सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थाम्बुचेतमा प्रहरी र गतलाङबासीबीच झडप

काठमाडौँ । उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन् ।

गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको बताइएको छ । सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहरी घाइते भएका छन् ।

आन्दोलनरत पक्षले विद्युत् आयोजनाका सवारी साधन तथा कार्यालयको भौतिक संरचना तोडफोड गर्न थालेपछि दुई पक्षका बीचमा झडप भएको थियो ।

घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एकरएक जना प्रहरी निरीक्षकसहित तीन सशस्त्र प्रहरी र तीन नेपाल प्रहरी छन् ।

आन्दोलनरत गतलाङवासीको मागलाई साञ्जेन जलविद्युत्का आयोजना प्रमुख र सञ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशकसमेतका कम्पनी बोर्डका पदाधिकारीसमेतले स्थानीयवासीको माग बेवास्ता गरी प्रहरीसँगको झडप गराउने स्थिति सिर्जना गराएको उनीहरूले आरोप लगाएका छन् ।

स्थानीयवासीले सञ्जेन जलविद्युत्को थाम्बुचेतस्थित कार्यालय तथा ग्यारेज परिसरमा प्रवेश गरी टिपर एक, हाइलक्स छ, लोडर दुई, छवटा मोटर साइकल अफिस, तथा टेबुल कुर्सीसमेत तोडफोड गरेका जनाइएको छ । स्थितिलाई नियन्त्रणमा ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका संयुक्त सुरक्षा बलले अश्रु ग्यास र फाइरिङ गरी स्थिति नियन्त्रणमा लिएका थिए ।

७५ लाख बराबरको भौतिक संरचना क्षति भएको प्रारम्भिक अनुमान गरिएको र क्षतिको यकिन तथ्याङ्क निकाल्ने काम भइरहेको जिल्ला प्रहरी प्रवक्ता विष्णुप्रदीप बत्स्यालले जानकारी दिए । स्थिति नियन्त्रणको क्रममा पाँच गतलाङका बासिन्दा पक्राउ परेका छन् ।

यसरी पक्राउ पर्नेमा सागर तामाङ, राजनलामा, पूर्णबहादुर तामाङ, चन्द्रमान तामाङ र पासाङ छेवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साञ्जेन जलविद्युत् कम्पनीमा जिम्मेवार कर्मचारीले मात्र एकाधिकार निर्णय गरी आफूहरुलाई उपेक्षा गरेको गतलाङ्वासीको भनाइ छ ।

रुपन्देहीको ओमसतियामा युवकमाथि गोली प्रहार

रुपन्देहीको ओमसतियामा एक युवामाथि गोली प्रहार भएको छ । गोली प्रहार गरेको आशंकामा २ जना पक्राउ परेका छन् । अज्ञात समूहको गोली प्रहारबाट सिद्धार्थनगर नगरपालिका १ वेलहिया बस्ने विकास गुरुङ घाइते भएका छन् ।

रुपन्देहीको ओमसतिया ४ बसन्तपुरमा आइतबार राति ११ बजे उनीमाथि गोली प्रहार भएको थियो । छातीमुनि कोखामा गोली लागेका उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । अहिले उनको स्वास्थ्यावस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार रोहिणी गाउँपालिका १ बाइपासस्थित सिद्धार्थ कटेजमा करिब ११ बजे राति अज्ञात समूहद्वारा लुटपाट गरी भाग्दै गरेको अवस्थामा ओमसतियाको बसन्तपुर वडा कार्यालय अगाडि जम्काभेट भएका गुरुङमाथि लुटपाट गर्ने समूहले गोली प्रहार गरेका थिए । परासीस्थित ससुराल बस्दै आएका गुरुङ घर फर्किँदै थिए ।

लुटेराहरूले उक्त कटेजबाट २ तोला सुन र केही नगद लुटेको प्रहरीले जनाएको छ । गोली प्रहार गरेको आशंकामा २ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »