबहादुर रावतले भने १८ सय किलोमिटर दूरी पार गरेर लभिभ पुगेको बताए । उनको टोलीमा २४ जना नेपाली छन् । त्यसमध्ये ८ जना महिला छन् । ‘पोल्यान्डको बोर्डरसम्म पुग्न हामीले २२ सय किलोमिटर पार गर्नुपर्छ । कतै ट्याक्सी चढ्यौं, कतै बस । किभबाट लभिभसम्म भने ट्रेनमा आयौं, अहिले बसमा बसिरहेका छौं,’ उनले शनिबार साँझ कान्तिपुरकर्मीसँग भनेकाे थियाे, ‘भाडा एकदमै महँगो छ । अहिलेसम्म चार सय डलर सकिइसकेको छ । पोल्यान्डको बोर्डर पार गरेपछि मात्रै बाँचिन्छ भन्ने लाग्छ ।’

रावतका अनुसार उनीहरूले खाना नखाएको तीन दिन भयो । ‘हामीलाई सबैभन्दा पहिला गन्तव्य पुगौं भन्ने लागिरहेको छ, भाडालाई कति पैसा चाहिन्छ भन्ने थाहा छैन, खानेकुरा नकिनेर पैसा बचाएका छौं,’ उनले भने, ‘खानेतिर अलमलिन थाल्यो भने ट्रेन–बस छुट्छ । ट्रेनले ५ मिनेट मात्रै रोकिदिन्छ । ट्रेनभित्र छिर्नै मुस्किल पर्छ । बसले पेट्रोल पम्पमा मात्रै रोकिदिन्छ । पेट्रोल पम्पमा ओर्लिएर खाना खाने समय हुन्न ।’

रावत युक्रेन पुगेको धेरै भएको छैन । उनी ६ वर्ष कतारमा काम गरेर स्वदेश फर्किएका थिए । ‘युक्रेनमा राम्रो हुन्छ भनेर आएँ, काम सुरु गरेको तीन महिना मात्रै भएको थियो,’ उनले भने, ‘युक्रेन आउन झन्डै ८ लाख रुपैयाँ खर्च भयो । त्यसको ब्याज मात्रै तिरिरहेका छौं । यो द्वन्द्वले निकै ठूलो तनाव थपिदियो ।’

उनीसँग सम्पर्क भएकामध्ये केही नेपाली पोल्यान्डको सीमातर्फ पुगिसकेका छन् । ‘हिजो राति १२ बजेदेखि लाममा बसेका साथीहरू शनिबार साँझसम्म छिर्न दिएको छैन भनिरहेका छन्, सीमामा धेरै भीड छ रे,’ उनले भने, ‘उनीहरूको कुरा सुन्दा त सीमा पार गर्नै नपाइने हो कि भनेर चिन्ता लागिरहेको छ ।’

किभस्थित युरोपियन युनिभर्सिटीमा अध्ययनरत १८ नेपाली विद्यार्थीको अर्को समूहका १५ जना लभिभ हुँदै पोल्यान्डको सीमातर्फ हिँडिरहेको निशा कुँवरले बताइन् । ‘लभिभबाट हिँडेको चार घण्टा भयो, बाटामा हिँड्नेहरू धेरै छन्, ट्राफिक जामले सवारीसाधन चलेका छैनन्,’ उनले सुनाइन्, ‘कोठाबाट निस्किएको तीन दिन भयो । अहिलेसम्म जंक फुडबाटै जीवन धानिरहेका छौं । मौसम एकदमै चिसो छ । माइनस ६ डिग्री होला । जंगलको बाटो छ । नाम थाहा छैन । चार घण्टा हिँड्दा पनि कतै घर भेटिएको छैन । एकदमै गाह्रो भइरहेको छ ।’ उनले स्वदेश फर्काउन उचित व्यवस्था नगरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरिन् । ‘सबैले बोर्डरतर्फ जा भनिरहेका छन् । बोर्डर पुग्न भनेजस्तो सजिलो छैन । त्यहाँ गएर के हुने हो, त्यो पनि थाहा छैन,’ उनले भनिन् ।

पोल्यान्डस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष जीवन केसीले पोल्यान्ड सरकारले तीनवटा नाकाबाट प्रवेश दिइरहेको बताए । ‘लुभ्लिङ, मेडिका र कार्केभेट बोर्डरबाट छिर्न दिइएको छ, सबैभन्दा बढी नेपाली कार्केभेटतर्फ आइरहेका छन्,’ उनले भने, ‘शुक्रबार बेलुका ५ बजेदेखि नेपाली पनि बोर्डरमा आइपुगेका छन् । प्रहरीले महिलालाई प्राथमिकता दिइरहेको छ ।’

केसीले शुक्रबार र शनिबार गरी झन्डै ३० जना नेपाली पोल्यान्ड छिरिसकेको बताए । ‘कागजात देखाएपछि ९० दिनको आवासीय अनुमति दिएको छ,’ उनले भने, ‘कसैको बस्ने ठाउँ छ, आफन्त छन् भने जुनसुकै सहरमा पनि जान दिने नीति सरकारले लिएको छ । कोही छैन भने सरकारले दिएको क्याम्पमा बस्नुपर्छ । पासपोर्टलगायतका ट्राभल डकुमेन्ट सुरक्षित राख्नुपर्छ । आधिकारिक कागजात नहुँदा भने समस्या पर्न सक्छ ।’

स्लोभाकियामा बस्दै आएका जयप्रकाश श्रेष्ठले स्लोभाकियाको सीमामा आइपुगेकालाई अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) र रेडक्रसले उद्धार गरिरहेको बताए । ‘तीन जनाले स्लोभाकियामा प्रवेश पाइसकेका छन्, जसमा दुई जना विद्यार्थी छन्,’ जर्मनीस्थित नेपाली दूतावाससँग समन्वय गरिरहेका श्रेष्ठले भने, ‘४, ७ र १५ जनाको समूह सीमातर्फ आइरहेको जानकारी पाएका छौं ।’ युक्रेनको अर्को छिमेकी मुलुक हंगेरीमा काम गर्दै आएका सुरेन्द्र श्रेष्ठले दुई जना नेपाली हंगेरीतर्फ अघि बढिरहेको जानकारी दिए ।

(कान्तिपुर पत्रिकाले तयार पारेकाे याे रिर्पाेटलाइ हामीले जस्ताकाे तस्तै साभार गरेका छाै । )

युक्रेनमा रूसद्वारा रक्तपात

अमेरिकालगायत शक्ति राष्ट्रले युक्रेनमा रूसको सम्भावित आक्रमणप्रति खबरदारी गरे। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने त्यसलाई अस्वीकार गरिरहे। तर, अन्ततः रूसले युक्रेनमा आक्रमण गरिछाड्यो। उसले राजधानी किभमै छिरेर शनिबार विध्वंश मच्चाएको छ। युक्रेनका उत्तर, पूर्व र दक्षिणी सीमापारि सेना पठाउँदै रूसले शान्ति सम्झौता भंग मात्रै गरेन रक्तपात मच्चाएको छ।

भिडन्तमा शनिबारसम्म १ सय ९८ युक्रेनी मारिएको युक्रेनका स्वास्थ्यमन्त्री भिक्टर ल्यास्कोले पुष्टि गरेका छन्। मृतकमध्ये तीन बालबालिका छन्। ‘रूसले शन्ति भंग गर्‍यो। हाम्रा नागरिक युद्धको आगोमा परेका छन्’, मन्त्री ल्यास्काले भने, ‘यो क्रियाकलापले युक्रेनलाई मात्रै होइन, महादेशको सम्पूर्ण सुरक्षा संरचनालाई खतरामा पार्न सक्छ।’

उनले रूसी आक्रमणका कारण थप १ हजार १ सय १५ जना घाइते भएको शनिबार फेसबुक पेजमा जनाएका छन्। घाइतेमध्ये ३३ बालबालिका छन्। ‘धेरै घाइतेको अवस्था चिन्ताजनक छ,’ उनले लेखेका छन्।

आक्रमणको तेस्रो दिन शनिबार पनि राजधानी किभका चोकहरूमा संघर्ष जारी रहेको युक्रेन सरकारले बताएको छ। रूसी सैनिक नजिकै आइपुग्दा बिहानदेखि विभिन्न ठाउँमा विस्फोट भए। त्यसमा केही आवासीय क्षेत्र पनि परे। प्रतिकार गर्न मात्रै होइन, घाइते र मृतकको तथ्यांक संकलन गर्न पनि मुस्किल भएको सरकारी अधिकारी बताउँछन्। राजधानीतर्फ केन्द्रित हुँदै गरेका रूसी आक्रमणकारीलाई रोक्न युक्रेनले सेना परिचालन गरेको छ। नागरिकलाई हतियार वितरण गरिएको बीबीसीले उल्लेख गरेको छ।

युक्रेन छाडेर सुरक्षित स्थानमा जान गरिएको अमेरिकी प्रस्ताव युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अस्वीकार गरेका छन्। उनले युक्रेनको प्रतिरक्षा गरिने वाचा दोहोर्‍याएका छन्। ‘हामी आफंै सडकमा छौं। नागरिकको साथ छ। सेनालाई रूससँग आत्मसमर्पण गर्न आह्वान गरे भन्ने आफवाहको खण्डन गर्छु,’ राष्ट्रपति जेलेन्स्कीले आफैंले खिचेको भिडियो ट्विटरमा प्रेषित गर्दै लेखेका छन्। बाहिर आएको अफवाहलाई निस्तेज पार्न उनले आफू सडकमा गएर हौसलाको सन्देश दिएका छन्।

उनको उद्धार गर्ने वासिङ्टनको प्रस्तावलाई जेलेन्स्कीले अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। ‘लडाइँ यहाँ भइरहेको छ। मलाई हतियार चाहिएको छ। कुनै सवारी होइन,’ अमेरिकी समाचार संस्था एपीले वार्तालापबारे लेखेको छ।

युक्रेनले अमेरिकी नेतृत्वमा रहेको नाटोको सदस्यता लिने तयारी गरेपछि रूस रुष्ट बन्यो। रूसले सोमबार राति पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको थियो। पुटिनले ‘शान्ति स्थापनाका लागि’ भन्दै ती क्षेत्रमा सेना खटाए। त्यसपछि चुलिएको विवादले युक्रेन रणभूमिमा परिणत भएको हो। शान्तिका लागि भनेर खटाइएका सेनाले नै रक्तपात मच्चाएका छन्। बीबीसीका अनुसार रूसी सेनाले युक्रेनका पूर्व, उत्तर र दक्षिणतर्फबाट आक्रमण सुरु गरे। हवाई सेनाले क्षेप्यास्त्र तथा बम प्रहार गरिरहेका छन्। युक्रेनको राजधानी किभसहित १२ स्थानलाई लक्ष्य गरी रूसी सेनाले आक्रमण तीव्र पारेको हो। पूर्वी क्षेत्रमा पनि क्षेप्यास्त्र र बम प्रहार गर्दै रूसी हवाई सेना प्यारासुटबाट ओर्लिरहेका छन्। त्यस्तै, बेलारूस र क्रिमियाबाट पनि दर्जनौं ट्यांकसहित युक्रेनमा प्रवेश गरेका छन्। यो क्रम रोकिने देखिँदैन। किभका थुप्रै बासिन्दा विस्थापित भएका छन् । साइरन बज्न थालेपछि स्थानीय बासिन्दा बाहिरिएको बीबीसीले उल्लेख गरेको छ। मोल्दोभाको सीमा क्षेत्रमा सयौं सवारीसाधन जम्मा भएका छन्। ती सवारीमा सहर छाड्ने धेरै छन्।

बीबीसी न्यूज टेलिभिजनमा प्रसारित दृश्यमा युक्रेनी नागरिकले विभिन्न समूहमा बाँडिएर सडकमा प्रार्थना गरेको पनि देखिन्छ। प्रार्थना, भागाभाग र भिडन्तमा आफैं खटिने अवस्थामा युक्रेनका नागरिक छन्। यहाँ १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने घोषणा गरिएको छ।

पुटिनलाई प्रतिबन्ध
युक्रेनमा आक्रमणपछि अमेरिका, बेलायत, युरोपेली संघ र क्यानडाले रूसी राष्ट्रपति पुटिनलाई प्रतिबन्ध लगाएका छन्। अमेरिकी अर्थ मन्त्रालयले औपचारिक रूपमा रूसी राष्ट्रपति पुटिन र विदेशमन्त्री सर्गेइ लाभ्रोफविरुद्ध प्रतिबन्ध लगाएको बीबीसीले उल्लेख गरेको छ।

पुटिनले भने युक्रेनलाई चरमपन्थीहरूले कब्जा गरेको आरोप लगाउँदै आएका छन्। सन् २०१४ मा रूससमर्थक राष्ट्रपति भिक्टर यानुकोभिचलाई महिनौंको विरोध प्रदर्शनबाट हटाएपछि पुटिनले यस्तो आरोप लगाएका हुन्। त्यसपछि रूसले दक्षिणी क्षेत्र क्राइमिया कब्जा गरी पूर्वमा पृथकतावादीलाई समर्थन गर्दै विद्रोह सुरु गराएर त्यसको बदला लिएको थियो। उक्त लडाइँमा १४ हजारको ज्यान गइसकेको छ।

पुटिनले आंशिक रूपमा नेटोको पूर्वतर्फको विस्तारलाई आक्रमणको कारणका रूपमा दोष दिएका छन्। युक्रेनले नेटोमा सामेल हुन उपयुक्त समय पर्खिरहेको छ। रूसी उपविदेशमन्त्रीले युक्रेन कहिल्यै नेटोको सदस्य नबनोस् भन्ने सुनिश्चित गर्नु आफ्ना लागि अनिवार्य भएको बताएका छन्। पुटिनले गत वर्ष रूसी र युक्रेनीलाई ‘एउटै राष्ट्र’ भनेर वर्णन गर्दै लेख लेखेका थिए। उनले त्यसमा डिसेम्बर १९९१ मा भएको सोभियत संघको पतनलाई ‘ऐतिहासिक रूसको विघटन’ भनेर वर्णन गरेका थिए।

मोदीसँग जेलेन्स्कीको संवाद
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिफोन संवाद गरेका छन्। जेलेन्स्कीले मोदीलाई रूसी आक्रमणबारे जानकारी दिँदै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा युक्रेनलाई राजनीतिक समर्थन गर्न आग्रह गरेका जनाइएको छ। ‘अहिलेसम्म १ लाख आक्रमणकारी हाम्रो भूमिमा पसिसकेका छन्। उनीहरूले अन्धाधुन्द गोली र बम प्रहार गरिरहेका छन्,’ जेलेनेन्सीले ट्वीटमा लेखेका छन्, ‘भारतले सुरक्षा परिषद्मा राजनीतिक समर्थन गरेर आक्रमणकारीलाई रोकोस्।’ जवाफमा मोदीले हिंसाको तुरुन्त अन्त्य र वार्तामा आउन आफ्नो आह्वान दोहोर्‍याए। उनले शान्ति प्रयासहरूमा कुनै पनि तरिकाले योगदान गर्न भारत तयार रहेको बताएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

जेलेन्स्कीले सुरक्षा परिषद्मा समर्थन गर्न आग्रह गरे पनि शुक्रबार भारत, चीन र यूएईले मतदानमा सहभागी भएनन्। परिषद्ले रूसको कदमको निन्दा गर्दै थप कदम चाल्ने प्रस्ताव गरेको थियो। मोदीले शुक्रबार पुटिनलाई सम्पर्क गरेर संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेका थिए।
फ्रान्सले रूसलाई युक्रेनसँग बार्ताको ढोका खुला राख्न आग्रह गरेको छ। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले पुटिनसँग यसबारे फोनवार्ता गरेका थिए। रूसले युक्रेनमा आक्रमण गरेको दोस्रो दिन शुक्रबार उनीहरूबीच फोनवार्ता भएको थियो।

रूसी विमान खसालिदिएको युक्रेनको दाबी
युक्रेनले रूसी सैनिक चढेको एउटा विमान किभनजिकै खसालिदिएको दाबी गरेको छ। यो विषयमा रूसले प्रतिक्रिया नदिएको बीबीसीले जनाएको छ। किभ क्षेत्रमा प्याराट्रूपरहरूलाई अवतरण गराउने प्रयास गरिरहेको रूसी आइएल–७६ एमडी सैन्य विमान खसालेको बताइएको छ। युक्रेनी लडाकु विमानले उक्त विमान शनिबार खसालिदिएको त्यहाँको रक्षा मन्त्रालयले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ। यसको निर्माताले उल्लेख गरेको विवरणअनुसार उक्त विमानले १ सय ६७ जना सैनिक र चालकदलका ६ वा ७ सदस्य बोक्न सक्छ। युक्रेनका सैन्य कमान्डर जेनरल भ्यालरी जालज्नीले आफ्नो फेसबुकमा रूसी सैन्य विमान खसालेको प्रतिसंकेत गर्दै सन् २०१४ मा युक्रेनी विमान खसालिएको घटनाको बदला लिइएको बताएका छन्। शनिबार रूसी सैन्य प्रवक्ताले युक्रेनमा गरिएको आक्रमणमा मस्कोले कुनै मानवीय क्षति नबेहोरेको दाबी गरेका थिए।

यसैबीच पोल्यान्डले विश्वकप २०२२ का लागि रूससँग प्लेअफ खेलमा सहभागी हुन अस्वीकार गरेको छ। ती दुई देशबीच मार्च २४ मा मस्कोमा खेल हुने कार्यक्रम थियो। पोलिस फुटबल फेडरेसनका अध्यक्षले भनेः ‘यो बोल्ने हैन, काम गर्ने बेला हो।’

सुरक्षा परिषद्मा भिटो प्रयोग
अमेरिका ९एएफपी० स् रूसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा आफूविरुद्ध परेको संकल्प प्रस्तावमा भिटो शक्ति प्रयोग गरेको छ। जसकारण उक्त प्रस्ताव परिषद्को शुक्रबार बसेको बैठकबाट पारित हुन सकेन। युक्रेनमा रूसको आक्रमणलाई ‘अत्यन्तै कडा शब्दमा’ विरोध गर्दै रूसीे फौज तुरुन्त फिर्ता लिनुपर्ने माग गरिएको थियो। रूससहित अमेरिका, बेलायत, फ्रान्स र चीन परिषद्का स्थायी सदस्य हुन्। उनीहरूलाई भिटो शक्ति छ।

अमेरिका र अल्बेनियाद्वारा सहलेखन गरिएको प्रस्तावको पक्षमा परिषद्का १५ सदस्यमध्ये ११ जनाले मतदान गरेका थिए। प्रस्ताव पारित हुन ९ देशको मत परेको भए हुने थियो। तर, रूसले भिटो प्रयोग गरी प्रस्ताव विफल पारिदिएको हो।

मतदानमा चीन, भारत र संयुक्त अरब इमिरेट्सले सहभागिता जनाएनन्। तथापि, यस बहसले सदस्य राष्ट्रहरूलाई रूसको छिमेकीविरुद्ध पूर्ण आक्रमणको प्रक्षेपण गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको निर्णयको निन्दा गर्ने अवसर दिएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धले कसैलाई भलो नगर्ने बताए। ‘सैनिकहरू ब्यारेकमा फर्कनुपर्छ। नेताहरू वार्ता र शान्तिको बाटोमा लाग्नुपर्छ।’

राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्ड रूसले प्रस्तावमा भिटो प्रयोग गरे पनि सत्यलाई भिटो प्रयोग गर्न नसक्ने बताए। प्रस्तावनामा बढी समर्थन जुटाउन मतदान हुनुभन्दा केही घण्टाअघि सुरक्षा परिषद्सामु राखिएको प्रस्तावना खाकामा रहेका शब्दलाई नरम बनाइएको थियो। जस्तैः प्रस्तावनामा रहेको ‘निन्दा’ शब्दको ठाउँमा ‘गम्भीर असहमति’ गरिएको थियो। सदस्यहरूलाई शान्ति पुनःस्थापना गर्न सैन्य कारबाही गर्न अनुमति दिन्छ भन्ने राष्ट्रसंघको बडापत्रको अध्याय ७ को सन्दर्भ हटाइएको थियो।
उक्त प्रस्तावनाले युक्रेनको सार्वभौमिकतालाई पुनः पुष्टि गर्‍यो। रूसलाई ‘तुरुन्तै युक्रेनविरुद्ध बलको प्रयोग बन्द गर्न’ आह्वान गर्‍यो। अन्ततः ७० भन्दा बढी देशले यस प्रस्तावनाको सह–प्रायोजन गरे।

राष्ट्रसंघका लागि बेलायतका राजदूत बार्बरा वुडवर्डले भने, ‘गल्ती नगर्नुहोस्, रूस एक्लो छ। युक्रेनमा आक्रमणलाई कसैको समर्थन छैन।’ उनले रूसको आक्रमणलाई ‘उत्तेजक र हठी’ भनी टिप्पणी गरे। यसले अन्तर्राष्ट्रिय प्रणालीलाई खतरामा पार्ने थोमस–ग्रिनफिल्डले बताए।

राष्ट्रसंघका लागि रूसी राजदूत भासिली नेबेन्जियाले उक्त प्रस्तावनालाई ‘रूसी र युक्रेनी विरोधी’ भनेर विरोध जनाएका थिए। भने, ‘हामीलाई आक्रमणको संख्याका आधारमा अमेरिकासँग प्रतिस्पर्धा गर्न कठिन छ। तपाईंले नैतिकता कायम गर्न सक्नुहुन्न।’

युक्रेनी राजदूत सर्गिय किस्लित्स्याले सदस्यहरूलाई ‘शान्तिका लागि प्रार्थना गर्न’ आग्रह गरे। उनले नेबेन्जियालाई पनि ‘मुक्तिको निम्ति प्रार्थना’ गर्न आग्रह गरेका थिए।
किस्लित्स्याले रूस नाजी शैलीको कार्यलाई निरन्तरता दिन उत्सुक रहेको आरोप लगाउँदा सहभागी सदस्यहरूले व्यापक रूपमा ताली बजाएका थिए। आफ्नो देशको अपनत्व माथिको व्याख्या गर्दै चिनियाँ राजदूत झाङ जुनले नाटो विस्तारबारे उल्लेख गरे। भने, ‘रूसको वैधानिक सुरक्षा आकांक्षालाई ध्यान दिएर उचित सम्बोधन गर्नुपर्छ।’

युक्रेनमा ३ दिनमा के–के भए ?
– रुसी सेनाद्वारा आक्रमण
– राजधानी किभमा शनिबार भीषण भिडन्त
– मारिए १९८ युक्रेनी

– युक्रेनी अधिकारी भन्छन्, ‘३५०० भन्दा बढी रूसी सैनिकको मृत्यु भयो। २०० जनालाई बन्दी बनाइयो’
– ४८ घण्टामा १ लाख जनाले युक्रेन छाडे ः राष्ट्रसंघ
– राष्ट्रपतिद्वारा देश छाड्न अस्वीकार
– बेलायत र अन्य २५ देश युक्रेनलाई हतियार दिन सहमत
– थप मानवीय सहायता वा सैनिक सहयोग उपलब्ध गराउने सहमति
– पोल्यान्डद्वारा सन् २०२२ को विश्वकप फुटबलको प्ले अफ खेल रुससँग खेल्न अस्वीकार
– युक्रेनमा अलपत्र आफ्ना नागरिकको उद्घार गर्न भारतले पठायो विमान
– फ्रान्सको जलसेनाद्वारा रूसको सेन्ट पिटर्सबर्ग जाँदै गरेको मालवाहक पानीजहाज रोक
– १६७ सैनिक बोक्न सक्ने रूसी लडाकु विमान खसालेको युक्रेनको दाबी

स्रोतः बीबीसी

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »