सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अबदेखि स्कुल समय ९ देखि ३ बजे सम्म गर्ने तयारी

स्कुल समय परिवर्तन गर्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल सुरु गरेको छ। विद्यार्थीलाई बिहान ९ बजे पढाइ सुरु गरी दिउँसो ३ बजे सक्नुपर्ने गरी निर्णय गर्ने तयारीमा मन्त्रालय छ। विद्यार्थी बोक्ने बस ९ बजेअघि स्कुल छिराइसक्नुपर्ने र दिउँसो ४ बजे विद्यार्थीलाई गन्तव्यमा पुर्‍याएर फर्किसक्नुपर्ने पक्षमा मन्त्रालय देखिएको छ।

यहीअनुसार मन्त्राल अघि बढे निजी तथा संस्थागत विद्यालयका विद्यार्थी बढी प्रभावित हुनेछन्। बसबाटै विद्यार्थी ओसारपसार गरिरहेका सरकारी विद्यालय प्रभावित हुनेछन्। सरकारले तोकेको पढाइ हुने समय बिहान १० देखि दिउँसो ४ बजे हो। कतिपय स्कुलले बिहान ९ बजे पढाइ सुरु गरिरहेका छन्। कतिपयले साना कक्षाका विद्यार्थीलाई ९ बजे स्कुल ल्याउँछन् भने ठूला कक्षाकालाई १० बजे मात्र।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले ट्राफिक व्यवस्थापनका लागि समय परिवर्तन गर्ने विषयमा छलफल भए पनि निर्णय नभएको बताए। ‘सरोकारवालासँग पनि छलफल गरेर निर्णय गर्छौं’, प्रवक्ता शर्माले भने।

विद्यालय सञ्चालक मन्त्रालयको कदम व्यावहारिक नहुने बताउँछन्। राष्ट्र्यि निजी तथा आवासीय विद्यालय एसोसिएसनका अध्यक्ष ऋतुराज सापकोटाले सरकारी प्रस्ताव कार्यान्वयन गर्न मुस्किल रहेको बताए। ‘विद्यार्थीलाई ९ बजे स्कुल छिराउन बिहान ९ बजेदेखि तयारी गर्नुपर्छ’, उनले भने, ‘दिउँसो ४ बजेभित्र विद्यार्थीलाई घर पुर्‍याएर बसहरू स्कुल छिरिसक्नु व्यावहारिक छ।’

स्कुल समय परिवर्तनभन्दा सरकारी कार्यालय समयलाई फेरबदल गर्दा उपयुक्त हुने उनको भनाइ छ। ‘भारतका केही राज्यमा सरकारी र निजी कार्यालयको समय एक घण्टाको फरकमा सुरु हुन्छ’, उनले भने, ‘नेपालमा पनि त्यस्तै अभ्यास गर्न सकिन्छ। नानीबाबुलाई अप्ठ्यारो हुने गरी निर्णय गर्न मिल्दैन।’

उपत्यकाका तीन जिल्लामा १ हजार २ सय निजी स्कुल छन् भने १ सय ५० वटा सरकारी। कतिले बसबाट विद्यार्थी बोक्छन् भन्ने तथ्यांक छैन। निजी विद्यालय सञ्चालकको अर्को संगठन प्याब्सनका वरिष्ठ उपाध्यक्ष डीके ढुंगानाले पनि सरकारी प्रस्ताव स्वीकार गर्न नसकिने बताए।

शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले विद्यार्थीलाई यति समयभित्र स्कुल छिरिसक्नुपर्ने भनेर नियम बनाउनु व्यावहारिक नहुने बताए। ‘स्कुललाई जोनिङ (सीमांकन) गरेर विद्यार्थी घरबाट कति टाढासम्म पढ्न जान पाउने भन्ने नियम बनाउँदा उपयुक्त हुन्छ’, उनले भने, ‘विद्यालयलाई मर्ज गर्ने, बसबाट टाढाको विद्यार्थी बोक्न नपाउने र विद्यार्थीलाई १५ मिनेट हिँड्नै पर्ने नियम बनाउने हो भने सबै समस्या समाधान हुन्छ।’

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई)का अध्यक्ष डिल्लीराज सुवेदीले सडक खाली गराउनकै लागि बालबालिकालाई बिहानै स्कुल पठाउनुपर्छ भन्ने धारणा गलत भएको बताए। ‘सुन्दा सामान्य लागे पनि गम्भीर अध्ययन गरेर मात्र यस विषयमा निर्णय गर्नुपर्छ। बरु बालबालिकालाई बसबाट ओसारपसार गर्न नपाउने नियम बनाऔं’, उनले भने, ‘सरकारी कर्मचारीको कार्यालय समय परिवर्तन गरौं। तर ठूला मान्छे हिंड्न सडक खाली गर्नुपर्छ भन्दै विहानै बालबालिकालाई स्कुल पठाउने मानसिकता त्यागौं।’

भर्खरै

सम्बन्धित खबर

Language »