निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

लिनप्याओवादका विरुद्ध संघर्ष

.अनिल शर्मा विरहि

नेपाल कम्युनिस्ट पार्टीको १२ औँ पूर्ण बैठक असामान्य चर्चामा रहेको थियो । क्रान्तिकारी र देशभक्त धाराको नेतृत्वदायी शक्ति हुनु र यसका निर्णयहरुले देशको राजनीति प्रभावित हुने भएको कारण सञ्चार र बौद्धिक जगत्को ध्यानाकर्षण गरेको थियो । अर्कोतिर कार्यदिशा बुझ्न नसकेका र खराब नियत भएका कतिपय तत्वहरुले पार्टी एकता र पार्टी पद्धतिविरोधी खेलोमेलो गरिरहेका थिए । ‘फेक न्यूज’ को बाढी चलाइएको थियो, जसको कारण कैयौँ पार्टी र नेतृत्वप्रति आस्थावान्, इमानदार कमरेडहरु पनि प्रभावित थिए ।

१) कार्यदिशालाई बुझ्ने समस्या

समाजवादी क्रान्तिको सन्दर्भमा विश्वमा रुस, चीन र क्युवाका तीनवटा कार्यदिशाहरु रहेका छन् । चे ग्वेभेराको अनुसार हरेक देशमा फरक ढङ्गले क्रान्ति हुने भएको कारण कम्युनिस्टहरुलाई कार्यदिशा निरुपण गर्ने चुनौती हुन्छ । त्यो चुनौती नै क्रान्ति सम्पन्न हुने कारण हो चे भन्छन् । किनकि साम्राज्यवादी शक्तिहरुलाई दमन कसरी गर्ने भन्ने पूर्ण सूत्र वा ज्ञान पनि हुँदैन । हामीले ‘एकीकृत जनक्रान्ति’ कार्यदिशाको विषयमा जे–जसरी सोचेका छौँ, त्यो विषयमा मर्मबोध गर्ने खोज र अनुसन्धान गर्ने, विकास र योगदान गर्ने समस्या छ । हाम्रो चेतना रुसी वा चिनियाँ अनुभवको वरिपरी फन्को मारिरहेको छ । प्रचण्डसँग संघर्ष हुँदा र किरणसँग विद्रोह गरेर ‘शिवगढी भेला’ हुँदासम्म चितवनमा हामीमाथि गोली हानियो । खन्ना गार्मेन्टमा योगेन्द्र कुमालमाथि पटक–पटक आक्रमण भयो । चितवन र खन्ना गार्मेन्टका घटना देशभरि भए । लामो समय र पेचिले संघर्षको बीचबाट नयाँ कार्यदिशा बन्यो । शिवगढी भेला कार्यदिशा र पार्टीको आधारशीला हो । प्रचण्डले कारवाही गरेपछि हातमुख जोर्न गाह्रो भएपछि एकीकृत जनक्रान्तिमा ‘पेस्ट’ भएकाहरुलाई नेतृत्व टोलीको परिश्रम, भावना, सपना र गम्भीरताबोध नहुनु स्वभाविक हो । उनीहरुलाई रुपान्तरण गर्न मेहनत गर्नुपर्छ । तर, सबैलाई नसकिन सक्छ । उनीहरुमध्ये कतिपयले आफ्ना विकृति छोप्न सिद्धान्त र राजनीतिक गँजडीगफ फलाक्न सक्छन् । तर, क्रान्तिकारीहरुले के बुझ्नुपर्छ भने वर्गसंघर्ष र अन्तरसंघर्षले पैदा गरेका समस्या र चुनौतीको सामना गरेर नै आ–आफ्नो तह र क्षेत्रमा नयाँ नेतृत्वको जन्म र विकास हुन्छ । जसरी शिवगढी भेलामा हामीले निर्वाह गरेको भूमिका आज गर्बिलो सन्दर्भ भएको छ र त्यहाँ नजानु वा जान नपाउनु खल्लो विषय बनेको छ, त्यसैगरी, आजको समयको भविष्यमा अर्थपूर्ण मूल्यांकन हुनेछ । त्यसैले कार्यदिशा र कार्यदिशालाई बुझ्ने र लागू गर्ने समस्या आजको मुख्य समस्या हो ।

२) महाधिवेशन र महत्वपार्टीको महाधिवेशन फागुन–चैतमा सम्पन्न गर्ने पार्टी निर्णय थियो । त्यसअनुसार महासचिवले प्रस्ताव तयार गरिसक्नु भएको छ । तर, पुस दोस्रो सातामा बस्ने भनिएको केन्द्रीय समितिको बैठक ओमिक्रोन नामक नयाँ प्रजातिको कोभिड–१९ को कारण सम्भव भएन । फागुनसम्म पुग्दा बैठकको तयारी गर्दैगर्दा राष्ट्रघाती एमसीसीविरुद्ध पहलकद्मी लिनुपर्ने भयो । जनता सडकमा भएको देशभक्त शक्तिहरुले अपेक्षा गरिरहेको र देश अप्ठ्यारोमा परेको बेला बैठकमा बसेर सडक खाली गर्नु उचित हुँदैनथ्यो । यही समयमा गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन तोक्यो । त्यसैले असार–साउन–भदौलाई वैचारिक, राजनीतिक र संगठनात्मक तयारीको अवधि बनाएर महाधिवेशन गर्ने केन्द्रीय समितिको १२ औँ बैठकले निर्णय गरेको छ । वैचारिक, रजनीतिक र संगठनात्मक दृष्टिले महत्वपूर्ण संश्लेषण आवश्यक भएको छ । पार्टीका संस्थागत कामहरु स्वीकृत, पारित मूल्य र मान्यतानुसार गर्नुपर्ने हुन्छ । संगठनको ढाँचालाई तलदेखि माथिसम्म व्यवस्थित गर्नुपर्ने हुन्छ । देशको भावी राजनीतिक परिस्थिति आगामी दिनमा कसरी जान्छ भन्न सकिने अवस्था छैन र त्यसले धेरै कुरा प्रभावित गर्नेछ । तर, महाधिवेशन चुनावपछिको मुख्य कार्यभार हुनेछ ।

३) एमसीसी मुद्दाएमसीसी पारित गरेर गठबन्धन सरकार र संसद्ले देशलाई नवऔपनिवेशमा धकेलेको छ । हामीले आशंका गर्दै आएझैँ संसद् सिक्किमको देशद्रोही संसद्कै स्तरमा पतन भएको छ । सांसदहरु काजी लेण्डुप दोर्जेको स्तरमा पतन भएका छन् । “कुनै पनि कारणले होस् यदि जनताले जिम्मा दिएको या खडा गरेको संस्थाले जनभावनाको नेतृत्व गर्न सक्दैन भने त्यसलाई विस्थापित गर्ने र पुरानोको ठाउँमा नयाँ संस्था स्थापना गर्ने अधिकार पनि जनताकै हुन्छ” भन्ने निष्कर्ष केन्द्रीय समितिको छ । संसद्ले जनमत, जनादेश र जनभावनाको विरुद्ध अकल्पनीय अपराध गरेको छ । त्यसको विरुद्ध सबै दलहरुभित्र विद्रोह भएको छ । काँग्रेसकै मतदाताहरु एमसीसीविरुद्ध रहेका छन् । त्यसकारण ती सबै अभिमतहरुलाई साझा संगठनमा व्यक्त गर्न सक्ने … राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखेर एउटा फराकिलो र सशक्त मोर्चा बन्ने सम्भावनाको खोजी गर्न आवश्यक छ । हाम्रा राजनीतिक कार्यक्रम र कार्यनीतिहरु त्यस दिशामा उन्मुख हुनुपर्छ । नेपालका कम्युनिस्टहरु देशभक्तिको आन्दोलनमा दह्रोसँग उभिँदै आएका थिए । महाकाली सन्धिपछि पुँजीवादी दलहरुसँगै कम्युनिस्ट नामधारी दलहरु पनि देशद्रोहमा सहभागी भएका छन् । यो प्रक्रियाले कम्युनिस्ट विचार र धारालाई बद्नाम गर्दछ । यो कम्युनिस्ट सिध्याउने खेल नै हो ।

४) संसदीय निर्वाचनअमेरिकी साम्राज्यवादले नेकपाको क्रान्तिकारी विचार, देशभक्तिको आन्दोलनको नेतृत्व र त्यसको नेतृत्वलाई समाप्त पार्न चाहेको जगजाहेर छ । ठीक त्यही बेला केही फन्टुस, अनैतिक, पाखण्ड नेताहरु नेतृत्वको विरुद्ध शंकास्पद हर्कतमा संलग्न भएका छन् । त्यसप्रकारको हर्कत, कुण्ठा र अपराधबोधको वमन हो कि कतैबाट परिचालित छन् भन्ने कुरा त समयले बताउला । निर्वाचन उपयोग वा बहिष्कारको विषय भ्रष्टाचारको अपराध छोप्ने साधन बन्न सक्दैन । संसदीय निर्वाचनसम्बन्धी धारणा फरक विषय हो, भ्रष्टाचार अलग विषय हो । केन्द्रीय समितिले एकमतले गरेको फैसलालाई सार्वजनिकरुपमा प्रतिउत्तर दिने नेताहरु भागेर जहाँ गए पनि हिसाब–किताब चुक्ता गर्नैपर्छ । भ्रष्टाचारको विषयमा कसैको मौखिक फरक मत पनि नभएको (सर्वसम्मत निर्णय) को विरुद्ध बोल्नु ‘चोरको खुट्टा काट् भन्दा खुट्टा थुत्ने मनुवा’ उखान चरितार्थ पार्नु हो । भ्रष्टाचारको विषयमा मोलतोल नगरे पार्टी फुटाउँछु भन्छन् भने पनि त्यसलाई स्वीकार्नुपर्छ । यो पार्टी जसले बनाएकै होइन, उनीहरुलाई माया नहुनु स्वभाविक हुन्छ ।

५) लिन पियाओ प्रवृत्तिविश्व कम्युनिस्ट आन्दोलनमा अध्यक्ष माओका उत्तराधिकारसमेत भएका लिन पियाओले सर्वोच्च पद हत्याउन माओको चाकडी गरेको, त्यसबाट एक हदसम्म माओसमेत प्रभावित भएको अवस्था महत्वपूर्ण सन्दर्भको रुपमा रहेको छ । लिन पियाओप्रति विस्तारै माओ स्पष्ट भएपछि लिन पियाओविरुद्ध उभिनु भयो वा त्यसको गति अवरुद्ध पार्न थाल्नुभयो । माओबाट आफ्नो स्वार्थ पूरा नभए ख्रुश्चेवसँग मिलेर अध्यक्ष माओको हत्या गर्ने षड्यन्त्र भयो । माओ बेइजिङ फर्कने रेलमा बम विस्फोट गराएर मार्ने षड्यन्त्र गरिएको थियो । तर, चनियाँ गुप्तचर विभाग (सेना) ले त्यसको सुइँको पायो । त्यसपछि ‘रुट चेन्ज’ गरेर अध्यक्ष माओलाई बेइजिङ पु¥याइयो । षड्यन्त्र पर्दाफास भएपछि भाग्दै गरेको लिन प्याओलाई चिनियाँ सेनाले पछ्याउँदै जाँदा मङ्गोलियाको आकाशमा उसको मृत्यु भयो । कम्युनिस्ट आन्दोलनमा निजी स्वार्थको लागि नेतृत्वको अशोभनीय चाकडी गर्ने, नेतृत्वको नजिक भएर अरुको हुर्मत लिने र त्यस प्रकारको स्वार्थ पूरा नभएपछि नेतृत्वलाई नै समाप्त पार्न खोज्ने प्रवृत्तिलाई ‘लिनपियाओ प्रवृत्ति’ भन्ने गरिन्छ । हाम्रो पार्टी ने. क. पा. को सन्दर्भमा पनि लिन पियाओ प्रवृत्ति प्रकट भएको छ । फरक के भने लिन पियाओको सन्दर्भमा भ्रष्टाचार चर्चामा थिएन ।

६) लिन पियाओको स्रोतक्रान्ति सम्पन्न भएको वा आन्दोलन बलियो भएको बेला प्रतिक्रान्ति समर्थन गर्दै, चाकडी बजाउँदै आउँछ । हार वा कमजोर भएको बेला आलोचना गर्दै आउँछ । त्यसैले अध्यक्ष माओले संशोधनवादलाई नाङ्गो आँखाले बुझ्न सकिन्न, त्यसलाई चिन्न सूक्ष्मदर्शक र दूरदर्शक यन्त्र आवश्यक पर्छ भन्नु भएको थियो । चाकडीलाई सहयोग ठान्ने, आलोचनात्मक चेतलाई शत्रुता बुझ्ने समस्याले बारम्बार लिन पियाओहरु जन्मन्छन् । वस्तुको सङ्गोपाङ्गो अध्ययन नगरी मनोगत वा आंशिक सूचनाको आधारमा धारणा बनाउने अधिभूतवाद पनि लिन पियाओ प्रवृत्तिको स्रोत हो । जगतलाई गतिमा बुझ्ने वा सैद्धान्तिकरुपले त्यो कुरा स्वीकार गर्ने तर वस्तुलाई यान्त्रिकतामा बुझ्ने अधिभौतिकवाद पनि लिन पियाओ प्रवत्तिको पाठेघर हो । विचार, राजनीति र जनसम्बन्धभन्दा घटनाको (सकारात्मक–नकारात्मक) आधारमा धारणा बनाउने गर्दा पनि त्यस प्रकारका गैरसर्वहारा प्रवृत्तिले मलिलो माटो प्राप्त गर्छन् । भेनेजुयलाली कमरेड मार्ता होर्नेकरले कार्यकर्ताको मूल्यांकन नेताहरुसँग कस्तो सम्बन्ध छ भन्ने आधारमा होइन, उसको जनसम्बन्ध कस्तो छ भन्ने आधारमा गर्नुपर्छ’ भन्ने भनाई यहाँ महत्वपूर्ण रहन्छ । सिद्धान्त र क्रान्तिको गीत गाएर गैरसर्वहारा प्रवृत्तिको अनुशरण नै लिन प्याओ प्रवृत्ति हो ।

७) नया कार्यनीतिनेकपाको १२ औँ बैठकमा महासचिवको प्रस्ताव सर्वसम्मत पारित भएको थियो, जसमा कसैको नोट अफ डिसेन्ट (असहमति) पनि थिएन । दस्तावेजले निर्वाचनमा को उठ्ने, को नउठ्ने ? केही भनेको छैन । दस्तावेजमा चुनाव बहिष्कार गर्ने कुरा गरेकै छैन । पारित दस्तावेज अध्ययन गर्न सकिन्छ । व्यक्तिहरुले के भने भन्ने कुरा मुख्य हुँदैन । अस्पष्ट कुराको व्याख्या गर्ने कार्य महासचिव वा प्रवक्ताले गर्न सक्छन् । बैठकको अन्तिममा क. कञ्चनले ‘प्रस्ताव समृद्ध गर्न सफल भएका छौँ । महासचिवको प्रतिबद्धताप्रति सम्मान गर्दछु । उच्च जनवादले उच्च केन्द्रीयता पैदा भएको छ भन्नु भएको थियो । त्यसैगरी, सुदर्शनले “उच्च जनवादले उच्च प्रकारको केन्द्रीयता पैदा भएको छ । पूर्वाग्रह सामन्तवाद हो । महासचिवमा केन्द्रित भएर जानुपर्छ” भनेका थिए । बहिष्कार र उपयोग दुवै कार्यनीति बेठीक छन् भन्ने आवाज उठिरहेको छ । तर, नयाँ के हो भन्ने न थाहा छ न त नयाँलाई नयाँ नै देख्न सक्ने चेतना छ । बजारका चर्चा र हल्लाहरु न प्रक्रियागत न त नैतिक नै । परिपत्रमा भ्रष्टाचारको विषय उल्लेख भएपछि कतिपय मान्छेहरु उत्तेजित भएका छन् । दक्षिणपन्थी र भ्रष्ट व्यवहारलाई क्रान्तिकारी नाराले छोप्ने प्रयास गरिएको छ । नेकपा शिवगढी भेलाको जगमा उभिएको पार्टी हो । शिवगढी भेलामा नगएकाहरुले यो पार्टी न बनाएका हुन् न त भत्काउनै सक्छन् । हाम्रो पार्टीले क्रान्तिद्वारा प्रधान अन्तरविरोधको समाधान गर्ने नीति लिएको छ । क्षणिक कार्यनीतिको आधारमा रणनीतिको नै नकारात्मक टिप्पणी गर्नु गैरजिम्मेवारी हुन्छ । किरणको बैठकबाट निस्केर दैलोमा नै एकीकृत जनक्रान्तिको प्रवक्ता बन्न खोज्नु व्यक्तिवादको चरम् नमुना हो । अझ बैठकमा बस्दै नबसेकाले बैठकको संश्लेषण गर्न लाज मान्नुपर्ने हो । महासचिव विप्लवले बैठकको समापन गर्दै “अराजकता कुनै बिन्दुमा पुगेर बिसर्जन हुन्छ” भन्नु भएको थियो । आज अराजकतावाद बिसर्जनवादको खाडलमा परेको छ ।नेकपाको १२ औँ बैठकको पारित प्रस्ताव र परिपत्रमा एकजनाको पनि फरक मत थिएन, छैन । जहाँ बहिष्कार भन्ने कतै शब्दसम्म छैन । ‘प्रयोग गर्ने’ भनेको प्रस्ताव सिरानी हालेर सुत्ने भनेको होइन । प्रयोग गर्ने भनेको अरु कुनै पार्टीको पछुवा हुने भनेको पनि होइन । परिपत्र र प्रस्तावमा चुनावमा को उठ्ने, को नउठ्ने ? व्याख्या छैन । त्यो विषय परिस्थितिमा भर पर्दछ र त्यसको निर्णय तथा निर्देशन महासचिवले गर्ने हो र त्यसको सार्वजनिकीकरण पार्टी प्रवक्ताले गर्ने हो । त्यति प्रक्रिया पनि नबुझ्ने मनुवाहरुलाई मानसिक असन्तुलन भएका मान्छे भन्नुवाहेक के भन्नु ! शिवगढी भेलामा हामीले पार्टीको रुपरेखा कोर्दै गर्दा मोहन वैद्यको बैठकमा विराजमान हुने र प्रचण्डले कारवाही गरेपछि रुँदैरुँदै शरण खोज्दै ‘पेस्ट हुन’ आएकाहरुले भद्दा नाटक होइन, अर्को कटेरो बनाए हुन्छ ।

८) फुटवादी तत्वहरुमहासचिव विप्लवले बैठकमा ‘मैले त विजय दाइलाई पनि भनेको थिइन’ भन्नुभएको थियो । तर, अराजक, भ्रष्ट तत्वहरुले काठमाडौँमा भेला गरेर, सिङ तिखारेर गएका थिए । बैठकस्थल नपुग्दै पार्टीको प्रस्ताव सुदर्शनले सार्वजनिक गरेका र किरणसँग बसेर पार्टी फुटाउने सहमति गरेर आएका थिए । त्यो कुरा वैद्यका एकजना पिविएमले बताएका थिए । जुन सूचना किरणको पार्टीमार्फत् धेरै कमरेडहरुले पाएका थिए ।शीर्ष नेताहरुलाई फुटाएर नेतृत्वको नजिक पुगेर (उत्तराधिकारी) पार्टी र क्रान्तिलाई ‘सेबोटेज’ गर्ने मनोकांक्षा असफल भएपछि आफ्नो गैरमाक्र्सवादी चिन्तन र व्यवहारलाई राजनीतिकरण गर्न खोजिएको छ । तर, गलत आचरण र व्यवहार खराब चिन्तन कै परिणाम हुन् । सुदर्शनले नेतृत्वसँग “तपाईं खाली प्रकाण्डको कुरा मात्र सुन्नु हुन्छ, मेरो कुरै सुन्नुहुन्न’ भन्नु र केन्द्रीय समितिको बैठकमा रुझेको बिरालोजस्तो अनुहार बनाएर ‘समस्या अरुका पनि छन् तर मलाई मात्र धकेल्ने काम भयो’ भनेबाट कथित दार्शनिकको दर्शन र राजनीतिको पृष्ठभागमा कुन मनोविज्ञान छ र वास्तविकता के हो ? सहजै बुझ्न सकिन्छ ।

९) बहिष्कार र प्रयोग नीति२०७४ मा हामीले चुनाव बहिष्कार गरेका थियौँ । त्यसबेला नेकपालाई भिन्न गैरसंसदीय धाराको रुपमा स्थापित गर्नु, नेतृत्व स्थापित गर्नु, सुधारवाद र बिसर्जनवादविरोधी धारणा निर्माण गर्नु, प्रचण्डसहितको दलाल पुँजीवाद विरोधी धारा निर्माण गर्नु आवश्यकता थियो । यसअघिका चुनाव बहिष्कार (२०७४ मा खारेजी) ले त्यो काम पूर्ण भएको छ । आज हामी संगठन, राजनीति र वैचारिक विकास र रक्षा गर्नुपर्ने चरणमा छौँ । राष्ट्रिय मुक्ति आन्दोलन निर्माणको लागि फराकिलो संयुक्त मोर्चा निर्माण गर्नुपर्ने भएको छ । पार्टीको शक्तिसँग जनतालाई जोड्न सहज कार्यनीति आवश्यक छ । लेनिनले ‘भिन्न परिस्थिति र भिन्न समय’ मा कार्यनीति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । समय र परिस्थिति फरक वा भिन्न भएकाले पुरानो कार्यनीतिमा परिवर्तन आवश्यक छ । सधैँ बहिष्कार र सधैँ उपयोग गर्नु भनेको संसदीय निर्वाचनलाई कार्यनीति भन्ने रणनीति बनाउने वाम बिसर्जनवाद हो । यसको गन्तव्य दक्षिणपन्थी अवसरवाद नै हो ।१२ औँ केन्द्रीय बैठकबाटै पार्टी फुटाउने हर्कत सुदर्शन गुटको देखिन्थ्यो । पार्टी बाहिरको तथा दुश्मनको बुई चढेर पार्टी र नेतृत्वको विरुद्ध आक्रमण र घेराबन्दी भएको थियो । केन्द्रीय समितिको बैठकमा फुटवादीहरुलाई पराजित गरियो । पार्टी दर्ता गर्ने बैठकको निर्णय छैन र त्यसको लागि कानुनी समस्या पनि छ । त्यसैगरी, पारित प्रस्तावमा बहिष्कार छैन र ‘सहभागी गराउने र सहयोग गर्ने’ भन्ने छ । सहभागी गराउने भनेको आफ्नो पङ्तिलाई हो र सहयोग गर्ने भनेको देशभक्तहरुलाई हो ।पार्टीलाई संयुक्त मोर्चाको स्तरमा झार्ने र गुटलाई पार्टीको स्तरमा उठाउने अन्तरध्वंशको षड्यन्त्र स्वीकार्य छैन । पार्टीको कार्यनीति मन परेन र न्यूनतम अनुशासन पालन गर्न नसक्ने हो भने ‘प्रचण्ड स्कुलिङ’ अनुसार गुटबन्दी होइन, बहिष्कारको कार्यनीति लागू गरेर अर्को पार्टी बनाएर गए हुन्छ । किरणको चुरीफुरी चार वर्षमा प्रष्ट भयो, सुदर्शनको चुरीफुरी दुई वर्षमै प्रष्ट हुनेछ । त्यसकारण कि भाग कि अनुशासनमा बस भन्नैपर्छ ।रणनीति र राजनीतिको प्रभावकारिता कार्यनीतिमा व्यक्त हुन्छ । प्रभावकारी कार्यनीतिले समाज र पार्टीभित्र दुवैतिर हलचल ल्याउँछ । संसदीय व्यवस्थाको निर्वाचनले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा हलचल पैदा भएको छ । बहस र विवादको विषय बनेको छ । जनआकर्षण बढेको छ । त्यसैले कार्यनीति सही छ । शरीर वा आँखाबाट पैदा हुने कचरा फोहोर वा त्याज्य वस्तु हुन्छ । तर, आँखाबाट धेरथोर कचरा (बाईप्रोडक्ट) निस्कनु अनिवार्य छ । कचराहरु निस्केर जानु स्वस्थ्य शरीरको लागि आवश्यक हुन्छ । पार्टी जीवनको सन्दर्भमा पनि कचराहरुले शरीरलाई रुग्ण बनाउने, किटाणुहरु विस्तार गरिरहनुभन्दा बाहिरिनु वा भाग्न दिनु उचित हुन्छ । तर, भाग्दैमा अपराधहरु क्षम्य हुनेछैन ।

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »