सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना विरुद्ध बाँकेमा टास्कफोर्स गठन

नेपालगञ्ज, बिश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाईरस विरुद्ध पुर्व तयारी अपनाउँदै बाँकेमा टास्कफोर्स गठन गरिएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा सोमबार बसेको कोरोना भाईरस(कोभिड–१९) सम्बन्धी सरोकारवाला बीच समन्वयात्मक बैठकमा कोरोना भाईरस भित्रिन नदिन आवश्यक सावधानी अपनाउदै पुर्व तयारीका लागि प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा टास्कफोर्स गठन गरिएको हो ।

यसैगरी बैठकले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको संयोजकत्वमा आकस्मिक कोष ब्यवस्थापन समिति, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाको संयोजकत्वमा मेडिकल समिति , प्रमुख जिल्ला अधिकारी खड्काको संयोजकत्वमा ब्यवस्थापन समिति र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहको संयोजकत्वमा रोकथाम तथा नियन्त्रण समिति गठन गरिएको छ ।

बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले कोरोना भाईरस विरुद्ध पूर्व तयारीका लागि आकस्मिक कोष आवश्यक पर्ने भएकाले नेपालगञ्ज उपमहानगरपालिकले ३० लाख सहयोग गर्ने जानकारी दिनुभयो ।

बैठकले बाँकेको जिलला समन्वय समितिले ३० लाख, कोहलपुर नगरपालिकाले २० लाख, ६ वटा गाउँपालिकाले १० लाखका दरले ६० लाख र नेपालगञ्ज उद्योग वाणिज्य संघले २० लाख रुपिया सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकका अध्यक्षता गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले कोरोना भाईरस भारतको उत्तरप्रदेश राज्यमा देखिएका कारण नेपालगञ्ज पनि उच्च जोखिममा रहेको भन्दै आम नागरिक सचेत हुनुपर्ने बताउनुभयो । बैठकले अध्यावश्यक काम बाहेक भारत नजान आम नागरिकमा आग्रह समेत गरेको छ ।

बैठकमा भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, मेडिकल विभाग प्रमुख डा. राजन पाण्डे, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख वीरबहादुर वली, जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, नागरिक उड्ययन कार्यालय नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुर, नेपालगञ्ज उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द लगायतले कोरोना भाईरसविरुद्ध भईरहेका पहल र प्रयासबारे जानकारी गराउनुभएको थियो ।

बैठकमा नेपालगञ्ज उद्योग वाणिज्य संघ, उपभोक्ता हित मञ्च, निजी विमान कम्पनी, निजी अस्पताल लगायतको प्रतिनिधित्व थियो । बैठकमा क्वारेन्टाईन स्थापनाका लागि समेत परामर्श भएको छ ।

बैठकले बजारमा उपभोग्य वस्तुको अभाव र कालोबजारी हुन नदिन सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएको छ । यसैगरी मास्क, पिपिई र अन्य उपकरणको ब्यवस्थापन गरिने निर्णय बैठकमा भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »