निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

असहिष्णुता र उत्तेजनात्मक क्रियाकलाप अनुचित हो

  • ज्योति लाल बन

विश्वव्यापीकरणले व्यापकता लिनथालेयता नेपालमा परनिर्भताको अवस्था कहालीलाग्दो गरी बढ्न पुगेको छ । वैदेशिक ऋण र अनुदानको भार यति बढेको छ कि आर्थिक औपनिवेशिकताको डोरीले यो देश कसिन पुगेको छ । युवाजनशक्तिमध्ये झण्डै आधाजसो रोजगारीका लागि भारतलगायत संसारका विभिन्न देशमा छरिन पुगेका छन् र यस्तामध्ये अनुमानतः लगभग २५ प्रतिशत बाध्यकारी श्रम (नवदासत्वको एउटा रुप) गर्न विवस छन् । यस्तो स्थिति बन्न पुग्नु यो देशका लागि दुर्भाग्य नै हो ।
यो देशमा जतिपनि विकास निर्माणका कामहरु हुन सकेका छन् तिनमा झण्डै आधाजसो लगानी वैदेशिक ऋण र अनुदानको नै रहेको छ । सन् १९९० यता वैदेशिक ऋणलाई छाडेर अनुदान सहयोगको मात्रै कुरा गर्ने हो भने विभिन्न देशका सरकारहरु, संयुक्त राष्ट्रसंघीय निकायहरु र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपालको सरकार तथा यहाँ कार्यरत विभिन्न गैरसरकारी संस्थाहरुमार्फत खरबौ लगानी गरिसकेका छन् ।
यस्ता अनुदानसहयोगकर्ताहरुमध्येको एउटा हो अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) । संयुक्त राज्य अमेरिकाले सन् १९५१/५२ देखि नै नेपालमा खासगरी शिक्षा, स्वास्थ्य, वातावरण, सामुदायिक विकास तथा कतिपय भौतिक विकासका लागि समेत सहयोग गर्दै आएको छ । यसै सृङ्खलाको एउटा सवभन्दा ठूलो परियोजना हो, एमसिसि । यसका लागि निर्धारित आवश्यक मापदण्ड पुरा गर्न सकेकाले नै नेपालले यो परियोजना प्राप्त गर्न सकेको थियो ।
ज-जस्को प्रयासबाट एमसिसि परियोजना भित्रियो, उनीहरुले आफ्ना कुनै कुत्सित स्वार्थ पूर्तिकानिम्ति यो देशको अस्मिता र सार्वभौमिकता लुटिए लुटियोस भनेर पक्कै पनि यसलाई भित्र्याएका थिएनन् होला । उनीहरुले त ‘देशको विकासमा महत्वपूर्ण टेवा पुग्ने छ र विद्यमान बेरोजगारी समस्याको समाधानमा पनि सघाउ पुग्ने छ ।’ यस्तै अपेक्षा राखे र नै यस अनुदान सहयोगलाई स्वीकार गरेका थिए होलान् ।
तर विगतका अन्य परियोजनाका संझौतामाभन्दा यसमा नेपालको स्वाधीनता र स्वाभिमानमा धक्का लाग्ने जस्ता केही थप शर्तहरु भने नरहेका हैनन् ।
दोस्रो विश्वयुद्धपश्चात सवभन्दा ठूलो शक्तिशाली देशको हैसियत बनाउन पुगेको अमेरिकाका शासकहरुले संसारका विभिन्न मुलुकहरुमा साम्राज्यवादी आकांक्षामा आधारित हैकमवादी व्यवहार देखाउदै आउनु, यस संझौतामा पनि त्यस्ता केही शर्तहरु उल्लेख रहनु र त्यसमाथि यस परियोजनासँग सम्बन्धित कतिपय अमेरिकी पदाधिकारीहरुले झन बढी शंका बढाउने कुरा गर्नु र परियोजना लागु गर्न दबाब दिनुले पनि यसलाई अमेरिकाले आफ्नो साम्राज्यवादी इरादा पुरा गर्ने एउटा माध्यम बनाएको त हैन ? भनि शंका गर्ने आधार बढाई दिएको थियो ।
जसले यस परियोजनालाई ल्याउने प्रयास गरे, ल्याए र लागु गर्ने पूर्वाधार तयार गरे, उनीहरु (खासगरी नेपाली कांगे्रस र नेकपा एमाले नेतृत्वतहका व्यक्तिहरु) ले यसमा त्यस्तो जोखिम पक्ष नरहेकोले यसलाई जस्ताकोतस्तै लागु गर्न सकिने मान्यता राखे । यी बाहेक विभिन्न वाम घटक तथा आफुलाई राष्ट्रवादी ठान्ने केही समूह वा व्यक्तिहरुले यसका आपत्तिजनक शर्त (बुँदा) हरु सच्याएर मात्र लागु गर्न सकिने धारणा राखे ।
यसले चर्को विवादको रुप लियो र तीन धु्रवमा बाढियो । जस्मा पहिलो– यथवत लागु गर्नु पर्छ’ भन्ने, दोस्रो ‘संशोधन गरेर मात्रै लागु गर्न सकिन्छ’ भन्ने र तेस्रो– ‘खारेजै गर्नु पर्छ’ भन्ने ।
दोस्रोको कार्यकर्तातह र तेस्रोको पहलमा आन्दोलन चर्कियो । आन्दोलनको दबाबपश्चात दोस्रोका नेतातहरुले ‘व्याख्यात्मक टिप्पणी’ सहित संझौता पास गर्ने पस्ताव राखे । यसमा पहिलो पनि सहमत भयो र अन्ततः संसदबाट एमसिसि परियोजना पारित भयो । नेपालपक्षबाट घोषित यस टिप्पणीप्रति अहिलेसम्म अमेरिका मौन छ । तथापी व्याख्यात्मक टिप्पणीमा प्रस्तावित बुँदाहरुलाई अमेरिकी पक्षले वेवास्ता गरेमा नेपाल पक्षबाट परियोजना फिर्ता पठाउन सकिने व्यवस्थासमेत उल्लेख रहेकाले यसका पक्षधरहरु परियोजनाले कुनै व्यवधान नल्याउनेमा निश्चिन्त छन् ।
तर पारितको विरोधमा रहेकाहरु भने ‘अव अमेरिकी साम्राज्यवादका लागि नेपालको ढोका खुल्यो’ भन्ने आशयको धारणा बनाउन पुगेका छन् । त्यसै कारण अत्यन्त आक्रोसित बनेका यिनले पारित गर्नेहरुप्रति कटु शब्दप्रहार गर्नुका साथै कतिपय आक्रामक क्रियाकलाप पनि गर्न थालेका छन् ।
‘स्याल कराउनु र बाख्रो पनि हराउनु’ भनेझै संसारका कतिपय मुलुकहरुमा अमेरिकाको हस्तक्षेपकारी व्यवहार र एमसिसि संझौताका कतिपय शर्तले आशंकाका गर्ने ठाउँ नदिएको हैन, तर यसैका आधारमा सुनिश्चित धारणा बनाइहाल्नु भने परिपक्कता हैन ।
मान्यता, धारणा र दृष्टिकोणमा भिन्नता हुन सक्छ तर अपवादलाई छाडेर कुनै पनि नागरिक आफ्नो देशको अस्तित्व र अस्मिता लुटाउन किमार्थ चाहदैन । त्यसैले एमसिसि परियोजनाका पक्षधरहरु सवैलाई राष्ट्रघाती ठानेर उनीहरुमाथी तुच्छ गालिगलौज गर्नु, उत्तेजनात्मक र तोडफोडजन्य गतिविसधिलाई प्रोत्साहित गर्नु नितान्त गलत हो । यस्ता गतिविधिले निर्माण हैन बिग्रहमात्र निम्त्याउछ ।
‘बनको बाघ कहाँ हो कहाँ मनको बाघले खायोे’ खाले मनोदशा बनाउनु उचित हैन । संयम र धैर्य भएर सच्चा देशभक्तहरुलाई एकाकार गर्दै संभावित अनिष्ठलाई परास्त गर्न सुदृढ राष्ट्रियशक्तिको निर्माण तर्फ प्रयासरत रहनु आजको आवश्यकता हो ।
१७ फागुन २०७८

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »