निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

बन्द पर्खाल, दारेगौंडा मोर्चा र वीर सहिद क. अनिश 

– डम्बर थामी ‘अनुपम’

 ” मृत्युुले होइन उसले गरेको कामको कारणले व्यक्ति सहिद बन्छ । ”  – नेपोलियन बोनापार्ट 

 उल्लेखित सारगर्भित र उथलपुथलकारी भनाइ एक सैनिक कमान्डर तथा सम्राट नेपोलियन बोनापार्ट (अगस्ट १५, १७६९-मे ५, १८२१) को हो । कलिलै  उमेरमा सेनापती तथा सम्राट बनेका बोनापार्ट सार्‍है चतुर, बहादुर र साहसी थिए । फ्रान्सेली राज्य क्रान्तिको कमान्ड सम्हालेका बोनापार्टले विभिन्न देशका संयुक्त फौजहरु विरुद्ध लड्दै सतिसाल झैं अडिग भएर युरोपलाई आफ्नो अधिनमा राखीरहे । उनमा यस्तो साहसिक युद्ध कौशलता थियो । र चातुर्दिक सत्ता सन्चालक पनि । उनले सन्चालन गरेका ती अविजेय अभियानहरु विश्वभरका सैनिक विद्यालयहरुमा अध्ययन अध्यापन गरिए । उनले आफ्नो शासनकालमा धेरै उदारवादी सामाजिक सुधारहरु पनि गरे । गरिब जनतामाथि महाजनहरुको आधिपत्यको उन्मूलन । सबै वर्गका जनताका लागि समान कानून । धार्मिक सहिष्णुता तथा सम्बन्ध विच्छेदलाई कानूनी मान्यता दिए । 

        हामी पनि यस्तै-यस्तै ऐतिहासिक र साहसिक व्यक्तिहरुको जीवनीबाट उत्प्रेरित भएर आमूल परिवर्तनको लागि क्रान्तिको दावानलमा हाम फालेका थियौं । कतिपय वुज्रुकहरुले हामीलाई अनपढ, गवाँर ठान्थे । लहलहैको भरमा हिंडेका भन्थे । तर हामीले हाम्रो चेतनालाई हरतरहले निकै फराकिलो बनाउने कोशिश गर्थ्यौं । जीवन मरणको भीषण युद्धसँगै स्वअध्ययनलाई पनि प्राथमिकतामा राख्थ्यौं । झोलामा बारुदको पोकासँगै किताब पनि अनिवार्य हुन्थ्यो । धेरै कमरेडहरुले त क्रान्तिलाई नै पाठशाला बनाए । कखरा पढेर साक्षर पनि भए ।

 यसरी पढ्दै जनयुद्ध पनि लड्दै जाने शिलशिलामा भर्खर पार्टीले ल्याएको  एक सशक्त रणनीति “वर्गदुश्मनको ढाडमा टेकेर टाउकोमा हान्ने ” तिलस्मी योजना मुताविक हामी कमान्डरहरुको एउटा सशक्त टोली फौजी काममा जुटेका थियौं । यही रणनीतिक प्रत्याक्रमणको दौरानमा हामी एउटा उच्च फौजी कार्वाहीको टार्गेट छनौटको लागि रेक्की (Reccy) मा जाँदै गर्दा २०६२ साल माघ ४ गते काभ्रेको सदरमुकाम धूलीखेलमा म  गिरफ्तारीमा परें ।

 गिरफ्तारीमा परेपछि यातनाका विविध शृङ्खलाहरु भोग्दै चार दिवारभित्र दिनचर्या बिताउँदै थिएँ । बाहिर कडा सुरक्षा घेरा । हाईपोष्टमा सेन्ट्री । रात पर्ने बित्तिकै करेन्ट प्रवाह गरिएको तार बेरा । उकुसमुकुस लाग्ने बन्दी जिन्दगी पनि रमाईलै थियो । कहिले ढाकाटोपी बुन्ने । कहिले क्यारिम खेल्ने । कहिले पुस्तकालयबाट राम्रा किताब ल्याएर पढ्ने । समकालीन नेपाली कविता, राम्रो रचना मीठो नेपाली र अग्निदीक्षा उपन्यास चाहिँ मिहिन पाराले सबै पढें । पाना पाना पल्टाएर दोहोर्‍याई तेहर्‍याई पढें । खुबै उर्जा मिल्यो । क्रान्तिकारी इतिहासको स्मरण गरायो ।

 समाचारहरु चाहिँ अनिवार्य सुन्ने गर्थें । एउटा पुलिस हवल्दारसँग सिदाबाट बचेको पाँच सय पैसाले समाचार सुन्नकै लागि भनेर दस ब्याण्डवाला रेडियो किनेको थिएँ । प्रायःश पर्खाल बाहिरको घटनाक्रमहरु  समाचारबाटै सुनिन्थ्यो । समाचारहरु सही, साँच्चो, सत्य त आउँदैनथ्यो । विश्लेषण गरेर यसो चाहिँ भएको होला भनेर बुझ्नुपर्थ्यो । जेल भित्र एउटा कान्तिपुर दैनिक बल्लतल्ल आउँथ्यो । त्यही पनि माओवादीबारे लेखिएको समाचार जति काटेर पढ्न दिन्थ्यो । अरु त के पढ्नु थियो र ? समय जति प्रतिकूल भए पनि आफ्नो अनुकूलतामा ल्याउनु नै पर्थ्यो ।

 बन्द पर्खालभित्र रोएर, कराएर पनि केही पार लाग्दैनथ्यो । त्यहाँ पनि आन्तरिक प्रशासन नाइके, भाइ नाईकेहरुको अधीनमा बद्नुपर्थ्यो । सानो कुरा पनि उनीहरूले जेलरलाई गएर सुनाईहाल्थे । बन्दीहरूलाई दुख दिईरहन्थे । तर जसरी पनि परिस्थितिलाई आफ्नो काबुमा राख्नैपर्थ्यो । बाहिरको  माहौल के भईराखेको छ ? परिस्थिति के हुँदैछ ? भन्ने कुरा बुझिरहनु पर्थ्यो ।

         २०६२ साल चैत्र ८ गते । हल्का गर्मी शुरु भए पनि धूलिखेल कारागारमा जाडो थियो । त्यो ठाउँ प्रायः चिसै हुँदोरहेछ । बिहानको खाना खाएर यत्तिकै रेडियो एच.बि.सी. मा लोकगीत सुनेर बसिरहेको थिएँ । दिन ढल्कंदै गएको पत्तै भएनछ । एक्कासि माथि डाँडाको सैनिक ब्यारेक, छेवैको डि.एस.पि. कार्यालय र अझ नजिकैको सि.डि.ओ. कार्यालयतिर पुलिस आर्मीहरुमा खैलाबैला मच्चियो ।

 सेना, पुलिसहरु हाई अलर्टमा बसे । सदरमुकाम वरिपरि गस्ती पनि बढाए । गाउँलेहरुलाई घरभित्रै बस्न आदेश दिए । बाहिर पक्कै केही भयो ! पक्कै केही घटना घट्यो ! भन्ने अनुमान लगाएँ । बन्दी साथीहरू पनि मुखामुख गर्न लागे । मुख्य गरी आस्थाका बन्दीहरूको मुहारमा केही चमक देखियो ।

सदरमुकाम नजिकै दारेगौंडामा आर्मी र माओवादी बीच भिडन्त भयो रे ! धेरै माओवादीहरु पनि मरे रे ! भनेर धेरै नै खैलाबैला मच्चियो । सेना पुलिसले व्यापक गस्ती बढाए । हाईपोस्टहरु कब्जा गरेर ८१ एम एम मोर्टार फिट गरे । हामीलाई पनि बाहिर ननिस्की  भित्रै बस्ने आदेश जारी गरे ! अब फेरि कहाँ के भयो ? हामीलाई फेरि केरकार गर्न लैजाने भयो भनेर एकतमासले कुरा खेलीरह्यो ।

जहाँ घटना घटे या भिडन्त भए हामी आस्थाका बन्दीहरुलाई डि.एस.पी ले बोलाएर सोध्ने गर्थ्यो । केरकार गर्थ्यो । “भन ! नभए गोलीले उडाउँछु ” भनेर धम्की दिन्थ्यो । भरे रातको बाह्र बजे हामीलाई सोधपुछको लागि लैजान्छ होला ! भन्ने लाग्यो । उनीहरू यति वेबकुफ थिए कि हामी त्यहीँ भित्रै हुँदाहुँदै कसरी बाहिरको घटना थाहा हुन्छ ? बाहिरको योजना कसरी थाहा हुन्छ ? अचम्म लाग्थ्यो ।

 यसरी आतंकै आतंकमा दिन बित्यो । अब भरे फेरि के हुने हो ? भनेर मनमा त्रास उत्पन्न भयो । सात बजे नै बेलैमा खाना खाएर ओछ्यानमा पल्टिएँ । रातभर निद परेन । युद्धको ऐठनले सताईरह्यो । रातमै हतकडी लगाएर कुन बंकरमा लगेर केरकार गर्ने हो ? भन्ने लाग्यो । यसरी मनमा कुरा खेलाउँदा खेलाउँदै बल्लतल्ल उज्यालो भयो । बिहान छ बजेपछि रेडियो खोलेर समाचार सुन्न लागें ।

 समाचारले एक्कासि आर्मी र माओवादी बीच दारेगौंडामा भीषण भिडन्त भएको । माओवादीका बटालियन कमान्डर अनिश भन्ने ढलेको समाचार  फुक्यो । अनायास त्यस्तो अपशकुन समाचार कानमा ठोकिएपछि म छाँगाबाट खसे जस्तै भएँ । सुतेको जमिन पनि भासिँदै गए जस्तो लाग्यो । जेलको चारै पर्खाल घुमे जस्तो लाग्यो । तर समाचार साँच्चो हो या झूटो ! यथार्थ थाहा पाउन गार्‍हो भयो ।

पत्रीका पढ्दा र वेथान स्मृति व्रिगेडको प्रेस विज्ञप्ति पढ्दा घटना साँच्चै रहेछ । फौजी योजना अन्तर्गत नै भिडन्त भएको रहेछ । बल्ल थाहा भयो । क्रान्तिमा यसरी कमान्डरहरुकै बलिदानीलाई ब्यहोर्नु पर्ने बाध्यता आईपर्दोरहेछ । तर सहन गर्नैपर्छ भनेर चित्त बुझाएँ । त्यतिबेलाको बन्द पर्खालभित्र कैद भएको समय आँसु, हाँसो, रोदन, क्रन्दन, पीडा, आक्रोश र शोकबाट नै गुज्रियो । तर मेरो जिन्दगीलाई यी कुराहरूले झन् इस्पात बनायो । 

         क्रान्तिकारी योद्धा तथा कुशल कमान्डर क. अनिशसँग २०५६ साल श्रावण महिनामा सिन्धुपाल्चोक जिल्लाको मांखा क. कृष्ण प्रसाद आचार्य (रोहित) को घरमा पहिलो चिनजान भएको थियो । शुरुमा अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनमा काम गरेका थिए । त्यसपछि पार्टी संगठन र छापामार दस्ता (गुरिल्ला स्क्वायड) मा काम गरे । स्क्वायडमा काम गर्दा नै मैले पनि सहकार्य गर्ने मौका पाएको थिएँ । क. अनिशसँग पहिलो फौजी कार्वाही तथा माईनिङ नै २०५६ साल भाद्र १५ गतेको मेलम्ची सिमखेत एम्बुश हो ।

उनले त्यहीँ फ्ल्यांक अट्याक (Flank Attack) आएको दुश्मनमाथि फायर गरेर पछि हट्न बाध्य बनाएका थिए । उच्च फौजी चेतना राख्ने । कथा, कविता, संस्मरण, गीत लेख्न रुचाउने । साहित्यमा असाध्यै रुचि राख्ने । मृदुभाषी, मिलनसार, सहयोगी भावना भएका क. अनिश एक कुशल कमान्डर थिए । (सहयोद्धाहरुको दिल दिमागमा बस्न सक्ने खुबी थियो । सबैलाई खुशी बनाएर युद्ध लडाउने क्षमता थियो । गलत प्रवृतिका विरुद्ध पनि खरो रूपमा उत्रने बानी थियो ।) त्यसपछि हाम्रो सहकार्य २०५६ सालदेखि २०६२ साल माघसम्म भयो ।

दर्जनौं लडाइँहरु सँगसँगै लड्यौं । गाउँ, बस्ती, भीर, पाखा सँगसँगै हिंड्यौं । सँगसँगै  गीत गायौं । नाच्यौं । एउटै थालमा खायौं । एउटै ओछ्यानमा सुत्यौं । म जेल पर्ने बेलामा पनि हामी सँगै गएका थियौं । तर अघिपछि भएर मात्रै उनी जोगिए । यसरी क्रान्तिकारी सहृदयी साथी क. अनिधले म जेल परेको करिब दुई महिनापछि दारेगौंडा भिडन्तमा वीरतापूर्वक लड्दा लड्दै शहादत प्राप्त गरे ।

त्यो भिडन्त जनमुक्ति सेनाका योद्धाहरु सेल्टरमा बसेर फौजी योजना बनाउँदा बनाउँदै भएको रहेछ । भकुण्डेबाट आएका सेनाहरुको एन्टी घेरामा परेका रहेछन् । र सबभन्दा पहिला क. अनिश नै ढलेका रहेछन् । त्यसपछि भीषण भिडन्त भएछ । घरभित्र घर बाहिर । चोटाकोठा, मझेरी, पिंढी, आँगन जताततै भएको भिडन्तमा जनमुक्ति सेनाको जीत भएको रहेछ । सो भीषण भिडन्तबाट जनमुक्ति सेनाले G-36 एक थान, LMG दुई थान, टू ईन्च मोर्टार एक थान, ईन्सास १४ थान, SLR पाँच थान र हजारौं राउन्ड गोली अनि टू ईन्च मोर्टारका सेलहरु कब्जा गरेका रहेछन् । यति धेरै हतियार सदरमुकाम कब्जा गरे बराबरको थियो । त्यस भिडन्तबाट जनमुक्ति सेनाले G-36 भन्ने नयाँ हतियार सेनाको मेजरले बोकेको हतियार कब्जा गरेका थिए । त्यो फौजी कार्वाहीले फौजी र राजनीतिक रूपमा धेरै महत्त्वपूर्ण स्थान लियो । 

         बुबा शरण वाईबा र आमा राममाया वाईबाको कोखबाट भोटेचौर-२ चिसापानी (हाल मेलम्ची न.पा.-१) जन्मेका क.अनिश सानैदेखि विद्रोही स्वभावका थिए । उनी एमालेको विद्यार्थी संगठनमा काम गर्दागर्दै विद्रोह गरेर अखिल (क्रान्तिकारी) मा आबद्ध भएका थिए । त्यसपछि छापामार योद्धा हुँदै जनमुक्ति सेनाको नियमित फर्मेशनमा आबद्ध भएर दर्जनौं लडाइँ लडेका थिए । उनको जेठी दिदी तिर्थमाया वाईबा (क.चेतना) २०५९ साल श्रावण १७ गते दोलखा जिल्लाको बोत्ले हत्याकाण्डमा सहिद भएकी थिइन् ।

 उनको भाइ पदमसिंह वाईबा २०६१ साल पौष ३ गते मुडे भिडन्तमा सहिद भएका थिए । यसरी एउटै परिवारबाट तीन जनाको शहादत भयो । क्रान्तिमा रगतको कोटा चुक्ता गर्‍यो । उनले पनि  दर्जनौं शृङ्खलाबद्ध लडाइँ लडेका थिए ।

मेलम्ची सिमखेत एम्बुश, मैनापोखरी रेड, भकुण्डेवेंशी रेड, खानीभन्ज्याङ रेड, चैनपुर, भिमान, रुम्जाटार, लाहान, यदुकुहा, चरिकोट, बनेपा कमान्डो, झुरझुरे, पनौती, अमलेखगञ्ज, सिराहा, सान्दाने, नार्के, घर्तीछाप, साँखु, काभ्रेभन्ज्याङ, खाडीचौर ।

यी लडाइँहरुमा उनले उच्च बहादुरिता प्रदर्शन गरेका थिए । यसरी क्रान्तिको लागि उच्च शहादत प्राप्त गरेका अथक योद्धा क. अनिशप्रति हार्दिक श्रद्धाञ्जली ।।

      २२ फेब्रुअरी २०२२ 

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »