सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जामियामा अध्ययनरत वृत्तचित्र निर्देशक मिलन पौडेलको अकल्पनीय मृत्यु

दिल्लीको जामिया मिलिया इस्लामियाको नेल्सन मण्डेला सेन्टर फर पिस एण्ड कन्फ्ल्क्टिमा अध्यनरत नेपाली विद्यार्थी मिलन पौडेलको शव उत्तराञ्चल राज्यको ऋषिकेशस्थित गंगा नदी किनारमा भेटिएको छ ।गत मंगलबार होलीपर्वका अवसरमा ४ जना साथीभाइसँग मिलेर दिल्लीबाट ऋषिकेश पुगेका मिलन पौडी खेल्ने क्रममा तपोवन क्षेत्रको गंगा नदीमा डुब्न पुगेको स्थानीय प्रहरीले सञ्चारमाध्यमलाई बताएका छन्। मिलन पानीमा डुबेपछि उनलाई बचाउन गएका जम्मु–कश्मीर घर भएका तुषार कौशिकको समेत निधन भएको छ। टाइम्स अफ इण्डियाको देहरादून संस्करणअनुसार, मंगलबार बेलुकाको उक्त घटनापछि प्रहरीलाइ भने बुधबार मात्रै रिपोर्ट गरिएको थियो। त्यसपछिको खोजी क्रममा दुई विद्यार्थीको शव फेला परेको हो। नदीमा हेलिएका अरु २ जना विद्यार्थी भूमिका र साहिललाई भने एकजना जर्मन पर्यटकले जीवितै उद्धार गरेको टाइम्स अफ इण्डियाले जनाएको छ।
वृत्तचित्र तथा छोटा चलचित्रमा भविष्य बनाउँदै गरेका २५ वर्षीय मिलन ३ महिनायता दिल्लीमा भड्किएको धार्मिक दंगाको भिडियो खिच्नमा तल्लीन थिए। काठमाडौं विश्वविद्यालयबाट पत्रकारितामा स्नातक मिलन २ वर्षयता जामियामा मास्टर्स पढ्दै थिए। मिलनका बाबु मोहन पौडेल विगतमा पाँचथरको रविस्थित दुर्गा माविमा शिक्षक थिए। ‘मिलन रविदेखि काठमाडौंसम्मकै मेरा सहपाठी मित्र हुन्,’ झापा, दमकनिवासी मिलनका साथी प्रदीप बोहोराले कान्तिपुरसँग भने– ‘मिलन अहिले डकुमेन्ट्री एवं सर्ट–फिल्म मेकरका रुपमा चिनिँदै थियो। पत्रकारितामा उसको निकै रुचि थियो।’
रवि, पाँचथरको सरकारी जागिरपछि हाल विराटनगरस्थित नोबेल हस्पिटलमा प्रबन्धक रहेका मिलनका बुबा मोहन र भाइ आल्सन बिहीबार नै ऋषिकेश पुगिसकेका छन्। सामाजिक सञ्जालमा मिलनका सहपाठी सुदीप डाल्भीले घटनाबारे जानकारी गराएपछि मिलनका बारेमा उनका देश–विदेशमा रहेका साथीभाइले सरोकार जनाउँदै सूचनाहरु दिइरहेका छन्।
‘मिलन पछिल्ला महिनामा दिल्लीमा भइरहेको धार्मिक/जातीय दंगाको यथार्थ चित्र बाहिर ल्याउनमा लागिपरेका एक डकुमेन्ट्री फिल्म–मेकर हुन्,’ हाल गोवामा बस्ने मिलनका सहपाठी डाल्भीले भनेका छन्– ‘उनी स्वतन्त्र पत्रकार थिए, आफ्नो कामका आधारमा जामिया मिलिया इस्लामियाको जामिया स्क्वायर, गेट नम्बर ७ मा मिलन सबैले चिन्ने पात्र बनेका थिए।’

भर्खरै

सम्बन्धित खबर

Language »